५ वर्ष पछि नागरिकता विक्री प्रकरणमा अनुसन्धान, चार विदेशी नागरिक पक्राउ

मोतीराम तिमल्सिना
धुलिखेल
सुन तस्करीमा संलग्न विदेशी नागरिकहरुले काभ्रेपलाञ्चोक जिल्लाबाट लिएको नागरिकता र राहदानी खारेजीको प्रकृयासँगै पक्राउ परेकाहरुसँग थप अनुसन्धान शुरु गरिएको छ ।
सून तस्करीमा संलग्न भएको अभियोगमा अनुसन्धान गरी पुर्पक्ष गरिएका मध्ये चार जनाले काभ्रेबाट नागरिकता खरिद गरेको बयान दिएका थिए । पाँच वर्ष अघि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले गरेको छानविनका क्रममा निमा लगायतका ३ सय ५० जना विदेशी नागरिकले नागरिकता लिएको तथ्य सहितको प्रतिवेदन गृह मन्त्रालयमा बुझाउँदा पनि उनिहरु माथी कारवाही भएको थिएन । कारवाही नभएकै कारण निमा लगायतका नागरिकहरुले नेपालबाट विभिन्न समयमा विभिन्न स्थानबाट नागरिकता, राहदानी बनाई अपराधका श्रृंखला शुरु गरेका थिए ।

प्रहरीले काभ्रेवाट नागरिकता र राहदानी लिएका चिनियाँ मुलका बेल्जियम नागरिक दावा क्षिरिङ्ग लामाको नागरिकता खारेजीसँगै अनुसन्धान शुरु गरेको छ । उनको नागरिकता छानविन गर्न गठित समितिले दिएको सुझाव तथा निर्देशनका आधारमा गृह मन्त्रालयले मन्त्रिपरिषद्को बैठकबाट नागरिकता खारेज गर्ने निर्णय गरेको थियो ।

सोहि निर्णयका आधारमा जिल्ला प्रशासन कार्यालय काभ्रेले २०८० मसिंर ५ गते दावा क्षिरिङ्गले नेपाली नाम निमा तामाङका नामबाट लिएको नागरिकता खारेज गरिएको थियो । मन्त्रीपरिषद्ले २०८० कार्तिक १६ गते नागरिकता खारेज गर्ने निर्णय गरेको थियो । २०७४ पुष २० गते निमा तामाङले नमोबुद्ध नगरपालिका ठेगाना राखेर ३०–०१–७४–११८६८ नम्वरको नेपाली नागरिकता लिएका थिए । सोहि दिन अन्य केहिलाई पनि निमाका बाबुको नाम पेमा तामाङ राखेर नागरिकता उपलब्ध गराईएको थियो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले तत्कालिन अवस्थामा गठित छानविन समितिको प्रतिवेदन, जिल्ला प्रशासन कार्यालयले मन्त्रीपरिषदले गरेको निर्णयका आधारमा दिएको निर्देशन सहित आवश्यक अनुसन्धान शुरु गरेको प्रहरी प्रमुख एसपी भाग्येन्द्र पुरुष ढकालले बताए । ‘नागरिकता सम्वन्धी कसुरका आधारमा पक्राउ परेकाहरुबाट अनुसन्धान गर्ने क्रम शुरु भएको छ’–एसपी भाग्येन्द्र पुरुष ढकालले भने–‘नागरिकता विक्री प्रकरणमा संलग्नहरुको पहिचान गरी कारवाहीको दायरामा ल्याईनेछ ।’ उक्त प्रकरणमा संलग्नहरु मध्ये केहिलाई छानविन समितिले बयान लिईसकेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा ल्याईएका मध्ये चिनियाँ नागरिकले चौरीदेउराली गाउँपालिका साविकको माझिफेदा गाविस १ बाछ सोनाम लामाका नामबाट नागरिकता लिएका छन् । उनको नागरिकता नम्वर ३०३०४२–२०६४ छ । २०७८ पुष ८ गते विहिबार उनले नागरिकता र राहदानी लिएका थिए । सोहि दिन गोठपानी गाविस १ ठेगाना राखेर चिनियाँ नागरिकले राम लामाको नामबाट नागरिकता लिएका थिए । उनको नागरिकता नम्वर ३०३०४१–२२५४ छ । अर्का ब्यक्ति चिनियाँ नागरिक तेन्जिङ्ग सोनाम तामाङ हुन् । उनले ३०३०७५–१८४३ नम्वरको नागरिकता २०७९ असोज १९ गते लिएका छन् । पक्राउ परेकाहरुलाई नागरिकता सम्वन्धी कसुरमा कारवाही हुनेछ । उनिहरु सुन तस्करीमा समेत पुर्पक्ष भएकाले दुबै मुद्दामा एकै पटक कारवाही र अनुसन्धान हुनेछ । नागरिकता विक्री प्रकरणमा संलग्नहरुको पहिचान गरी पक्राउ गरिने प्रहरीले बताएको छ ।

