सर्वाेत्थान सहकारीको आठौं सभा

बनेपा, नाला÷२०७२ साल भदौ ३ गते डिभिजन सहकारी कार्यालय धुलिखेलमा दर्ता भई कारोवार शुरु गरेको साविक उग्रचण्डी नाला गाविस ४ मा रहेको सर्वाेत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८ औ बार्षिक साधारण सभा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष नविनजंग पाण्डेको सभापतित्वमा सम्पन्न भएको छ ।

सभामा सस्थाका अध्यक्ष नविनजंग पाण्डे, उपाध्यक्ष राधिका थापा, सचिव पुष्पराज पाण्डे, कोषाध्यक्ष प्रवेश थापा लगायतले सहकारीले आठौ वर्षसम्म गरेका विभिन्न कार्यहरुका बारेमा जानकारी गराएका थिए । संस्थाले जेष्ठ नागरिक सम्मान, स्वास्थ्य शिविर, बालबालिकाहरुलाई छात्रबृत्ति तथा रक्तदान कार्यक्रम आयोजना गरिसकेको छ भने साधारण सभाको अवसर पारेर विभिन्न विद्यामा उत्कृष्टहरुलाई सम्मान गरेको छ । आर्थिक वर्षको अन्त्यसम्ममा संस्थाले १३ करोड ८६ लाखको कारोवार गरिसकेको छ ।

१० करोड १८ लाख बचत, ११ करोड १८ लाख ऋण लगानी र ६० लाख ४ हजारको शेयर रहेको उक्त संस्थाले बनेपा नगरपालिका क्षेत्र भित्रको कारोवार गर्ने अनुमती पाएको छ । कृषि, पशुपालन, ब्यवसाय, शैक्षिक तथा अन्य विविध शिर्षकमा सहुलियत दरमा ऋण प्रदान गरिरहेको संस्थाले शेयर सदस्यहरुको आर्थिक उन्नतीका लागि ब्यवसायीक ऋणहरु समेत प्रवाह गर्दै आएको छ ।

साधारण सभामा असल ऋणी उमेश पाण्डे, उत्कृष्ट कर्मचारी पुर्णलक्ष्मी घिमिरे, उत्कृष्ट मासिक बचतकर्ता रमिला श्रेष्ठ, उत्कृष्ट बाल बचतकर्ता इमान्जली घिमिरे, इमा थापा, सुर्यवाणी श्रेष्ठ र एलेक्स बोहोरा रहेका छन् । त्यस्तै उत्कृष्ट दैनिक बचतकर्ताहरुमा कपिल थापा, सुदिप बस्नेत, सुमित शाही, अमृता ढुंगाना रहेका छन् । उत्कृष्ट आवधिक बचतकर्ताहरुमा रामकुन्द थापा, ध्रुर्व पराजुली, राधिका थापा, बासुदेव थापा र सुनिता पाण्डे रहेका छन् ।

कार्यक्रममा बोल्दै पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाले सहकारीहरुमा देखिएको संकटको अवस्थामा सर्वाेत्थान सहकारीले शेयर सदस्यहरुको मन जित्दै बचत संकलन र ऋण असुली कार्यलाई प्रभावकारी बनाउन सुझाव दिएका थिए । केहि दिन बनेपा नगरपालिकाले नगर क्षेत्र भित्रका सबै सहकारीहरुलाई तत्काल सभा गर्न र सभा गरिसकेका सहकारीहरुलाई पुनः विशेष सभा गर्न निर्देशन दिएको थियो । सर्वाेत्थान सहकारीले नगरपालिकाले दिएको मिति अगावै सभा सम्पन्न गरेको अध्यक्ष नविनजंग पाण्डेले बताए । अध्यक्ष पाण्डेले सहकारी मार्फत समुदायमा आर्थिक समृद्धी हासिल गर्ने अभियानमा कृयाशिल रहने बताए ।