धुलिखेल नगरपालिकामा ई–पेमेन्ट अनलाईन सेवा, घरबाटै राजश्व तिर्न सकिने

धुलिखेल÷नेपाल सरकार महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि संचालित स्थानीय संचित कोष व्यवस्थापन प्रणाली एबं राजश्व संकलन मोडल धुलिखेल नगरपालिकामा शुरु गरेको छ । नेपालका ७ सय ५३ वटा पालिकाहरु मध्ये पहिलो पटक धुलिखेलमा उक्त सेवा शुरु भएको हो ।

अघिल्लो आर्थिक वर्ष देखी धुलिखेलबाट नै शुरु भएको स्थानीय तह संचितकोष ब्यवस्थापन प्रणाली (सुत्र) अन्र्तगतको मोडल अहिले नेपालका ५ सय ३३ स्थानीय तहमा संचालित छ । धुलिखेल नगरपालिकाबाट स्थानीय संचित कोष व्यवस्थापन प्रणालीको नमुना कार्यक्रम तत्कालिन अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले उद्घाटन गरेका थिए । करदाताले सहज रुपमा राजश्व तिर्न÷बुझाउन एवं विवरण भर्न मिल्ने गरी उक्त मोडलसँग आवद्ध भएको स्थानीय तह राजश्व पोर्टल समेत महालेखा नियन्त्रकको कार्यालयबाट विकास भई परीक्षण सम्पन्न भएको छ ।

उक्त रावश्व पोर्टलको युजर बनाईसकेपछि करदाताले आफ्नो ब्यक्तिगत तथा लगती करको विवरण जस्तै भूमि संरचना, ब्यवसाय, बहाल, सवारी साधन आदी आफै प्रविष्ट गर्न मिल्ने तथा आफुले तिर्न बुझाउन पर्ने कर कनेक्ट आईपिएस, क्यु आर कोड, मोवाईल वालेट लगायतका अनलाईन माध्यमबाट बुझाउन मिल्नेछ । महालेखा नियन्त्रक हरिप्रसाद मैनालीले एक कार्यक्रमका बीच धुलिखेल नगरपालिकाका लागि पहिलो पटक ई–पेमेन्ट अनलाईन पोर्टलको उद्घाटन गरेका हुन् । धुलिखेल नगरपालिकाका नागरिकहरुले घरमा बसेर आफ्नो राजश्व सम्वन्धी विवरण भर्दै अनलाईन मार्फत भुक्तानी गर्न सक्नेछन् । ‘नागरिकहरुलाई घर दैलोमा नै सेवा दिने र प्रविधी मार्फत नगरपालिकाको सेवालाई अझै प्रभावकारी बनाउने उदेश्यले महालेखा नियन्त्रकको कार्यालयले शुरु गरेको ई–पेमेन्ट अनलाईन पोर्टल तथा स्थानीय संचित कोष ब्यवस्थापन प्रणाली शुरु गरिएको हो’–नगर प्रमुख अशोक ब्याञ्जुले भने–‘उक्त सेवाबाट नागरिकहरुलाई थप सहजता हुनेछ ।’ नगरबासिहरुको विभिन्न शिषर्ककको राजश्व उक्त सेवाबाट भुत्तानी हुने भए पछि नगरपालिकामा धाउनु पर्ने अवस्था हुँदैन ।
धुलिखेल नगरपालिकाले उक्त सेवा सूचारु गर्न केहि वडा सचिव र राजश्व शाखामा कार्यरत कर्मचारीहरुलाई तालिममा पठाएको छ । उनिहरुले तालिम लिएर फर्किए लगत्तै नगरपालिकाका सबै वडाहरुमा उक्त सेवा प्रारम्भ हुने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मगरले बताए । ‘अनलाईन पेमेन्ट सम्वन्धी सेवाबाट नागरिकहरुलाई सहजता हुनेछ’–प्रमुख प्रशासयिक अधिकृत सुरेन्द्र थापा मगरले भने–‘नागरिकले नगरपालिकाबाट प्राप्त गर्ने सेवामा लाग्ने सबै प्रकारका करहरु उक्त अनलाईन पोर्टलबाट नै तिर्न सक्नेछन भने आवश्यक कागजात पनि त्यहिबाट अपलोड गर्न सकिने छ ।’ नगरपालिकाका लेखा अधिकृत धनबहादुर बस्नेतले उक्त पोर्टलबाट सेवा दिने नेपालका ७ सय ५३ वटा नगरपालिका मध्ये धुलिखेल पहिलो नगरपालिका भएको बताए । नेपाल सरकार महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि संचालित स्थानीय संचित कोष व्यवस्थापन प्रणाली एबं राजश्व संकलन मोडलबाट नागरिकहरुलाई सेवामा सहजता थपिएको लेखा अधिकृत बस्नेतले बताए ।

नेपाल सरकारले आफ्नै सफटवेयर निर्माण गरी सेवा प्रारम्भ गरेको यो पहिलो हो । उक्त सफटवेयर निर्माण हुनु अघि नीजि क्षेत्रबाट निर्मित सफटवेयरबाट सरकारले राजश्व संकलन सम्वन्धी कार्य गर्दै आएको थियो ।