आज दिनभर के–के भयो ?

गणतन्त्रका विरुद्धमा केही संयन्त्र लागेका छन्ः अध्यक्ष नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको पहिचान जोगाउन समाजका सबै वर्ग लाग्नुपर्ने बताएका छन । कैलालीको टीकापुरमा बिहीबार सुरु भएको नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा उनले देशको पहिचान जोगाउन सबैले लाग्नुपर्ने बताएका हुन । अध्यक्ष नेपालले गणतन्त्रका विरुद्धमा केही संयन्त्र लागेका बताउँदै देशको वर्तमान व्यवस्थालाई कसैले फेरबदल गर्न नसक्ने बताए । विगतमा अधिकारका लागि भएका अप्रिय घटनाले ठूलो क्षति पुर्याएको बताउँदै अध्यक्ष नेपालले आगामी दिनमा त्यस्ता घटना हुन नदिनेतर्फ सधैँ सचेत हुनुपर्नेमा जोड दिएका छन ।
वर्तमान गठबन्धनले नेपालको सत्ता सञ्चालनको जिम्मा नै भारतलाई दिने अवस्था आयोः महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धनले नेपालको सत्ता सञ्चालनको जिम्मा नै भारतलाई दिने अवस्था आएको बताएका छन । नेकपा एमाले दाङले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको बिहीबार उद्घाटन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन । वर्तमान सरकारलाई जनताको जीवनको मूल्य समेत ख्याल नभएको उनले टिप्पणी गरेका छन सरकारले जीवनको मूल्य बुझ्न छाडेकाले निहत्था युवाको हत्या गरेको पोखरेलको टिप्पणी छ । सरकारका मन्त्री र गठबन्धन दलकैतर्फबाट हिंसा भड्काएर ललितपुर र सर्लाहीमा युवाको ज्यान लिने काम भएको उनले दाबी गरे । २० करोडसम्मका योजना आफूखुसी खर्च गर्न दिएर सरकारले राज्य सञ्चालनको जिम्मा नै भारतीय दूतावासलाई दिने काम गरेको उनको टिप्पणी छ । पछिल्लो पटक भारतीय विदेशमन्त्री नेपाल आएका बेला २० करोडसम्मका परियोजना सिधै भारतले छान्न पाउने गरी भएको सम्झौतालाई लिएर महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन । महासचिव पोखरेलले यस्तो सरकारलाई कुर्सीमा बस्ने कुनै नैतिक अधिकार नभएको समेत बताएका छन् ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक समितिबाटै टुङ्ग्याउनुपर्छः कानुन मन्त्री धनराज गुरुङ
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिमा समितिबाटै टुङ्ग्याउनुपर्ने बताएका छन । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा उनले सकेसम्म सहमतिमै टुङ्ग्याउने नत्र प्रक्रियामा गएर भए पनि निष्कर्षमा पु¥याउने सहमति भएको उनले बताए । गुरुङले आठ–दश दिनमा उक्त विधेयकलाई टुङ्ग्याउने विषयमा राजनीतिक दलका शीर्षनेताहरूलाई पनि भेट्ने र सहमतिमा टुङ्ग्याउने विश्वास व्यक्त गए । समितिका सभापति विमला सुवेदीको अध्यक्षतामा भएको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष पूरा हुँदा पनि १० वर्ष सशस्त्र द्वन्द्वका पीडितले न्याय पाउन नसक्नु गम्भीर विषय भएको र सहमतिमा विधेयकलाई टुङ्ग्याउनुपर्ने बताए । यदि सहमति हुन नसकेको अवस्थामा प्रक्रियाबाट जानुपर्ने उनले बताए । बैठकमा नेकपा एमालेका सचेतक महेश बर्तौलाले विधेयकका असहमतिका विषयमा सहमतिमा टुङ्ग्याउन सकिने र सकिएनभने प्रक्रियाबाट पनि निष्कर्षमा पुर्याउन सकिने बताए । विगतमा प्रमुख दलहरुबीच सहमति गर्नुपर्ने मत राख्दै आएको नेपाली कांग्रेसले दिन तोकेर सहमति खोज्ने, नभए अल्पमत–बहुमतको संसदीय प्रक्रियामा जानुपर्ने बताएको छ । एमालेले लाभ लिन बार्गेनिङ गरेको तर टीआरसी विधेयक टुंग्याउन सहयोग नगरेको कांग्रेस नेताहरुको बुझाइ छ । गत भदौमा एमालेले टीआरसी विधेयक अगाडि बढाउने गरी सत्ता गठबन्धनबाट ३ वटा संसदीय समितिको सभापति लिएको थियो । पछिल्लो पटक राष्ट्रियसभा निर्वाचनमा पनि भागवण्डाको प्रयास भएको थियो । एमालेले आफ्नो नेतृत्वको सरकार नबन्दासम्म यो विधेयक अड्काउने देखिएकाले अब प्रक्रियामा भए पनि जानुपर्ने कांग्रेसको बुझाइ छ । सरकारको नेतृत्व गरेको माओवादी केन्द्रकै सांसद विमला सुवेदी कानुन समितिकी सभापति छिन ।
रुसी सेनामा भर्ती भएका प्यूठानका एक युवकको मृत्यु
