आज दिनभर के–के भयो ?

क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा आठ वर्ष कैद सजाय

जिल्ला अदालत काठमाण्डौले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको मुद्दामा आठ वर्ष कैद सजाय तोकेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई आज आठ वर्षको सजाय तोकेको हो । यस्तै अदालतले पीडितलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि गरेको छ । सन्दीपले जरिबाना र क्षतिपूर्तिबापत रकम पीडित किशोरीलाई दिनुपर्ने अदालतले भनेको हो । २०७९ सालको भदौ ६ गते राति लामिछानेले जबरजस्ती करणी गरेको भन्दै एक युवतीले गएको भदौ २१ गते गौशाला प्रहरी वृत्तमा किटानी जाहेरी दिएकी थिइन् । लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । २०७९ सालको कात्तिक १४ गते जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता भएकोमा आज फैसला भएको हो । जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालत पाटनले उनलाई छाडेको थियो । उच्चको आदेशलाई सर्वोच्चले सदर गरिदिएपछि लामिछाने थुनाबाहिरै बसेर मुद्दा लडिरहेका थिए । जिल्ला अदालत काठमाण्डौको फैसला चित्तबुझ्दो नभएको भन्दै लामिछाने थप कानुनी उपचारका लागि उच्च अदालत जाने उनका वकिल सरोजकृष्ण घिमिरेले बताए ।

माघ पहिलो हप्ता प्रधानमन्त्री प्रचण्ड युगान्डा भ्रमणमा जाने

प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले युगान्डा भ्रमण गर्नु हुने भएको छ । हिजो बसेको मन्त्रिपरिषद्को निर्णय आज सिंहदरबारमा सुनाउँदै सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यसबारेमा जानकारी गराएकी हुन । प्रवक्ता शर्माका अनुसार प्रधानमन्त्री प्रचण्डले युगान्डाको राजधानी कम्पालामा माघ ५ र ६ गते आयोजना हुने असंलग्न आन्दोलनका विजयी राष्ट्रहरूको १९ औँ सम्मेलनमा भाग लिनु हुनेछ । त्यसअघि माघ ३ र ४ गते हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको मन्त्रिस्तरीय बैठकमा परराष्ट्रमन्त्री एनपी साउद र माघ १ र २ गते हुने पदाधिकारी बैठकमा परराष्ट्र सचिवको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल गठन गर्ने निर्णय भएको छ ।

सत्ता गठबन्धनले बनायो समन्वय समिति

सत्ता गठबन्धनले राष्ट्रिय सभा सदस्य निर्वाचन परिचालन गर्न चार दलका नेताहरू सहभागी रहेको समन्वय समिति बनाएको छ । समितिमा कांग्रेसबाट शेखर कोइराला र रमेश लेखक, माओवादीबाट वर्षमान पुन, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र जसपाबाट मनीष सुमन रहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बालुवाटारमा बोलाएको कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संयुक्त बैठकले निर्वाचन परिचालन समन्वय समिति बनाउने निर्णय गरेको हो । समितिले गठबन्धन दलहरूका बीचमा समन्वय गर्ने र मतदातालाई सुरक्षित बनाउने काम गर्ने सुमनले बताए । बैठकमा सत्ता गठबन्धनमा सहभागी जनमत पार्टीले मधेश प्रदेशमा दिएको उम्मेदवारी फिर्ता गर्ने सन्दर्भमा पनि छलफल भएको थियो । गठबन्धनबाट भागबन्डा नपाएपछि जनमतले अन्य समूहबाट रामशंकर महासेठलाई उम्मेदवार बनाएको छ । गठबन्धनबाट सोही समूहमा कांग्रेसका नेता आनन्दकुमार ढुंगाना उम्मेदवार छन् ।

‘लिटल बुद्ध’ बताउने रामबहादुर बम्जनको घरबाट साढे ३ करोड रुपैयाँ बरामद

हत्या र यौनहिंसाका आरोपित रामबहादुर बम्जनको घरबाट प्रहरीले करिब साढे ३ करोड रुपैयाँ बरामद गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोलीले बम्जनलाई पक्राउ गरेको थियो । बम्जनको घरमा खानतलासी गर्दा ३ करोड ३ लाख नेपाली रुपैयाँ र ३० लाख ९२ हजार रुपैयाँबराबरको १६ देशका विदेशी मुद्रा बरामद गरेको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए । ब्युरोको टोली मंगलबार उक्त घरमा पुग्दा उनले भाग्ने प्रयास गरेका थिए ।

सीआईबीले बुधबार बिहान पत्रकार सम्मेलन गरी बम्जनको घरबाट बरामद पैसा, मोबाइल, ल्यापटप र महत्त्वपूर्ण कागजातसमेत सार्वजनिक गरेको थियो । आफूलाई ‘लिटल बुद्ध’ बताउने बम्जनमाथि आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोपमा प्रहरीले खोजिरहेको थियो । बम्जनविरुद्ध पाँच परिवारको उजुरी छ । आश्रममा बस्दै आएका तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोपमा उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

