आज दिनभर के–के भयो ?

प्रधानमन्त्री सहित शीर्ष नेताहरू राष्ट्रपति निवासमा

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका जल्दाबल्दा समस्या समाधान गरेर लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउने काममा मिलेर अघि बढ्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको ध्यानाकर्षण गराएका छन् । राष्ट्रपति पौडेलले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई शुक्रबार शीतल निवासमा बोलाएर मुलुकमा देखिएका महत्वपूर्ण विषयहरू संघीयता कार्यान्वयन, सुशासन र विश्वविद्यालयमा सुधार गर्न ध्यानाकर्षण गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । उनका अनुसार राष्ट्रपति पौडेलले दलहरूले आफूहरुले मिलेर ल्याएको संघीयता कार्यान्वयन गर्न प्रदेशलाई अधिकारी दिने गरी तत्काल कानुनहरु पनि मिलेर बनाउन, निमुखाले न्याय पाउने गरी सुशासन कायम गर्न नेताहरुको ध्यानाकर्षण गराएका थिए । त्यस्तै, पौडेलले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति खाली रहेको बेला मेरो तेरो नभनी क्षमतावान प्राज्ञ ल्याएर यही मौकामा विश्वविद्यालय सुधारको अभियान सुरू गर्न पनि ध्यानाकर्षण गराएको सल्लाहकार पोखरेलले जानकारी दिए । राष्ट्रपति पौडेलको ध्यानाकर्षणलाई नेताहरूले सकारात्मक रुपमा लिएको जनाइएको छ ।

एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीलाई सिध्याउन षड्यन्त्र गरिरहेको नेकपा एसका अध्यक्ष नेपालको आरोप

नेकपा एकीकृत समाजवादी का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई सिध्याउन षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । अध्यक्ष नेपालले आफ्नो पार्टी र पार्टी सामेल भएको गठबन्धनलाई ओलीले सिध्याउन खोजिरहेको आरोप लगाउँदै त्यस्ता षड्यन्त्रलाई साथ दिनेहरू क्रान्तिकारी हुनै नसक्ने बताए । पार्टी निकट नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन समाजवादी ले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले गठबन्धनको भर परेर अघि नबढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । आफ्नै शक्ति बलियो बनाउने र एक्लै चुनाव जित्ने आँटका साथ पार्टी अघि बढ्नुपर्ने अध्यक्ष नेपालको भनाई थियो । उनले अरु पार्टीको सामु माग्ने भएर नभई दिने हैसियतको पार्टी बनाउनुपर्ने भएकाले त्यसका लागि सिंगो पार्टी पंक्ति परिचालित हुन पनि सचेत गराए । अध्यक्ष नेपालले प्रतिगामी शक्तिहरुले चलखेल गरिरहेको जिकिर गर्दै त्यसविरुद्ध पनि जुध्नुपर्ने बेला आएको बताए ।

युक्रेन र रुसमा रहेका १ सय १६ जनालाई स्वदेश फिर्ता ल्याइदिन परिवारजनको निवेदन

युक्रेनमा बन्धक रहेका चार र रुसी सेनामा कार्यरत एक सय १२ नेपालीलाई स्वदेश फिर्ताका लागि परराष्ट्र मन्त्रालयमा निवेदन परेको छ । एक सय १६ नेपालीका परिवारले परराष्ट्रको कन्सुलर सेवा विभागमार्फत आफन्तको फिर्ताका लागि सरकारसँग गुहार गरेका हुन । रुस–युक्रेन युद्धमा रुसी सेनामा भर्ना भएका नेपालीको मृत्युको संख्या बढिरहेका वेला आफन्तले फिर्ताका लागि निवेदन दिएका हुन । परिवारले दिएको निवेदनअनुसार युद्धमा परेर घाइते भएका नौ नेपाली परिवारको सम्पर्कमा छन । उनीहरू उपचाररत छन । उनीहरुलेस्वदेश फर्किने इच्छा व्यक्त गरेका छन । परिवारजनले रुसी सेनामा कार्यरत सन्तान सम्पर्कविहीन भएको भन्दै खोजी गरेर स्वदेश ल्याइदिन अनुरोध गरेका छन । युद्धका क्रममा चार नेपाली युक्रेनी सेनाको नियन्त्रणमा छन । बर्दिया राजापुर– १ का विवेक खत्री, काभ्रे मण्डनदेउपुर– ६ का सिद्धार्थ ढकाल, मोरङ लेटाङ– २ का विकास राई र रोल्पा रुन्टीगढी– ८ का प्रतीक पुन नियन्त्रणमा छन  । युक्रेनले विवेक खत्री मात्रै युद्धबन्दीका रूपमा रहेको जानकारी दिएको छ । युक्रेनमा नेपालीहरूको रिहाइका लागि सरकारले अमेरिका र रेडक्रसको अन्तर्राष्ट्रिय समितिमार्फत प्रयास गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री एनपी साउदले रुसमा रहेका १०० भन्दा बढी नेपालीका परिवारले आफ्नो मान्छे खोजिदिन र स्वदेश फिर्ताको प्रयास गरिदिन परराष्ट्र मन्त्रालयमा अनुरोध गरेको यसअघि नै बताएका थिए । युक्रेनी अधिकारीले उनीहरूको नियन्त्रणमा रहेका युद्धबन्दीलाई नेपालमा पनि जेलमा राख्नुपर्ने सर्त राखेका छन । भारत र जर्मनीस्थित युक्रेनको राजदूतावासमा नेपाली कूटनीतिक अधिकारीसँगको कुराकानीमा युक्रेनी अधिकारीले यस्तो सर्त राखेका छन । तर, नेपालले यसका सम्बन्धमा स्पष्ट जवाफ पठाएको छैन ।यस्तै युक्रेनसँगको लडाइँमा ज्यान गुमाउने रुसी सेनामा कार्यरत १० नेपालीको शव नेपाल पठाउन रुसले आनाकानी गरेको छ ।

