रुस र युक्रेनमा रहेका १ सय १६ नेपालीलाई स्वदेश फिर्ता ल्याइदिन परिवारजनको निवेदन

युक्रेनमा बन्धक रहेका चार र रुसी सेनामा कार्यरत एक सय १२ नेपालीलाई स्वदेश फिर्ताका लागि परराष्ट्र मन्त्रालयमा निवेदन परेको छ । एक सय १६ नेपालीका परिवारले परराष्ट्रको कन्सुलर सेवा विभागमार्फत आफन्तको फिर्ताका लागि सरकारसँग गुहार गरेका हुन । रुस–युक्रेन युद्धमा रुसी सेनामा भर्ना भएका नेपालीको मृत्युको संख्या बढिरहेका वेला आफन्तले फिर्ताका लागि निवेदन दिएका हुन । परिवारले दिएको निवेदनअनुसार युद्धमा परेर घाइते भएका नौ नेपाली परिवारको सम्पर्कमा छन । उनीहरू उपचाररत छन । उनीहरुले स्वदेश फर्किने इच्छा व्यक्त गरेका छन । परिवारजनले रुसी सेनामा कार्यरत सन्तान सम्पर्कविहीन भएको भन्दै खोजी गरेर स्वदेश ल्याइदिन अनुरोध गरेका छन । युद्धका क्रममा चार नेपाली युक्रेनी सेनाको नियन्त्रणमा छन । बर्दिया राजापुर– १ का विवेक खत्री, काभ्रे मण्डनदेउपुर– ६ का सिद्धार्थ ढकाल, मोरङ लेटाङ– २ का विकास राई र रोल्पा रुन्टीगढी– ८ का प्रतीक पुन नियन्त्रणमा छन  । युक्रेनले विवेक खत्री मात्रै युद्धबन्दीका रूपमा रहेको जानकारी दिएको छ ।

युक्रेनमा नेपालीहरूको रिहाइका लागि सरकारले अमेरिका र रेडक्रसको अन्तर्राष्ट्रिय समितिमार्फत प्रयास गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री एनपी साउदले रुसमा रहेका १०० भन्दा बढी नेपालीका परिवारले आफ्नो मान्छे खोजिदिन र स्वदेश फिर्ताको प्रयास गरिदिन परराष्ट्र मन्त्रालयमा अनुरोध गरेको यसअघि नै बताएका थिए । युक्रेनी अधिकारीले उनीहरूको नियन्त्रणमा रहेका युद्धबन्दीलाई नेपालमा पनि जेलमा राख्नुपर्ने सर्त राखेका छन । भारत र जर्मनीस्थित युक्रेनको राजदूतावासमा नेपाली कूटनीतिक अधिकारीसँगको कुराकानीमा युक्रेनी अधिकारीले यस्तो सर्त राखेका छन । तर, नेपालले यसका सम्बन्धमा स्पष्ट जवाफ पठाएको छैन । यस्तै युक्रेनसँगको लडाइँमा ज्यान गुमाउने रुसी सेनामा कार्यरत १० नेपालीको शव नेपाल पठाउन रुसले आनाकानी गरेको छ ।
यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।