मेलम्चीको पानी आजदेखि पुनःवितरण, पानी नियमित उपलब्ध गराउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौंवासीका घरमा आजदेखि पुनः मेलम्चीको पानी वितरण गरिएको छ । मेलम्चीको पानी चौथोपटक यहाँका उपभोक्तालाई वितरण गरिएको हो ।

मेलम्चीको पानी पुनर्वितरणको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान सिंहदरबार भित्रै कार्यालय परिसरको धारा खोलेर उद्घाटन गरेका हुन् । तर, उपभोक्ताको घरमा भने त्यसअघि नै पानी पठाइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

पानी पुनर्वितरणको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंवासीलाई मेलम्चीको पानी नियमित रुपमा उपलब्ध गराउने आश्वासन दिएका छन् । त्यसका लागि दोस्रो चरणको याङ्ग्री तथा लार्के नदी डाइभर्सनको निश्चित कार्ययोजना बनाई अगाडि बढाइने उनले बताए ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आयोजनाको दीर्घकालीन समस्या समाधानका लागि विस्तृत अध्ययन तथा ठोस कार्ययोजना बनाई आयोजनाको पुनर्निर्माणको कार्य कार्यान्वयन गरिने र हाल प्रयोग हुँदै आएको वैकल्पिक प्रणालीलाई पनि बाह्रै महिना सञ्चालन गर्ने गरी व्यवस्था मिलाउन सम्बन्धित पदाधिकारीलाई निर्देशन दिएको जानकारी दिए ।