भालुबाङ बस दुर्घटनाः ज्यान गुमाएका १२ जना मध्ये ८ को परिचय खुल्यो

पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको भालुबाङमा पुलबाट यात्रुवाहक बस राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ । राती १ बजेसम्मको विवरण अनुसार ५ जनाको उपचारका क्रममा मृत्यु भएको थियो भने ७ जनाको शव जेसिविको सहायताले बसबाट बाहिर निकालिएको छ ।
नेपालगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती पुलबाट नदीमा खसेको थियो । भालुबाङको ट्राफिक बिट पार गरेको केहीबेरमा बस पुलको दायाँतर्फबाट पुलको रेलिङ भत्काएर नदीमा खसेको थियो । घटना के, कसरी भयो भन्नेबारे थाहा हुन नसकेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी जनकबहादुर मल्लले बताए । चालक प्रहरी नियन्त्रणमा रहेको उनले जानकारी दिए । ज्यान गुमाएका १२ जनामध्ये ८ जनाको परिचय खुलेको छ ।
दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार परिचय खुल्नेहरुमा मकवानपुर हेटौँडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाण्डौको चन्द्रागिरि नगरपालिका–५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका २० वर्षीय रामबहादुर हरिजन, रुकुमका २५ वर्षीय दीपक कामी, भारत विहारका ६७ वर्षीय देवेन्द्र राय तथा बाँकेको नेपालगञ्जकी ६० वर्षीया कुसुम बस्नेत रहेका छन् । अरु चार जनाको अहिलेसम्म परिचय खुलेको छैन । शवलाई लमहीको लमही अस्पतालमा राखिएको छ ।