आज दिनभर के–के भयो ?

‘लिटिल बुद्ध’ बताउने तपस्वी रामबहादुर बम्जन पक्राउ

तपस्वी रामबहादुर बमजन पक्राउ परेका छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंबाट पक्राउ गरेको सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले बताए। आफ्ना अनुयायीहरुमाथि बलात्कार र हत्या हिंसा गरेको आरोप उनीमाथि छ । ‘तपस्वी’ रामबहादुर बमजनलाई अदालतमा उपस्थित हुन भन्दै प्रहरीले उनको घरमा २०७७ सालमा सूचना टाँस गरेको थियो। तर उनी अदालतमा उपस्थित भएका थिएनन्। फरार रहँदै आएका थिए । उनी फरार भएपछि बाराको निजगढ नगरपालिका १२ रतनपुरीस्थित बमजनको पुर्खौली घरमा तत्कालीन वडाध्यक्षको रोहबरमा सूचना टाँसिएको थियो । एक आनीलाई बलात्कार गरेको आरोपमा सर्लाही जिल्ला अदातलमा बमजनविरुद्ध मुद्दा दायर भएको छ । सोही मुद्दामा बमजनविरूद्ध सर्लाही जिल्ला अदालतले वारेन्ट जारी गरेको थियो । रौतहटकी ती आनीले आश्रममा बस्दा बमजनले आफूलाई जबर्जस्ती करणी गरेको आरोप लगाएकी छन् । बलात्कारसहित बमजनमाथि एक अनुयायीको हत्या गरेको, तीन आनी, एक अनुयायीलाई बेपत्ता पारेको आरोप पनि छ । पछिल्लो समय सिन्धुलीको आश्रममा बस्दै आएका बमजन प्रहरीको फरार सूचीमा छन् । सिन्धुली, सिन्धुपाल्चोक, सर्लाही, बारा लगायत उनका आश्रम रहेका ठाउँमा लामो समयदेखि खोजी गरे पनि बमजनलाई फेला पार्न सकेको थिएन । सुरुमा ‘लिटिल बुद्ध’ को नामले चर्चा कमाएका ‘तपस्वी’ बमजन आनीमाथि बलात्कार र आफ्नै अनुयायीलाई हत्या हिंसा गरेको आरोप लागेपछि फरार थिए ।

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्वाचित
कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का सांसद अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन । प्रदेशको सभामुखका लागि विष्टको मात्र उम्मेदवारी परेको थियो । आज बसेको प्रदेश सभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्ट निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन । उनको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र समर्थकमा प्रेमराज थाम्सुहाङ रहेका थिए । गएको साउन १६ गते बाबुराम गौतमले सभामुखबाट राजीनामा दिएपछि सभामुख पद रिक्त थियो ।

सरकारले डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद छानबिन गर्न समिति गठन
सरकारले डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादका सम्बन्धमा छानबिन गर्न समिति बनाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा छानबिन समिति बनाएको हो । आयोगमा ऊर्जा मन्त्रालयका सहसचिव र उद्योग मन्त्रालयका सहसचिव जीवलाल भुसाल सदस्य रहेनछन् । लोडसेडिङका बेला केही उद्योगले प्रिमियम शुल्क लाग्ने डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली प्रयोग गरेको तर बिलमा प्रिमियम रकम छुटेको दावी गर्दै विद्युत् प्राधिकरणले छुट बिलको पत्र काटेपछि विवाद उत्पन्न भएको थियो । पुरानो मिति अर्थात् कतिपय उद्योगलाई २०७२ साउनदेखि र कतिपयलाई २०७३ साउनदेखि ०७५ सालसम्म विद्युत् उपभोग गरेको तर प्रिमियम लगाउन छुट भएको भन्दै प्राधिकरणले ५८ उद्योगबाट १० अर्ब १४ करोड रुपैयाँ तिर्नुपर्ने पत्र काटेको थियो । डेडिकेटेड र ट्रंक लाइनको विवाद कै बीच महसुल नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले विभिन्न उद्योगहरुको लाइन काटिदिएको छ । बिजुलीको लाइन काटिदिएको विरोधमा उद्योगी व्यवसायी र मजदुरहरुले प्रदर्शन पनि गर्दै आएका थिए । सरकारले उद्योगमा काटिएको लाइन तुरुन्त जोड्न पनि विद्युत प्राधिकरणलाई दिर्नेशन दिएको छ । विद्युत प्राधिकरणले छुट बिलको पत्र पठाए पनि त्यसका लागि चाहिने प्रमाण अर्थात् टीओडी मिटरको विवरण भने दिन सकेको छैन । उसले टीओडी मिटरको विवरण नभएको भन्दै अदालतलाई जवाफ पठाएको छ । अब समितिले विवादबारे छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाउने छ र सोही बमोजिम विवाद समाधान गरिनेछ ।

