काभ्रेमा शुरु भयो १५ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

विकास तिमल्सिना
बनेपा
जिल्ला खेलकुद विकास समितिको आयोजनामा काभ्रेको बनेपामा १५ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । बागमती प्रदेश सरकारका मुख्य मन्त्री शालिकराम जमकट्टेलले प्रतियोगिताको उद्घाटन गरेका थिए । सोहि अवसरमा खेलकुद विकास समितिले निर्माण गरेको भवनको समेत उद्घाटन गरिएको थियो ।
प्रतियोगितामा जिल्लाका १३ पालिकाबाट विभिन्न विद्यामा उत्कृष्ट भई ९ सय ६० जना विद्यार्थीहरु सहभागि भएका छन् । अध्यक्ष मानविर लामाले प्रतियोगितामा फुटबल, भलिबल तथा एथलेटिक्सका विभिन्न विद्याहरुमा विद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने बताए । प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री जमकट्टेलले बागमती प्रदेश सरकारको शिक्षा नीति तय गर्दा विद्यालयहरुलाई आवासिय मोडलमा लैजाने र माध्यमिक विद्यालयहरुमा अनिवार्य रुपमा खेलाडी प्रशिक्षक राख्ने ब्यवस्था गर्ने तयारी गरेको बताए । ‘खेलकुदको समग्र विकास नगरीकन समग्र क्षेत्रमा अनुशासन कायम हुन सक्दैन’–मुख्यमन्त्री जमकट्टेलले भने–‘राष्ट्रका लागि खेलकुद भन्ने अभियान स्वरुप खेलकुद क्षेत्रलाई प्राथमिकता दिएका छौं । खेलकुद क्षेत्रलाई महत्वका साथ अगाडी बढाएका छौं ।’

बागमती प्रदेश सरकारको पहिलो कार्यकालमा नै खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै मुख्यमन्त्री जमकट्टेलले भने–‘प्रदेश खेलकुद सम्वन्धी ऐन निर्माण बनायौं । परिषद् बनायौ र त्यहिँबाट खेलकुदका नियमित गतिविधीहरु अघि बढायौं ।’ ‘खेल क्षेत्र राष्ट्रको पुँजी हो, गौरव हो’–उनले भने–‘खेलकुदका लागि मात्रै नभई अन्य कार्यका लागि पनि रंगशाला आवश्यक छ । सामाजिक गतिविधिका लागि पनि रंगशाला र खेलमैदान आवश्यक छ । बागमती प्रदेश सरकारले स्थानीय तहका लागि नयाँ नीति बनाएको छ ।’ सडकका लागि पैसा परेन भनेर चिन्ता नगर्न स्थानीय सरकारका प्रतिनिधिहरुलाई मुख्यमन्त्री कट्टेलले अनुरोध गरे । खेल तथा अन्य क्षेत्रका लागि सरकारले पर्याप्त बजेट विनियोजन गरेकाले हरेक क्षेत्रको विकास बागमती प्रदेश सरकारको प्राथमिकतामा पर्ने उनले बताए ।

कार्यक्रममा संघीय सांसद सुर्यमान दोङ, बागमती प्रदेश सरकारका मन्त्रीहरु, सांसदहरु, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतम, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारी, वडा अध्यक्ष सचितानन्द केसी, स्थानीय भेषराज शाह लगायतले बनेपा नगरपालिका वडा नम्वर ६ मा निर्माण भएको खेलकुद भवन, कर्वड हल र मैदानको संरक्षण र विस्तारका लागि सहयोग गर्न अनुरोध गरेका थिए । प्रतियोगितामा १३ वटै पालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरुले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको समापन आईतबार हुनेछ ।
