छाडा कुकुर नियन्त्रण गर्न अखिल नेपाल किसान महासंघ पनौतीले गरायो नगरपालिकाको ध्यानाकर्षण
अखिल नेपाल किसान महासंघ पनौती नगर कमिटीले छाडा कुकुर नियन्त्रण र कुकुरले टोकेका व्यक्तिको अनिवार्यरुपमा निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेको छ । नगरप्रमुख रामशरण भण्डारीलाई ध्यानाकर्षणपत्र वुझाउँदै किसान महासंले उक्त माग गरेको हो । अखिल नेपाल किसान महासंघ पनौती नगर कमिटी अध्यक्ष सन्तोषकुमार राउतले पछिल्ला दिनमा पनौती नगरपालिकाभित्र बहुलाएका कुकुरहरुले सर्वसाधरणलाई टोकेर घाइते बनाउने अवस्था अस्वभाविकरुपले बढ्दै गएको बताएका छन । यस स्थितिमा त्यस्ता छाडा कुकुरहरुको यथोचित नियमन, नियन्त्रण गर्न ढिला गर्न नहुनेमा अखिल नेपाल किसान महासंघ पनौती नगर कमिटीको जोड छ ।
यसैबिच शुलभ मूल्यमा रासायनिक मल लगायतका आवश्यक सामाग्रीहरु उपलब्ध हुने व्यवस्था मिलाउन तथा नगरपालिकाका कृषि प्राविधिकहरुलाई किसानहरुको खेतबारीमा पुग्ने व्यवस्था गर्न पनि किसानको माग छ । पनौती नगरपालिका भित्रको खेतीपाती लगायत पशुपालन व्यवसायलाई आवश्यक प्रोत्साहन, प्रेरणा र राहत÷अनुदानमार्फत व्यावसायीकरण गरी आयार्जन र रोजगारीको भरपर्दाे स्रोतको रुपमा स्थापित गर्न आवश्यक पहल÷प्रयत्न गर्न समेत किसान महासंघले माग गरेको छ । यस्तै कृषि भित्तेपात्रो तयार गरी माटोको परीक्षणको व्यवस्था गर्न, बढ्दो विश्वतापमानको कारण पनौती न.पा.मा फस्टाउने फसलहरुको पहिचान, तिनीहरुमा लाग्ने संभावित रोगको पहिचान र रोकथामको उपाय तथा पूर्णरुपले कृषि व्यवसायमा संलग्न किसानहरुको निःशुल्क स्वास्थ परीक्षण र उपचारको व्यवस्था गर्न, नियमितरुपले कृषिमेलाको आयोजना गर्ने व्यवस्था गरी भित्तेपात्रोमा नै उल्लेख गर्न समेत अध्यक्ष राउतको टोलीले ध्यानाकर्षण गराएको छ । कृषि तथा पशुपालन सम्बन्धमा आवश्यक नीति नियम तर्जुमा गर्दा अखिल नेपाल किसान महासंघ लगायतका अन्य किसान संघ÷सङ्गठनका प्रतिनिधिहरुको अनिवार्यरुपमा सहभागिता हुनुपर्ने व्यवस्था गर्न पनि अध्यक्ष राउतले माग गरेका छन् । नगरप्रमुख भण्डारीले सुझावका लागि धन्यवाद दिँदै आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएका छन् । ध्यानाकर्षण कार्यक्रममा किसान महासंघ पनौती नगर कमिटी सचिव अजय सिं खड्का, रामकृष्ण आचार्य, जयराम केसी, शुसिला सुवाल, गंगा श्रेष्ठ, लक्ष्मण सापकोटा लगायतको उपस्थिती रहेको थियो ।