 

नेपाल प्रहरीका १६ जना डीआईजी को सरुवा

नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक डीआईजी को सरुवा भएको छ । गृह मन्त्रालयमा मंगलबार बसेको गृहमन्त्रीस्तरीय बैठकले प्रहरी नायव महानिरीक्षक डीआईजीहरूको काज सरूवा गरेको हो । जसअनुसार सबै प्रदेशका प्रहरी कार्यालय प्रमुख पनि फेरिएका छन् । गृह मन्त्रालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा कार्यरत डीआईजी चन्द्र कुबेर खापुङलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर सरूवा गरेको छ भने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जमा कार्यररत यज्ञ विनोद पोखरेललाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर काज सरूवा गरिएको छ । यस्तै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत डीआईजी बुद्धिराज तामाङलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा ल्याइएको छ भने बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत डीआईजी किरण राणालाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज तानिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । मंगलबार बिहान अध्यक्ष खनालले राजीनामा दिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले खनाललाई २०७६ साल साउन ६ गते प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । २०७५ पुस ११ मा तत्कालीन अध्यक्ष दिगम्बर झाले राजीनामा दिएपछि वरिष्ठ निर्देशक पदमा कार्यरत खनाललाई सरकारले निमित्त अध्यक्षको जिम्मेवारी दिएको थियो । पछिल्लो समय टेरामक्स खरिद प्रकरण, मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस, स्मार्ट सेल खारेजी र एनसेलको सेयर खरिद बिक्रीमा प्राधिकरण नेतृत्वले ठोस कदम चाल्न नसकेको भन्दै आलोचना भइरहेको छ । टेरामक्स र एमडीएमएस प्रणालीमा अनियमितता भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानिबन समेत अगाडि बढाएको छ । त्यस्तै एनसेल खरिद बिक्री प्रकरणमा सरकारले छानबिन समिति गठन गरेको छ । यसैबीच अध्यक्ष खनालले राजीनामा दिएका हुन् ।

फ्रान्सको प्रधानमन्त्रीमा ३४ वर्षका गेब्रियल एटल नियुक्त

फ्रान्सको प्रधानमन्त्रीमा ३४ वर्षका गेब्रियल एटल नियुक्त भएका छन । उनी आधुनिक फ्रान्सको सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बनेका बीबीसीले जनाएको छ । फ्रान्समा यसअघि सन् १९८४ मा ३७ वर्षका लरेन्ट फाबियस प्रधानमन्त्रीमा नियुक्त भएका थिए । फ्रान्समा आप्रवासीको विषयमा राजनीतिक विवाद बढ्दै जाँदा प्रधानमन्त्री एलिजाबेथ बोर्नले आफ्नो पदबाट राजीनामा दिएका छन । हिजो एलिजाबेथ बोर्नको राजीनामा स्वीकृत गर्नुभएका फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले आफूपछिको राष्ट्रपतिको बलियो दाबेदार मानिएका एटललाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन । एटल यसअघि शिक्षा मन्त्री थिए । फ्रान्सको संसदमा सकारात्मक प्रभाव पारिरहेका एटलले गठन गर्ने सरकारमा प्रभावकारी व्यक्तिहरू मन्त्रीमा छनोट हुन सक्ने फ्रान्सका सञ्चारमाध्यमले जनाएका छन् । नवनियुक्त प्रधानमन्त्री एटलले अब जुन महिनामा हुने महत्त्वपूर्ण युरोपेली संसदीय चुनावमा फ्रान्सेली सरकारको नेतृत्व गर्ने जिम्मेवारी पाउनेछन ।