बागमती प्रदेश स्तरीय ७ दिने रेफ्रि कोर्ष सम्वन्धी प्रशिक्षण धुलिखेलमा हुँदै
गोमा थापा
धुलिखेल
२०८० माघ २१ देखि २७ गतेसम्म जिल्लाको सदरमुकाम धुलिखेलमा बागमती प्रदेश फुटबल संघले प्रदेश खेलकुद विकास परिषद्को विशेष सहयोग तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा जिल्ला स्तरीय रेफ्रि कोर्ष अन्र्तगतको क्याटगोरी ४ फुटबल रेफ्रि प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ ।
धुलिखेलमा आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षणका बारेमा जानकारी दिदै अध्यक्ष निरोज श्रेष्ठले प्रशिक्षणबाट रणनीतिक र सम्वन्धित प्राविधिक विषय बस्तुहरु एकिकृत गरेर प्रशिक्षण गर्न र ब्यवस्थापन गर्न रेफ्रिहरुलाई सहज हुने बताए । ‘शारिरिक तथा मानसिक अवस्था बुझ्न र खेलको ढाँचाको विकास गर्न सक्ने क्षमता बृद्धी गर्न प्रशिक्षण महत्वपूर्ण हुनेछ’–अध्यक्ष श्रेष्ठले भने–‘ब्यवहार, जीवनशैली र बाल संरक्षण सँग सम्वन्धित समग्र विषयबस्तुहरु बनाउन सक्षम हुनेछन् भने शारीरिक र मानसिक एवं दक्ष रेफ्रीहरु उत्पादन हुनेछन् ।’
बागमती प्रदेश फुटबल संघका महासचिव नवराज ठकुरीले उक्त प्रशिक्षण पछि रेफ्रिहरुलाई फुटबल सम्वन्धी आधारभुत शिप र प्रविधिको विकास हुनेछ । रेफ्रिहरु नैतिक र ब्यवहारीक हुनेछन भने रेफ्रिहरुलाई खेल मैदान भित्र र बाहिर कसरी प्रस्तुत हुने भन्ने तालिम समेत प्राप्त हुनेछ । सैद्धान्तिक र ब्यवहारीक दुबै पाठ्यक्रम समावेश गरिएको प्रशिक्षणमा ४० जना सहभागि हुनेछन् । उक्त प्रशिक्षणमा सहभागि भई उर्तिण रेफ्रिहरु जिल्ला स्तरीय फुटबल प्रतियोगितामा भाग लिन सक्नेछन् । लाईसेन्स लिनका लागि खेलाडी, पुर्व खेलाडी तथा फुटबल खेल सँग आवद्ध भएका ब्यक्तिहरुले तोकेको मापदण्ड अनुसार सहभागि भई परीक्षा दिन पाउनेछन् । १८ वर्ष पुगेका र ३५ वर्ष ननाघेका ब्यक्तिहरु प्रशिक्षणमा सहभागि हुनेछन् ।
बागमती प्रदेशका ११ वटा जिल्लाबाट रेफ्रिहरु सहभागि हुनेछन् । पत्रकार सम्मेलनमा सघका उपाध्यक्षद्धय बाबुराजा श्रेष्ठ र राजिव सिं बस्नेत, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना लगायतले मन्तब्य राखेका थिए । प्रशिक्षार्थीहरुले दर्ता शुल्क ७ हजार ५ सय बुझाएर सहभागि हुनेछन् । प्रशिक्षणका लागि प्रदेश खेलकुद विकास परिषद्ले ५ लाख उपलब्ध गराउने छ भने अन्य सहयोग विभिन्न क्षेत्रबाट हुनेछ । १० लाख ६२ हजार ५ सय खर्च हुने उक्त प्रशिक्षण कार्यक्रममा प्रशिक्षार्थीहरुलाई ७ दिनको आवासिय सुविधा सहित पोशाक र खेलकुद सामाग्री समेत संघले उपलब्ध गराउने छ ।