नारायणगढ–मुग्लिन सडक माघ २० गतेसम्म दैनिक ४ घण्टा बन्द हुने

नारायणगढ–मुग्लिन सडक माघ २० गतेसम्म दैनिक ४ घण्टा बन्द गरिने भएको छ । गएको पुस ७ गतेदेखि दैनिक ४ घण्टा सडक बन्द गरी काम थालिएकोमा थप तीन हप्ता बन्द गरिने भएको हो । तुइन खोलामा पुल बनाउन पहाड काट्ने काम भैरहेको छ । यसका लागि यसअघि भोलि २८ गतेसम्म सडक बन्द गरिएकोमा काम नसकिएपछि थपिएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड नारायणगढ–मुग्लिनका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सर्वपक्षीय बैठकले थप तीन हप्ता सडक बन्द गरेर पहाड काट्ने निर्णय गरेको हो । निर्णयअनुसार माघे सङ्क्रान्तिको दिन माघ एक गते सडक बन्द हुने छैन । माघे सङ्क्रान्ति पर्वमा प्रसिद्ध धार्मिकस्थल देवघाट नुहाउन, दर्शन गर्न आउने भक्तजनहरुको सुविधाका लागि सडक बन्द नहुने आयोजनाले जनाएको छ ।

नारायणगढ–मुग्लिन सडक काठमाण्डौ भित्रने र बाहिरिने मुख्य सडकका रुपमा रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा धेरै गाडी गुड्छन् ।