३ सय ५० वटा नागरिकता विक्री
एक क्विन्टल सुन तस्करीमा संलग्न दावा छिरिङ भनिने निमा तामाङले लिएको नागरिकता झुटो विवरण पेश गरेर लिएको पाँच वर्ष अघि नै गृह मन्त्रालयलाई जानकारी गराएको भए पनि अनुसन्धान शुरु भएको थिएन । निमा जस्तै काभ्रेपलाञ्चोक जिल्लाबाट विभिन्न अवधीमा नागरिकता लिएका मध्ये ३ सय ५० जनाको अनुसूची नभएको विवरण गृहलाई बुझाईएको छ । जसमा निमा तामाङको नाम पनि समाबेश छ । ‘२०७३ देखि २०७५ सम्म वितरण गरिएका नागरिकताका सन्दर्भमा शंका लागेर प्रमुख जिल्ला अधिकारी कृष्ण राउतले अधिकृत रामप्रसाद भट्टराईको संयोजकत्वमा अनुसुची ब्यवस्थापन गर्ने आदेश सहितको समिति गठन गर्नु भएको थियो’–जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीले भने–‘भट्टराई नेतृत्वको समितिले दिएको प्रतिवेदनमा ३ सय ५० जना नागरिकले प्राप्त गरेको नागरिकताको अभिलेख भए पनि अनुसूची नभएको फेला परेको थियो ।’ अनुसुची नभएकाहरुको सूची तयार गरी प्रतिवेदन तत्कालिन प्रमुख जिल्ला अधिकारी कृष्ण राउतलाई बुझाईएको थियो । सोहि प्रतिवेदन प्रमुख जिल्ला अधिकारी कृष्ण राउतले गृह मन्त्रालयमा बुझाएका थिए । गृहले उक्त प्रतिवेदनका बारेमा कुनै चासो नदिए पछि अनुसुची विना नागरिकता उपलब्ध गराउने कर्मचारीहरुलाई कुनै कारवाही भएन । उनिहरुको मनोबल निरन्तर बढिरहेको श्रोतले बतायो ।

अनुसुची नै गायव
काठमाडौ जिल्ला प्रशासन कार्यालयबाट नागरिकता खरिद विक्री हुने गरेको खुलासा भएसँगै उक्त फाँटमा कार्यरत कर्मचारीहरु मध्ये केहिको काभ्रे सरुवा भयो । त्यहाँबाट सरुवा हुने कर्मचारीहरु मध्ये अधिकृत भुपेन्द्र पाण्डेय एक हुन् । उनि सँगै सुब्बा रामचन्द्र अर्याल पनि काभ्रे आए । २०७३ कार्तिक २२ गते हाजिर भएका पाण्डेय काभ्रेमा हाजिर भएका थिए । उनि २०७४ जेठ मसान्तसम्म कार्यरत रहे । सुब्बा २०७३ कार्तिक २२ गतेबाट २०७५ असार मसान्तसम्म कार्यरत थिए । उनिसँगै अर्का अधिकृत झपेन्द्रराज खरेल २०७४ भदौबाट ईलाका प्रशासन कार्यालय महाभारत घर्तिछापको दरवन्दीमा हाजिर भए । महाभारतमा इलाका कार्यालय स्थापना नभएकाले कार्यालय काभ्रेमै राखेर उनि कार्यरत थिए । उनी २०७७ जेठ २ गतेसम्म इलाका प्रहरी कार्यालय महाभारतमा कार्यरत थिए । निमाको नागरिकतामा उनै खरेल अधिकृतले २०७४ पुष २० गते हस्ताक्षर गरेका छन् । सोहि दिन जिल्ला प्रशासन कार्यालय काभ्रेको रेकर्डमा ५१ वटा नागरिकता वितरण गरिएको थियो । ११८३० बाट ११८७१ नम्वरसम्मको नागरिकता मध्ये ११८६० बाट मात्रै खरेलको हस्ताक्षर छ । त्यस अघिको ४० वटा नागरिकतामा अधिकृत सिताराम थापाको हस्ताक्षर रहेको छ ।
