पोखरामा फेला परेको पहेँलो धातु सुन नभएको पुष्टि
पोखरा / पोखरामा फेला परेको सुनजस्तै देखिने ४५ थान पहेँलो धातु परीक्षणका क्रममा सुन नभएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
उक्त वस्तु पोखरा १५, टुटुंगाका ढुंगेसाँघु पुलनजिकै सोमबार बिहान सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयका कर्मचारीले फेला पारेका थिए ।
शिक्षालयका प्रशिक्षार्थीले मंगलबार बाहिरी अभ्यास गर्ने क्रममा उक्त वस्तु ढुंगेसाँघुको झाडीमा कालो झोलामा राखेको अवस्थामा फेला पारेका थिए । उनीहरुकै सूचनका आधारमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरेको थियो ।
सुनजस्तो रङ र सुनकै प्रकृतिमा तयार पारिएको उक्त वस्तु साँझ परीक्षणका क्रममा क्रममा सुनजस्तो देखिने अन्य धातु भएको प्रमाणित भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए ।
सुनजस्तो देखिने पहेंलो वस्तु झाडीमा कसले, किन राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।