रुसी सेनामा भर्ती भएका प्यूठानका एक युवकको मृत्यु भएको छ । रुस युक्रेनको युद्धमा परेर प्यूठान नगरपालिका ४ काठेवरका सोनु सुनारको मृत्यू भएको हो ।प्यूठान नगरपालिकाका उपप्रमुख देबेन्द्र बर्माले सुनारको रुस युक्रेन युद्धमा परी मृत्यु भएको खबर आएको जानकारी दिए । रोजगारीको शिलशिलामा कतार पुगेका सुनार उतैबाट दुई महिना गरी रुस गएर त्यहाँको सेनामा संलग्न भएका थिए । दुई साताअघि नै सुनारको युद्धमा परी मृत्यू भएको र हिजोमात्रै सुनारको मृत्युको खबर प्राप्त भएको छिमेकी खगेश्वर थापाले बताए । उनीसँगै घाईते भएका अन्य एक नेपाली युवाले सुनारको मृत्यू भएको खबर परिवारलाई दिएको थापाले जानकारी दिए । हालसम्म रुसी सेनामा कार्यरत ११ नेपालीको निधन भएको छ । यसअघि परराष्ट्र मन्त्रालयले १० जनाको निधन भएको विवरण सार्वजनिक गरेको थियो । परराष्ट्रका अनुसार रुसी सेनामा करिब दुई सय नेपाली छन्। चार जना युक्रेनी सेनाको बन्धक रहेको मन्त्रालयले जनाएको छ ।
रेमिट्यान्स आप्रवाह मासिक एक खर्ब माथी
चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो पाँच महिनामा रेमिट्यान्स आप्रवाह मासिक एक खर्ब भन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि मंसिरसम्म ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । यस अनुसार यस वर्ष हरेक महिना १ खर्ब रुपैयाँ भन्दा माथि रेमिट्यान्स आएको छ । मंसिर महिनामा मात्र १ खर्ब ३५ अर्ब २९ करोड रुपैयाँले रेमिट्यान्स भित्रिएको छ । कात्तिक मसान्तसम्म ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रहेको रेमिट्यान्स मंसिर मसान्तमा पुग्दा ६ खर्ब नाघेको हो । नेपाल राष्ट्र बैंकका अनुसार मंसिरसम्मको रेमिट्यान्स गत वर्षको यसै अवधिको तुलनामा २७.६ प्रतिशत धेरै हो । अघिल्लो वर्ष रेमिट्यान्स २३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ४ अर्ब ६२ करोड रहेको छ । यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा २४ दशमलव ५ प्रतिशत हो । अघिल्लो वर्ष यस्तो आप्रवाह १३ दशमलव १ प्रतिशतले बढेको थियो ।
रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
जिल्ला अदालत सर्लाहीले बाल यौन शोषणको मुद्दामा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । उनीविरुद्ध जिल्ला अदालतमा ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’को आरोपमा मुद्दा परेको थियो । जिल्ला प्रहरी कार्यालयले बिहीबार सर्लाही जिल्ला अदालतमा हाजिर गराएकोमा अदालतले बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । बिहीबार बसेको न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । अदालतको आदेशपछि बम्जनलाई जिल्ला कारागार महोत्तरी लगिएको छ । सर्लाहीको पत्थरकोटस्थित बम्जनको आश्रमस्थलमा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोप लगाउँदै तपस्वी बताउने बम्जनविरुद्ध बाल यौन शोषणको मुद्दा परेको थियो । बम्जनको मुद्धामा बिहीबार लगभग ४ घण्टा बहस चलेको थियो ।
बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकारको एक वर्ष पुरा
बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकारको एक वर्ष पुगेको छ । आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा सरकारले गरेका प्रमुख काम सार्वजनिक गर्दै मुख्यमन्त्री जम्मकट्टेलले धेरै सकारात्मक काम भएको दाबी गरेका छन । एकवर्षे कार्यकाल कामका दृष्टिले उपलब्धिमूलक रहेको उनको भनाइ छ । यो अवधिमा बाग्मती प्रदेश सरकार तथा कानुनी मन्त्रिपरिषद्का २४ बैठक सञ्चालन भइ एक सय ३८ वटा निर्णय गरिएका साथै प्रदेशसभासमक्ष पेस भएका सातवटा ऐन जारी भएको उनले जानकारी दिए । मुख्यमन्त्री जम्मकट्टेलले प्रदेश सरकार मातहतका मन्त्रालय, निकाय र कार्यालय स्थापना गरी सबै जिल्लाबाट सेवा सञ्चालन गर्ने, भौतिक पूर्वाधार र आवश्यक जनशक्तिको प्रबन्ध र कर्मचारी वृत्तिविकासका कार्यमा उल्लेखनीय उपलब्धि हासिल भएको बताएका छन । एक वर्षको अवधिमा स्वीकृत नीति तथा कार्यक्रमअनुसार सार्वजनिक सेवा प्रवाह, सामाजिक तथा पूर्वाधार विकासलगायत नागरिक सरोकारका हरेक पक्षमा सकारात्मक परिवर्तन ल्याउने दिशामा प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । सरकारले १३ क्षेत्रमा गरेका विभिन्न प्रमुख कार्य समेटिएको पुस्तक समेत प्रकाशन गरेको छ । अघिल्लो वर्ष पुस २५ गते जम्मकट्टेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।