दलहरुलाई राष्ट्रपतिको गुनासोः संविधान कार्यान्वयन नहुँदा जनता निराश देखिए

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण कार्यान्वयन नभएकाले जनतामा निराशा देखिएको बताएका छन्।

सोमबार शीतल निवासमा बोलाएर संघीय संसद्‍मा रहेका दलहरूलाई संविधान कार्यान्वयनका लागि तत्काल कानुन बनाउन उनले आग्रह गरेका छन्।

माघी पर्वको उपलक्ष्यमा शीतल निवासमा सोमबार आयोजित शुभकामना आदानप्रदानका क्रममा संघीय संसद्‍मा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरूलाई सम्बोधन गर्दै उनले समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र साकार पार्छौँ भन्ने प्रण गर्न पनि आग्रह गरेका थिए ।

पौडेलले नेपाली जनताले कहिल्यै पछाडि फर्कन नचाहेको स्पष्ट पारे। उनले माघी थारु र मगर समुदायका साथै सम्पूर्ण नेपालीको मौलिक पर्व भएको बताउँदै माघीले ऋतु परिवर्तनको समेत प्रतिनीधित्व गर्ने भएकाले विषेश महत्व रहेको बताए।

कार्यक्रममा उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, राष्ट्रिय सभाका उपाध्यक्ष, संघीय संसदमा प्रतिनीधित्व गर्ने संसदीय दलका नेताहरू, संसदीय समितिका सभापतिहरू र स्वतन्त्र सांसदहरू उपस्थित थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने काठमाडौं बाहिर जाने कार्यक्रम भएकाले शुभकामना दिएर निस्किएका थिए।