राप्रपाको चियापानमा प्रधानमन्त्री सहित राजनीतिक दलका शीर्ष नेता सहभागी

पृथ्वी जयन्तीका अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टीले आज आयोजना गरेको शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित विभिन्न राजनीतिक दलका शीर्ष नेता सहभागी भएका छन् । भृकुटीमण्डपमा आयोजित चियापानमा सभामुख देवराज घिमिरे, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, विभिन्न राजनीतिक दलका नेता एवम् कार्यकर्ता, पूर्वप्रशासक, सुरक्षाकर्मीलगायतको सहभागिता थियो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताले सहभागी विशिष्ट पाहुनालाई स्वागत गरेका थिए । राप्रपाले प्रत्येक वर्ष राष्ट्रिय एकता दिवसका अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आएको छ । यसैबिच राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले फागुनदेखि देखिने गरी आन्दोलन गर्ने र प्रमुख दलहरुलाई कोर्स करेक्सन गर्न बाध्य बनाउने बताएका छन् । पृथ्वीजन्यतीको अवसरमा राप्रपाले गरेको चियापानमा कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै लिङ्देनले ठूलठूला प्रदर्शन गर्ने बताए । देश निरन्तर आरालो लागेको र यसलाई रोक्ने कुनै प्रयत्न नभएको भन्दै उनले २०८४ को चुनाव पर्खिन नसक्ने बताए । राप्रपाले राजसंस्था, हिन्दु राष्ट्र र संघीयताबारे फरक दृष्टिकोण राख्दा पछाडि फर्किन खोजेको भनिएकोमा समेत उनले असन्तुष्टि जनाए । गणतन्त्र पक्षधर दलहरु र पूर्व राजा बसेर नयाँ सम्झौता गर्नुपर्ने उनले बताए । एक जना पूर्वराजालाई स्थान दिनासाथ के परिर्वतन हुन्छ भन्ने प्रश्नमा उनले पूर्व राजालाई ठाउँ दिएर मात्र नपुग्ने बताए । निर्वाचन प्रणालीमा सुधार गरेर पूर्ण समान प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन ।

नागरिक उन्मुक्ति पार्टी को अध्यक्षमा रेशम चौधरी निर्विरोध निर्वाचित
नागरिक उन्मुक्ति पार्टी को अध्यक्षमा रेशम चौधरी निर्विरोध चयन भएका छन । कैलालीको टीकापुरमा जारी पार्टीको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचन प्रक्रियाका क्रममा अध्यक्षका लागि उनको मात्रै उम्मेदवारी परेको हो । अध्यक्षका लागि रेशमपत्नी रञ्जिता श्रेष्ठ पनि दौडमा थिइन्। वर्तमान अध्यक्ष रञ्जिताले निर्धारित समयमा उम्मेदवारी दिइनन्। यस्तोमा पति रेशम निर्विरोध अध्यक्ष बनेका हुन । चौधरी सर्वसम्मत भए पनि निर्वाचन समितिले औपचारिक घोषणा गरेको छैन । निर्विरोध अध्यक्ष बनेका चौधरीको प्रस्तावक रोशन थापा र समर्थक सानु शाक्य थिए। अहिलेसम्म पार्टीको संरक्षक रहेका चौधरी २०७४ मा कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । तर उनी लामो समय जेलमा बसेर छुटेका थिए ।

मातहतका कर्मचारीलाई नेपाल प्रहरीको कडा निर्देशन

नेपाल प्रहरीले मातहतका प्रहरी कर्मचारीहरूका लागि कडा निर्देशन जारी गरेको छ । प्रहरी महानिरीक्षक वसन्त कुवँरको सचिवालयले केही दिनअघि मातहतका सबै विभाग, केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौं उपत्यका प्रही कार्यालय र प्रदेश प्रहरी कार्यालयका नाममा पत्र पठाउँदै यस्तो निर्देशन जारी गरेको हो । प्रहरी प्रधान कार्यालय नक्सालले विभिन्न सरकारी तथा गैह्र सरकारी संघ–संस्थाका नीति निर्माण कार्य, साधारण सभा प्रशिक्षण, अन्तर्क्रिरया, सम्मान लगायत कार्यक्रममा गएर आफूखुसी बोल्ने क्रमले समस्या ल्याएको जनाएको छ । नक्सालले अबदेखि कुनै पनि कार्यक्रममा सहभागी भएर बोल्नुअघि अनुमति लिनुपर्ने पनि नियम ल्याएको छ ।

नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा काटिएको बिजुलीको लाइन जोडिदिने

नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा काटिएको बिजुलीको लाइन जोडिदिने निर्णय गरेको छ । शुक्रवार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको बैंठकले लाइन काटिएका डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापतको महसुल बक्यौता भएका ग्राहकहरूको विद्युत लाइन जोडिदिने निर्णय गरेको हो । यसअघि मन्त्रिपरिषद बैठकले लाइन काटिएका उद्योगहरुमा बिजुलीको लाइन जोडिदिन प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको थियो । साथै मन्त्रिपरिषद बैठकले डेडिकेटेड फिडर तथा ट्रंक लाइन सम्बन्धी बिजुलीको विवाद छानबिन गर्न जाँचबुझ आयोगसमेत गठन गरेको छ । मन्त्रिपरिषदको बैठकको निर्णयसम्बन्धी पत्र बिहीबार ऊर्जा मन्त्रालयबाट प्राप्त भएको भन्दै शुक्रबार प्राधिकरण सञ्चालक समितिको बैठक बसेको थियो ।