जिल्ला प्रशासनले गर्यो दल र संचारकर्मीसँग अन्तरक्रिया

धुलिखेल÷जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाको समग्र शान्ति सुरक्षा, सेवा प्रवाहका बारेमा सरोकारवाला निकाय, राजनीतिक दल तथा संचारकर्मीहरुसँग अन्र्तक्रिया गरेको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्ला प्रशासन कार्यालयले जनशक्ति र पूर्वाधारको कमी हुँदा हुँदै पनि नागरिकहरुलाई प्रदान गर्ने सेवालाई गुणस्तरीय बनाउन प्रयत्न गरिरहेको बताईन् । काभ्रेपलाञ्चोक जिल्लामा दैनिक ३ सय भन्दा धेरै नागरिकहरुले राहदानी, नयाँ र प्रतिलिपी नागरिकता, राष्ट्रिय परिचयपत्र र संघ संस्था दर्ता तथा नविकरण लगायतका विभिन्न खालका सेवा लिने गरेका छन् । त्यसको अलावा अर्ध न्यायिक निकाय भएकाले प्रमुख जिल्ला अधिकारी मार्फत हेरिने मुद्दाहरुमा समेत कार्यालयले प्रदान गरेको सेवाका बारेमा भईरहेका गतिविधिका बारेमा जानकारी गराईएको थियो । राजनीतिक दल तथा संचारकर्मीहरुले जिल्लाको शान्ति सुरक्षाका लागि प्रशासन कार्यालयले खेल्नु पर्ने भूमिकालाई अझै प्रभावकारी बनाउनु पर्ने सुझाव दिएका थिए ।
कोभिड महामारी देखिन थालेको, किसानहरुले दुधको मुल्य नपाएको, आलु खेति गर्ने समयमा मलको अभाव भएको जस्ता समस्या उठेका थिए भने सडकको अवस्थाका कारण नागरिकहरुले दैनिक भोग्नु पर्ने समस्यामा प्रशासनको सक्रियता आवश्यक रहेको सुझाव दिएका थिए । प्रमुख जिल्ला अधिकारी शर्माले प्राप्त सुझावलाई सहज रुपले लिदै नागरिकहरुको सेवा पहिलो प्राथमिकतामा राखेको बताईन् । केहि समय अघि मात्रै दशकौ अघि देखिको विवाद समाधान हुँदै सर्वाेच्च अदालतले भवन बनाउने बाटो खोलिदिएकाले त्यसको पूर्ण पाठ आए लगत्तै भवन निर्माणको कार्य शुरु गरिने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताईन् । अन्र्तक्रिया कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेल, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु र जिल्लाका विभिन्न संचारमाध्यममा कृयाशिल संचारकर्मीहरुको सहभागिता रहेको थियो ।