पाण्डेय सरुवा भए लगत्तै जिल्ला प्रशासन कार्यालयमा नागरिकता खरिद विक्री हुन्छ भन्ने सूचना प्राप्त भयो । पाण्डेय, खरेल र अर्यालको टिमले उक्त अवधीमा ३ सय ५० वटा नागरिकताको अनुसूची गायव पारेको अनुसन्धानमा खुलेको छ । नागरिकताका लागि प्रति नागरिकता ३ लाख देखि ५ लाखसम्म लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो । उक्त अवधीमा प्रमुख जिल्ला अधिकारी शिवप्रसाल सिंखडा भए पनि आफुलाई उक्त विषयमा जानकारी नभएको बताएका छन् । सिंखडा पछि कृष्ण राउत प्रमुख जिल्ला अधिकारीको कार्यकालमा भएको छानविनको प्रतिवेदन कार्यान्वयन हुन सकेन । कारवाही नभएकै कारण सुब्बा रामचन्द्र अर्याल सरुवा भए पछि रमाना दिने समयमा जिल्ला प्रशासन कार्यालय काभ्रेबाट पछि खोजी भएका बखत अनुसूची उपलब्ध गराउने शर्तमा कागज गराएर रमाना दिईएको थियो । उक्त अनुसुची त्यस पछिका प्रमुख जिल्ला अधिकारीहरु कसैले पनि खोजविन गर्ने चासो दिएन । हुमकला पाण्डे प्रमुख जिल्ला अधिकारीको कार्यकालमा अध्यागमन विभाग, प्रहरी प्रधान कार्यालय लगायतका कार्यालयले निमाको विवरण सोधखोज गरे पछि अनुसन्धान शुरु भएको थियो । अध्यागमन विभागले २०७८ फागुन २७ गते, प्रहरी प्रधान कार्यालयले २०७८ फागुन १८ गते जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकलाई दावा छिरिङ्ग र निमा तामाङ भन्ने ब्यक्ति एकै हुन् कि हैनन ? अनुसुचीको पूर्ण विवरण र बसाई सराईको कागजात माग गरेको थियो । जिल्ला प्रशासन कार्यालयले दावा क्षिरिङ्गको विवरण फेला नपरेको तर निमा तामाङको अभिलेख भए पनि अनुसुची नभएको, वडामा १०÷१२ वर्ष देखि नभएको विवरण २०७८ चैत्र २० गते पठाएको थियो । उक्त अनुसन्धान पछि पुनः जिल्ला प्रशासन कार्यालय काभ्रेले २०७९ असार २९ गते नमोबुद्ध नगरपालिकामा निमाका विषयमा जानकारी माग गरेको थियो । नमोबुद्ध नगरपालिकाले वडा कार्यालयलाई लेखेको पत्रका आधारमा वडा अध्यक्ष कृष्ण लामाले निमा तामाङ भन्ने ब्यक्तिका लागि नागरिकताको सिफारिस पनि नगरिएको र तीन पुस्ते विवरण पनि नभएको जानकारी गराएको थियो । सुब्बा अर्यालका दाजु म्यानपावर ब्यवसायी हुन् । प्रतिवेदनमा कैफियत देखिएका मध्ये पाण्डेयको सरुवा भएको, खरेल ईलाका महाभारत गएका थिए । अर्याललाई नागरिकता फाँटबाट हटाएर ७ दिनको अल्टिमेटम सहित स्पस्टिकरण सोधिएको थियो । उनले अर्घाखाँचीका दुई जना श्रीमान श्रीमतीलाई नक्कली कागजात बनाएर नागरिकता दिलाएको खुलेको थियो । उनका दाजुले त्यसरी नागरिकता लिएका ब्यक्तिहरुलाई विभिन्न मुलुक पठाउने गरेका थिए । उक्त विषयमा पनि अझै छानविन भएको छैन । उनीहरुको ठेगाना बनेपा १३ साँगा राखिएको थियो । वडा कार्यालयले सिफारिस नगरेको जानकारी गराए पछि उनिहरुको नागरिकता रद्द गरिएको थियो ।
