आज दिनभर के–के भयो ?

ताइवान चीनकै अभिन्न अङ्ग होः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र भएको बताएका छन् । चिनियाँ नयाँ वर्षको काठमाडौंमा उद्घाटन गर्दै उनले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा नेपाल र चीनबीचको सम्बन्ध प्रगाढ रहेको बताए । नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले आन्तरिक तथा बाह्य मामिलामा आएको परिवर्तनबाट आफ्नो प्रतिबद्धतामा कुनै हालतमा प्रभावित नहुने बताएका छन् । आफ्नो चीन भ्रमणको बेला जारी भएको संयुक्त वक्तव्य स्मरण गर्दै प्रधानमन्त्रीले ताइवान चीनकै अभिन्न अङ्ग भएको बताएका छन । चीनका विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने स्पष्ट पार्दै उनले दुई देशको सभ्यता नदी र हिमशृंखलाले मात्र जोडिएका नभइ यसमा हाम्रा साझा संस्कृति र जनस्तरको सम्बन्ध पनि प्रमुख रहेको बताए । प्रधानमन्त्रीले संस्कृतिक सम्बन्धको गतिलो उदाहरणका रुपमा चन्द्रमासमा आधारित पात्रो रहेको उल्लेख गरे ।

निर्माण व्यवसायीको बाँकी रकम भुक्तानी दिन प्रधानमन्त्री प्रचण्डको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई सरकारकातर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन । निर्माण व्यवसायीसँग अर्थमन्त्री प्रकाशरण महत, भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्य सचिव वैकुण्ठ अर्याल, अर्थसचिव कृष्णहरि पुष्कर लगायतसँग आज आफ्नै कार्यकक्षमा भएको छलफलमा प्रधानमन्त्रीले निर्माण व्यवसायीलाई तिर्नुपर्ने रकम तत्काल भुक्तानीका निम्ति प्रक्रिया थाल्न निर्देशन दिएका हुन । प्रधानमन्त्रीले गत आर्थिक वर्षको एक अर्ब ७१ करोड र चालु आर्थिक वर्षको अहिलेसम्मको दायित्व छ अर्ब ३० करोड तत्काल निकासा दिन अर्थमन्त्रीलाई निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । निर्माण व्यवसायीलाई उक्त रकम भुक्तानी भएपछि विकासनिर्माणका कामले गति लिने र अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिएको छ ।

राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारहरूलाई जिताउन सत्तारुढ दलको अपिल

सत्ता गठबन्धनका दलले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारहरूलाई जिताउन मतदातासँग अपिल गरेका छन । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको गठबन्धन बैठकले राष्ट्रियसभा निर्वाचनबाट गठबन्धनलाई थप बलियो बनाउनुपर्ने निर्णय गरेको हो । गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, नाउपा र जनमोर्चाले संयुक्त रूपमा विज्ञप्ति जारी गरी आफ्ना साझा उम्मेदवारलाई जिताउन आग्रह गरेका हुन । अपीलमा जनमत पार्टीका अध्यक्ष सीके राउत हस्ताक्षर छैन । जनमत पार्टीका अध्यक्ष सीके राउतले यस विषयमा आफूलाई कुनै जानकारी नगराइएको बताए । गठबन्धनको बैठकमा कहिले बेलाउने कहिले नबोलाउने गरेको उनको भनाइ छ । राष्ट्रियसभा चुनावका लागि जनमतले मधेश र लुम्बनीमा छुट्टै उम्मेदवार अघि सारेको छ । गठबन्धनमा भागबन्डा नगरेपछि लुम्बिनी प्रदेशको अन्य क्लस्टरमा बालगोविन्द चौधरी र मधेस प्रदेशको अन्य क्लस्टरमा रामशंकर महासेठलाई उम्मेदवार बनाइएको छ । सत्ता गठबन्धनले गरेको सीट बाँडफाँटमा सुरूबाटै जनमत रुष्ट थियो । पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारमा पार्टीकी सांसद अनिता देवी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री छिन् । माघ ११ गते हुने राष्ट्रियसभा चुनावका लागि आठ दलबाट ५२ जना उम्मेदवार छन् । सत्ता गठबन्धनबाट १९ जना उम्मेदवार बन्दा सत्ता गठबन्धनभित्रै रहेको जनमत पार्टी छुट्टै मैदानमा उभिएको छ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध कांग्रेसका १०, माओवादी केन्द्रका ६, एकीकृत समाजवादीका २ र जसपाका १ जना उम्मेदवार छन ।

सरकारले रकम निकासा नगर्दा भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण अलपत्र

