प्याब्सन सिन्धुपाल्चोकको वार्षिक साधारण सभा सम्पन्न

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल सिन्धुपाल्चोकको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपालका उपाध्यक्ष कृष्ण अधिकारीले तलव भन्दा बढी मिहेनत र मिहेनत भन्दा बढी बिश्वास गरेर निजि विद्यालयका शिक्षकहरु काममा खट्ने गरेको दावी गरेका छन् ।

उनले दक्ष विद्यार्थी उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढेको निजि विद्यालयले उत्पादन गरेका विद्यार्थीहरुले अहिले पनि उच्च र प्रशंंसनिय कार्य गरिरहेको बताए । प्रमुख अतिथि अधिकारीले सरकारले विभिन्न शिर्षकमा निजि विद्यालयलाई विभेद गरेको भन्दै असन्तुष्टि जनाएका छन । अब सिन्धुपाल्चोकमा मोडल विद्यालय स्थापन गरेर अगाडि बढाउन सुझाव दिदै अधिकारीले जिल्लामा देखिएको सहकार्यले आफुलाई खुशी लागेको बताए । अबको विद्यार्थी हरुको शिक्षालाई सिप संग र सिपलाई शिक्षा संग जोडेर अगाडी बढ्नुको विकल्प नभएको उनको भनाई थियो ।

शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोकका प्रमुख कृष्ण सुवेदीले सामुदायिक विद्यालय र संस्थागत विद्यालयको शैक्षिक स्थिति हेर्दा संस्थागत विद्यालयले उत्कृष्ट अंक ल्याउन सफल भएको बताए । उनले आफुले कहिल्यै पनि संस्थागत र सामुदायिक विद्यालय भनेर विभेद नगरेको उल्लेख गर्दै सधैंभरि हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन बागमती प्रदेशका सचीव ऋषिराम नेपालले प्याब्सन भित्र रहेका समस्या तथा चुनौतीलाई चिर्दै अगाडि बढ्नका लागी सुभकामना व्यक्त गरेका छन । उनले निजी तथा आवासीय विद्यालयको बर्तमान अवस्थाको बारेमा जानकारी गराउँदै नेपालले शिक्षालाई संस्कार र जिविकोपार्जन संग कसरी जोड्न सकिन्छ भन्ने बिषयमा छलफल गर्न आवश्यक रहेको बताएका छन ।

प्याब्सन सिन्धुपाल्चोकका अध्यक्ष ओमप्रकाश उप्रेतीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल पत्रकार महासघं सिन्धुपाल्चोकका उपाध्यक्ष दिनेश थापा, अनेरास्ववियु सिन्धुपाल्चोकका संयोजक शितल मोक्तान, अनेरास्ववियु क्रान्तिकारी सिन्धुपाल्चोकका सचीव सुवास गौतम लगायतले आफ्नो भनाइ राखेका थए । कार्यक्रममा सांगठानिक प्रतिवेदन सचीव बुद्धिप्रसाद आचार्य र आर्थिक प्रतिवेदन प्याब्सनका कोषाध्यक्ष मदनकुमार सापकोटाले प्रस्तुत गरेका थिए । करिब २७ वटा निजि विद्यालय रहेको जिल्लामा १९ वटा विद्यालय प्याब्सनमा आबद्ध रहेको सचीव बुद्धिप्रसाद आचार्यले जानकारी दिए ।