दावाले २०७४ पुस २० गते काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ११ बाट बंशजको नागरिकता निकालेका थिए । नागरिकता लिएको एक महिनामै उनले २०७४ माघ ११ गते नेपाली राहदानी निकालेका थिए । नेपाली नागरिकता र राहदानीमा उनको जन्म मिति २०४१ वैशाख १५ गते उल्लेख छ । अहिले उनी नेपाली र बेल्जियम दुवै मुलुकको राहदानी प्रयोग गर्छन । बेल्जियमको राहदानीमा भने उनको जन्म मिति २०४० चैत ३ गते राखिएको छ भने ठेगाना लिथाङ उल्लेख गरिएको छ । लिथाङ तिब्बतमा पर्छ । नेपाली राहदानीको म्याद १ मार्च २०२८ सम्म र बेल्जियम राहदानीकोे म्याद ३ जनवरी २०३० सम्म छ । निमा तामाङले नागरिकतामा पेमा तामाङ राखिएको छ । नागरिकता प्रमाणपत्र नम्वर ३०–१–७४–११८६८ रहेको छ । सुन तस्करीसँग जोडिएका विदेशी ब्यक्तिहरुको साथमा नेपाली नागरिता फेला परेसँगै नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईवी) को टोलीले गरेको अनुसन्धानमा थप एक जनाले नागरिकता र राहदानी जिल्ला प्रशासन कार्यालय काभ्रेबाट लिएको खुलेको छ । सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङ्ग भनिने निमा तामाङले २०७४ पौष २० गते जिल्ला प्रशासन कार्यालय काभ्रेबाट नागरिकता लिएका थिए । २०७८ सालमा पनि उनका बारेमा अनुसन्धान भएको थियो । नागरिकता लिन प्रयोग भएका अनुसुचीहरु गायव बनाईएको, विदेशी भएको तथा विभिन्न अपराधिक कृयाकलापमा संलग्न भएको पुष्टी भए पनि दावालाई कारवाही नभएको मात्रै होईन उनको नागरिकता पनि रद्द गरिएको थिएन । दावाले आफ्नै दाजु बनाएर बाबु पेमा तामाङ राखेर पासाङ तामाङका नाममा चिनियाँ नागरिकलाई एकै दिन नागरिकता दिलाएका थिए । उनि को हुन् ? के गर्दैछन् अझै खुलेको छैन । ‘चिनिया नागरिक ली नेङकाईको साथमा राम लामा र सोनाम लामा नामका दुईवटा राहदानी बरामद भएका छन्’–श्रोतले बतायो–‘राम र सोनामले एकै दिन काभ्रेबाट २०७८ पुष ८ गते राहदानी लिएका हुन् । उनिहरुले लिएको राहदानी अनुसारको नागरिकता नम्वर भने गृहमन्त्रालयको रेकर्डमा भेटिदैन ।’
सिआईवीले ३०३०५९–२८९ नम्वरको नागरिकताबाट १२६०७५९४ नम्वरको राहदानी लिने ब्यक्तिका बारेमा विस्तृत विवरण पठाउन जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका नाममा भाद्र २४ गते आईतबार पत्राचार गरेको थियो । २०४३ साल असोज ९ गते जन्म मिति राखेर काभ्रेपलाञ्चोकको ठेगाना राखिएका सोनाम लामा काभ्रेका हैनन । उनको राहदानी २०७८ पुष २१ गते काभ्रेबाटै जारी भएको छ । रादहानी र नागरिकता जारी गर्दाका बखत पेश गरिएका कुनै कागजात जिल्ला प्रशासन कार्यालयको रेकर्डमा छैनन । तर अभिलेखमा उनले काभ्रेबाट राहदानी लिएको उल्लेख गरिएको छ । सोनामको नाममा जारी भएको नागरिकता जिल्ला प्रशासन कार्यालय काभ्रेको अभिलेखमा अर्कै ब्यक्तिका नाममा देखिएको छ । रामेछाप माईती भई काभ्रेको साविक भिमखोरी गाविस घर भएकी एक महिलाका नामाम २०६३ सालमा जारी भएको नागरिकता नम्वर सोनामले बनाएको राहदानीमा प्रयोग भएको छ ।
