आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
आज पुस २७ गते, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती आज विविध कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट वि.सं. १७७९ पुस २७ गते पृथ्वीनारायण शाहको जन्म भएको थियो । पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा महत्त्वपूर्ण योगदान पुर्याएकाले उनको जन्मजयन्तीका दिन राष्ट्रिय एकता दिवस मनाउन थालिएको हो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो ।
पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार भएको थियो । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेका इतिहास छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोटमा विजय हासिल गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाण्डौ उपत्यकामा विजय हासिल गरेका थिए ।
उपत्यकामा विजय प्राप्त गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए । उनका दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक छन् । पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।