बनेपा नगरपालिकाको १३ औं नगर अधिवेशन
बनेपा÷बनेपा नगरपालिकाको १३ औं नगर अधिवेशन सम्पन्न भएको छ । नगर प्रमुख शान्तिरत्न शाक्यको अध्यक्षतामा १३ औं सभा सम्पन्न भएको हो । सभामा नगर प्रमुख शाक्यले आफ्नो १८ महिना कार्यकाल सकिदा सम्म धेरै विकासका काम भएको बताएका थिए । शिक्षा विकासको पहिलो खुट्कीलो भएकाले नगर भित्र रहेका ३४ वटा विद्यालय मध्ये प्रत्येक वर्ष ४ वटा सामुदायकि विद्यालयलाई नमुना विद्यालय बनाउन र सोहि अनुसारको गुणस्तरीय शिक्षा प्रदान शुरु गरिएको शाक्यले जानकारी दिएका छन ।
नगरका कृषकहरुको तरकारी तथा फलफुल नविग्रीयोस् भन्नका लागी बनेपा ८ मा ४ रोपनी क्षेत्रफलमा मल्टी कोल्ड स्टोर निमार्ण गर्न लागिएको र सोहि भवनलाई संघिय सरकारबाट २ करोड अनुदान प्राप्त भैईसकेको उनले बताए । लम्पी स्कीन बाट नगर भित्र ६ सय वटा गाई भैसी मरेका र तिनको क्षतिपुर्ति बापत प्रति मृतक पशु बराबर १० हजारका दरले प्रदान गरिएको, गाई, भैसी वाख्राको निःशुल्क विमाको ब्यबस्था गरिएको, प्रत्येक वडामा स्वास्थ्य शिबिर, निःशुल्क मोतिविन्दुको अप्ररेसन कार्यलाई निरन्तरता, सडक, खानेपानी लगाएतका कार्यहरु गर्दे आएको नगर प्रमुख शाक्यले जानकारी दिएका छन ।
कार्यक्रममा उप–प्रमुख तथा राजश्व परामर्श संयोजक विमला सापकोटाले समितिको प्रतिबेदन र बजेट तथा योजना तर्जुमा समितिको प्रतिबेदन प्रस्तुत गरेकी थिईन् । सापकोटाले पौष मसान्त सम्म आईपुग्दा राजश्वको लक्ष्य २२ करोड रहेकोमा ४ करोड ४४ लाख मात्र संकलन भएको बताईन् । नगरमा १ हजार ९ सय ५० ब्यबसाय दर्ता भएका र यो वर्ष १४६ वटा थपिएको बताईन् । सापकोटाले आगामी २०८०÷८१ सम्मको राजश्वको लक्ष्यमा पुग्न मुस्कील रहेको पनि बताएकी छन । हालसम्म योजना ९० प्रतिशत सम्झौता भएको उनले जानकारी दिइन ।
सभामा संस्थागत विकास, सुशासन तथा सेवा प्रवाह समितिका संयोजक तथा वडा नम्बर ८ का वडा अध्यक्ष शुभलक्ष्मी मानन्धरले, आर्थिक विकास समितिको प्रतिवेदन संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष रमेश दाहालले, सामाजिक विकास समितिको प्रतिबेदन वडा नम्बर १२ का वडा अध्यक्ष राम बहादुर कुंवरले, विधान समितिको प्रतिबेदन संयोजक तथा वडा नम्बर ५ का अध्यक्ष बलराम अधिकारीले, वन, वाताबरण तथा विपद् ब्यबस्थापन समितिको प्रतिबेदन वडा नम्बर १ का वडा अध्यक्ष कमल प्रसाद घिमिरेले, पुर्वाधार विकास समितिको प्रतिबेदन संयोजक तथा ४ नम्बर वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठले, लेखा समितिको प्रतिबेदन संयोजक तथा ७ नम्बर वडा अध्यक्ष हिटलर शाक्यले प्रस्तुत गरेका थिए ।
त्यसै गरी सभामा नगर सदस्यहरुले प्रतिबेदन उपर छलफलमा भाग लिएका थिए भने प्रतिबेदन उपर नगर प्रमुख, उप प्रमुखले जवाफ दिएका थिए । सभामा प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाईले नगरमा चालु रहेका योजना समयमा नै सम्पन्न हुने बताएका थिए ।