सरकारले घोषणा गरेजति रकम निकासा नगर्दा जाजरकोट भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण अलपत्र परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज पत्रकार सम्मेलन गरेर सरकारले निर्णय गरेजति रकमको निकासा नहुँदा पीडितले अस्थायी आवाससमेत बनाउन नपाएको बताएको छ । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले भूकम्प गएलगत्तै मन्त्रिपरिष्द् बैठकले १० अर्ब रुपैयाँ निकासा गर्ने निर्णय गरे पनि अहिलेसम्म अर्थ मन्त्रालयले जम्मा एक अर्ब रुपैयाँमात्रै निकासा गरेको बताएका छन । यस्तै विपद् व्यवस्थापन कोषमा रहेको एक अर्ब २६ करोड करोड रुपैयाँसमेत गरेर प्राधिकरणले दुई अर्ब २६ करोड रुपैयाँ जिल्लामा पठाएको छ । दुई अर्ब २६ करोड रुपैयाँमध्ये ४७ हजार छ सय ५५ जना लाभग्राहीको खातामा एक अर्ब तीन करोड ८१ लाख रुपैयाँ जम्मा भइसकेको छ । प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले केही ऐन र नियमावलीका कारण पनि पीडितलाई रकम वितरणमा ढिलाइ भएको जानकारी दिएका छन । प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले कुनै कुनै पालिकामा अस्थायी आवास निर्माण तीव्र गतिमा भए पनि कुनैमा भने एउटा पनि अस्थायी आवास नबनेको भन्दै चिन्ता व्यक्त गरेका छन । प्राधिकरणका अनुसार जाजरकोट भूकम्प पीडितका लागि २० हजार एक सय ४७ वटा अस्थायी आवास निर्माणको काम सम्पन्न भइसकेको छ । त्यसैगरी १० हजार तीन सय पाँच वटा निर्माण भइरहेको पनि प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले बताए । लाभग्राहीको सङ्ख्या ६८ हजार सात सय ८० जना रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले २१ वटा विकास आयोजनामा पदयात्रा गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले निर्माणको काम सुस्त रहेका २१ वटा विकास आयोजनामा पदयात्रा गर्ने भएको छ । विभिन्न मितिमा ठेक्का लागे पनि निर्माण निकै सुस्त रहेका आयोजना छिटो पूरा गर्न दबाब दिने उद्देश्यले पदयात्रा गर्न लागिएको रास्वपाका उपसभापति डीपी अर्यालले जानकारी दिए । कुन कुन आयोजनामा पदयात्रा गर्ने भन्ने टुंगो रास्वपाको ३ माघमा बस्ने केन्द्रीय समितिले लगाउनेछ । पदयात्रामा केन्द्रीय नेता र सांसदहरु सहभागी हुने अर्यालले जानकारी दिए । यसअघि शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रास्वपा सभापति रवि लामिछानेले २१ वटा आयोजनामा पदयात्रा गर्ने घोषणा गरेका थिए । उनले पार्टीका २१ जना सांसदले एक एक वटा आयोजनाको जिम्मा लिएर पदयात्रा गर्ने बताएका थिए । यसअघि पुस ९ गतेदेखि रास्वपाले विस्तारको काम भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल खण्डको ११३ किलोमिटरको पदयात्रा गरेको थियो । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता एवं काठमाडौं–८ का सांसद विराजभक्त श्रेष्ठले सांसदको रुपमा एकवर्षे कार्यप्रगति प्रतिवेदन सार्वजनिक गरेका छन् । संसद र निर्वाचन क्षेत्रमा गरेका कामलाई प्रतिवेदनका रुपमा श्रेष्ठले सार्वजनिक गरेका छन् । एक वर्षको अवधिमा वातावरण र सम्पदा संरक्षणका मुद्धालाई प्राथमिकतामा राखेको श्रेष्ठले सार्वजनिक गरेको कार्यप्रगति प्रतिवेदनमा उल्लेख छ । काठमाडौं महानगरपालिका–१५ लिंकरोड, करिडोरमा हरियाली पार्क संरक्षणका लागि पर्खालको निर्माण कार्य भइरहेको श्रेष्ठले कार्यप्रगतिमा उल्लेख गरेका छन् ।

राष्ट्रिय सभा निर्वाचः मंगलबारदेखि आचारसंहिता लागू हुने

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंगलबारदेखि आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले माघ २ गतेदेखि १२ गतेसम्म अचचार संहिता जारी गर्ने निर्णय गरेको हो । यो अवधिमा कुनै सार्वजनिक स्रोत साधान र सम्पत्ति दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग गर्न पाइने छैन । सरकारी वा सार्वजनिक संस्था वा शैक्षिक संस्था प्रयोग गरेर निर्वाचनसम्बन्धी भेला वा प्रचार गर्न पनि पाइने छैन । आचारसंहिताले कुनै दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको सामग्री उत्पादन तथा प्रयोग गर्न समेत रोक लगाइएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनलाई प्रभाव पार्ने विद्युतीय सामग्री सामाजिक सञ्जालमा प्रकाशित गर्न वा शेयर गर्न समेत हुँदैन । केन्द्र, प्रदेश र स्थानीय कार्यपालिकाका पदाधिकारीले निर्वाचन प्रचार प्रसारमा सहभागी हुँदा सरकारी स्रोत र साधान प्रयोग गर्न पाउने छैनन् । राष्ट्रिय सभाका १९ सिटका लागि ११ माघमा निर्वाचन हुँदैछ ।

हमास–इजरायल युद्धको सय दिन पूरा,गाजामा २३ हजार सात सय जनाको मृत्यु

प्यालेस्टिनी विद्रोही समूह हमास र इजरायलबीच युद्ध शुरु भएको एक सय दिन पूरा भएको छ । हमासले गएको अक्टोबर ७ तारिखमा इजरायलमाथि आक्रमण गरेपछि इजरायलले त्यही दिनदेखि हमासविरुद्ध आक्रमण शुरु गरेको थियो । इजरायलले हमासको अन्त्य नभएसम्म आक्रमण नरोक्ने भन्दै आक्रमण गरिरहेको छ । हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्दा झन्डै १२ सय जनाको हत्या गर्नुको साथै दुई सय ४० जनालाई बन्धक बनाएको थियो । त्यसमध्ये झन्डै सय जनालाई छाडिसकेको छ । इजरायलको आक्रमणबाट गाजामा २३ हजार सात सय जनाको ज्यान गएको छ । उनीहरूमध्ये कम्तीमा नौ हजार छ सय जना बालबालिका रहेका कतारी सञ्चारमाध्यम अलजजिराले जनाएको छ । गाजामा मारिनेमा छ हजार सात सय ५० जनाभन्दा धेरै महिला रहेका छन् । इजरायलको आक्रमणबाट उत्तरी गाजा तहसनहस भइसकेको छ । त्यहाँका २३ लाख मानिस सबैजसो विस्थापित भएका छन् ।