बम्जन लामो समय बाराको हलखोरियास्थित जंगलमा बसेका थिए । बम्जनको आश्रममा पुगेकाहरू धमाधम हराउन थालेपछि उनी अनुसन्धानको दायरामा तानिएका थिए । २०७५ पुस ९ मा पीडितहरूले काठमाडौंमा पत्रकार सम्मेलन गरेर बम्जनबाट बेपत्ता पारिएकाको खोजीमा सरकारले तत्परता देखाउनुपर्ने माग राखेका थिए । पत्रकार सम्मेलनमा नुवाकोट म्यागङ गाउँपालिका–३ देउरालीकी गंगामाया तामाङले २०६८ सालमा बम्जनको आश्रममा गएकी आफ्नी साइँली बहिनी हराइरहेको बताएकी थिइन । हेटौंडाका महेन्द्र वाइबाले २०७२ चैत १४ गते बम्जनको सिन्धुलीस्थित आश्रममा पुगेका आफ्ना बाबु सञ्चलाल त्यसपछि हराएको बताएका थिए ।

एसईई हुने÷नहुनेबारे दोधारमा नपर्न परिक्षा बोर्डको आग्रह

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई हुने÷नहुनेबारे दोधारमा नपर्न आग्रह गरेको छ । शिक्षा पत्रकार सञ्जाल इजोन ले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय शिक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले चैतको पहिलो हप्ता परीक्षा हुने भएकाले दोधारमा नपर्न र परीक्षा नहुने हल्ला नगर्न आग्रह गर्नुभएको हो । उहाँले वार्षिक क्यालेन्डर अनुसार माघको पहिलो हप्ता रुटिन निकालेर चैतको पहिलो हप्ता परीक्षा हुने स्पष्ट पारेका हुन् । संसदमा छलफलका क्रममा रहेको शिक्षा विधेयकमा एसईई नरहेकाले हुने÷नहुने अन्योल रहेको थियो । तर अध्यक्ष शर्माले समितिमा छलफल भइरहेको विधेयकले परीक्षामा कुनै असर नगर्ने बताए । उनले प्रश्नपत्र तयार पार्ने र रुटिन निकाल्ने काम बोर्डले गर्ने र व्यवस्थापन प्रदेशले गर्ने बताएका छन् । भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पठनपाठन भइरहेकाले त्यहाँ पनि समयमै परीक्षा हुने शर्माको भनाइ छ । यस पटकदेखि हरेक विषयमा ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थीले कक्षा ११ मा भर्ना हुन नपाउने पनि बोर्डले स्पष्ट पारेको छ । यसअघि एसईईमा ग्रेडिङ सिस्टम रहेकोमा अब भने पुरानै नियम जसरी हरेक विषयमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्नेछ, ३५ ल्याउन नसक्नेले फेरि परीक्षा दिन पाउनेछन् ।

 कोरोना भाइरस सङ्क्रमितको प्रतिवेदन दैनिक पठाउन निर्देशन

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोरोना भाइरस सङ्क्रमितको प्रतिवेदन दैनिक पठाउन निर्देशन दिएको छ । महाशाखाका निर्देशक डाक्टर रुद्रप्रसाद मरासिनीले कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन वान देखिएपछि निगरानी गर्नका लागि सरकारी तथा निजी अस्पताल, प्रवेश विन्दुहरु, कोभिड–१९ का रिपोर्टिङ प्रयोगशालालाई परिपत्र गर्दै सङ्क्रमितको प्रतिवेदन दैनिक पठाउन निर्देशन दिएका हुन् । नेपालमा पहिलोपटक अस्ति ७ जनामा कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन वान पुष्टि भएको थियो । महाशाखाका निर्देशक मरासिनीका अनुसार अन्य भेरियन्टको तुलनामा यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने दर उच्च छ । तर सङक्रमणबाट हुने जटिलता कम छ । सङ्क्रमित बिरामीको अणुवांशिक अध्ययन अर्थात् जिन सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाउनसमेत अनुरोध गरिएको छ । स्वास्थ्य मन्त्रालयले सङ्क्रमण बढ्न सक्ने भएकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न, भिडभाड हुने ठाउँ, मेला, भोज, पार्टीमा सतर्कता अपनाउन पनि भनेको छ ।

 ताइवानको विषयमा कहिल्यै पनि सम्झौता नगर्ने चिनको भनाई

चीनले आफूले ताइवानको विषयमा कहिल्यै पनि सम्झौता नगर्ने बताएको छ । सन् २०२१ पछि पहिलो पटक भइरहेको अमेरिकासँगको सैन्य वार्तामा चीनले आफूले ताइवानको विषयमा कहिल्यै पनि सम्झौता नगर्ने स्पष्ट अडान राखेको बीबीसीले जनाएको छ । चीनले अमेरिकासँग ताइवानलाई हतियार उपलब्ध गराउन बन्द गर्न र ताइवानसँग आफूहरूको चिन्तालाई गम्भीरतापूर्वक लिन पनि भनेको छ । चीनले समानता र सम्मानको आधारमा अमेरिकासँग स्वस्थ र स्थिर सैन्य सम्बन्ध विकास गर्ने आफ्नो इच्छा रहेको भन्दै अमेरिकी पक्षले एक चीन सिद्धान्तको सम्मान गर्दै ताइवानसँग व्यवहार गर्नुपर्ने बताएको छ । ताइवानमा चुनाव हुनु केही दिनअघि भएको वार्तामा चीनले लिएको अडानलाई अर्थपूर्णरूपमा हेरिएको छ । ताइवानमा आउँदो शनिवार राष्ट्रपतीय चुनाव हुँदैछ ।

चीनले ताइवानलाई आफ्नै भूमि ठान्छ तर ताइवानले स्वतन्त्र राज्यको दाबी गर्दै आएको छ । धेरै देशले ताइवानलाई छुटै राज्यको मान्यता नदिएको भए पनि अमेरिकाले स्वतन्त्र राज्यकै रूपमा सहयोग गर्दै आएको छ ।