राम लामाको जन्म २०५३ बैशाख १५ गते राखिएको छ । काभ्रेको गोठपानी १ ठेगाना राखेर नागरिकता बनाईएको छ । १२५८९४५७ नम्वरको राहदानी लिएका रामको नागरिकता नम्वर ३०३०४१–२२५४ हो । यो जिल्लाको अभिलेखमा नक्कली हो । यस्तो खालको नम्वर काभ्रेबाट जारी भएको नागरिकतामा छैन । सोनामको राहादानी नम्वर १२५८९४५६ र नागरिकता नम्वर ३०३०४२–२२५४ हो । जन्म मिति २०५३ भदौ ७ राखिएको छ । उनको ठेगाना माझिफेदा राखिएको छ । नागरिकता र राहदानीको नम्वर सँगै छ । उनिहरु दुबै जना नेपाली हैनन । प्रहरीको रेकर्डमा भने दावा, सोनाम र रामको मात्रै नागरिकता फेला परेको थियो । अनुसन्धानमा पासाङ र तेन्जिङ पनि फेला परेका छन् । तेन्जिङको राहदानी नम्वर ११८८०३१ हो । २०२०–२–२४ अथार्त २०७६ फागुन १२ गते काभ्रेपलाञ्चोक जिल्लाबाट लिएको राहदानीमा २०३९ जेठ २४ गते जन्म मिति राखिएको छ । त्यसमा काभ्रेपलाञ्चोक जिल्ला जन्म स्थान उल्लेख गरिएको छ । अन्य ब्यक्तिहरु पनि विदेशी भएको आशंका गरिएको छ ।

सिआईवीले अनुसन्धान गरिरहेका कर्मचारीहरु
प्रमुख जिल्ला अधिकारी– शिवप्रसाद सिंखडा (हालः सेवा निवृत)
अधिकृत – भुपेन्द्र पाण्डेय (हाल उप सचिव, प्रमुख प्रशासकिय अधिकृत, रुपन्देही)
अधिकृत – झपेन्द्रराज खरेल (हालः सूचना अधिकारी, मेलम्ची नगरपालिका, सिन्धुपाल्चोक)
नायव सुब्बा – रामचन्द्र अर्याल (हालः सुब्बा, यातायात कार्यालय, गुर्जाेधारा)
कप्युटर अपरेटर – हिराकाजी तामाङ (हालः वडा सचिव, चौरीदेउराली गाउँपालिका काभ्रे)
नायव सुब्बा – रमेश नेपाल, हाल अन्यत्र कार्यालयमा कार्यरत
कार्यालय सहयोगी– विष्णु गौतम (हाल सेवा निवृत)

के छ छानविन समितिको निष्कर्ष ? 
नेपाल प्रहरी विधिविज्ञान प्रयोगशालाको परिक्षण प्रतिवेदन अनुसार नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका निमा तामाङ भन्ने ब्यक्तिको नेपालको राहदानी प्राप्त गर्ने प्रयोजनार्थ राहदानी विभागमा रहेको औठाछाप र बेल्जियमका राहदानीबाहक दावा क्षिरिङ्गको औठाछाप मेल खानुले निमा तामाङ र दावा छिरिङ्ग दुई फरक ब्यक्ति नभई एकै ब्यक्ति भएको पुष्टि भएको साथै निजले झुठा विवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र र राहदानी प्राप्त गरेको कुरामा दुविधा रहेन । अतः निजलाई नेपालको प्रचलित कानुन बमोजिम नेपालको नागरिकता र नेपालको राहदानीबाट हटाउने तर्फ आवश्यक कारवाही र नेपालमा निजले गरेका अन्य कसुरका सम्वन्धमा समेत प्रचलित कानुन बमोजिम आवश्यक कारवाही अगाडी बढाउन उपयुक्त हुने देखिन्छ ।
साथै निमा तामाङ लगायतलाई नागरिकता उपलब्ध गराउने कार्यमा संलग्न कर्मचारीलाई कानून अनुसार र निमा तामाङलाई कडा कारवाही गर्न निर्देशन दिएको छ । एकै दिन नागरिकता प्राप्त गरेका पासाङ तामाङलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न पनि समितिले निर्देशन दिएको छ । नागरिकता जस्तो विषयमा गहिरो अनुसन्धान तथा छानविन नगरी पर्याप्त प्रमाण एवं अनुसुची १ रहेको वा नरहेको यकिन नगरी नागरिकता प्रदान गर्न सनाखत गर्ने नासु रामचन्द्र अर्याल, नागरिकता हस्ताक्षर गरिदिने तत्कालिन प्रशाशकीय अधिकृत झपेन्द्रराज खरेललाई आवश्यक कारवाहीका लागि निर्देशन दिएको छ । सोहि प्रतिवेदन कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले प्रहरी कार्यालयलाई पत्र पठाएकी छिन् । उक्त प्रकरणका लागि गृह मन्त्रालयले उप सचिव स्तरीय छानविन समिति गठन गरेको थियो ।