राष्ट्रिय एकता दिवस : धुलिखेलमा माल्यार्पण,बेथानचोकको बर्खेथलीमा जनश्रमदानमा सडक निर्माण

धुलिखेल/राष्ट्रिय एकता दिवस तथा पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसर पारी जिल्लामा विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरिएको छ । नेपाली सेना कालीजंग गण र धुलिखेल नगरपालिकाको संयुक्त आयोजनामा धुलिखेल नगरपालिकाले निर्माण गरेको ऐतिहासिक देविस्थानमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्र्यापण गरिएको छ ।
धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु र नेपाली सेना कालीजंग गणका रुद्रदेव पाण्डेले शालिकमा माल्यार्पण गरेका थिए । सेनाको तर्फबाट सलामी अर्पण गरिएको थियो । काठमाडौ उपत्यका कब्जा गर्ने क्रममा पृथ्वीनारायण शाहले धुलिखेलमा रहेको देविस्थानलाई साक्षी राखेर युद्ध लडेको इतिहास छ । सोहि इतिहासलाई संरक्षण गर्दै धुलिखेल नगरपालिकाले उक्त स्थानमा पृथ्वीनारायणको शालिक निर्माण गरेको हो । नेपाली सेनाले हरेक वर्ष उक्त स्थानमा पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसर पारेर सलामी दिदै आएको छ ।

त्यस्तै एकता दिवसको अवसर पारेर बेथान्चोक गाउँपालिका वडा नम्वर ३ को आयोजनामा सोहि वडाको बर्खेथली देखि बेथान्चोक नारायण आधारभुत विद्यालय ठुलाचौरसम्म जाने बाटो सहज बनाउन बृहत्त जनश्रमदान कार्यक्रमको आयोजना गरेको थियो । बेथान्चोक जेसीज, बेथान्चोक गाउँपालिका लगायतको सहयोगमा स्थानीयहरुले श्रमदान गरेको जेसीज बेथान्चोकका अध्यक्ष मोहनकृष्ण तिमल्सिनाले बताए ।

कार्यक्रममा बेथान्चोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राना तिमल्सिना, वडा अध्यक्ष कुवेर ढकाल, वडा सदस्यहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।