हुण्डी कारोबार गर्ने काभ्रेका भिमसेन गौतम सहित दुई जना पक्राउ

राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरित हुण्डी कारोबार गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नम्बर ५ घर भई काठमाण्डौं कपन बस्ने भिमसेन गौतम र चितवन राप्ती नगरपालिका वडा नम्बर ४ घर भई काठमाडौं सुकेधारा बस्ने राजु गौतम रहेका छन् । उनीहरुलाई काठमाण्डौं महानगरपालिका वडा नम्बर २२ स्थित महावौद्धबाट नियन्त्रणमा लिइएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सुचना अधिकारी प्रहरी उपरिक्षक मिलन केसीले जानकारी दिए ।
अनुसन्धानका क्रममा काभ्रेका भिमसेन गौतमको साथबाट नेपाली रुपैयाँ १ हजार दरको नोट ६०० थान र ५ सय दरको नोट ४ सय थान गरी ८ लाख रुपैयाँ फेला परेको छ । यस्तै राजु गौतमको महावौद्ध स्थित राधाकृष्ण जनरल स्टोरबाट बैंक तथा सहकारीको १७ वटा चेकमा उल्लेखित ७ लाख ९७ हजार, नेपाली रुपैयाँ १ हजार र ५ सय दरका गरी ५ लाख ७५ हजार फेला परेको प्रहरीले जनाएको छ ।