काभ्रेको पाँचखालमा भूकम्पीय सुरक्षा सम्बन्धी डेमो प्रदर्शन
२६ औं भुकम्प सुरक्षा दिवस काभ्रेमा पनि विविध कार्यक्रम गरि मनाइएको छ । स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौं, भुकम्प थेग्ने संरचना बनाऔं भन्ने मुल नाराका साथ पाँचखाल फुटवल मैदानमा भुकम्प सुरक्षा सम्बन्धी डेमो प्रदर्शन गरिएको छ । भुकम्प सुरक्षा दिवस जिल्ला मुल आयोजक समिति काभ्रेको आयोजनामा भएको कार्यक्रममा सशस्त्र प्रहरी बल १५ नम्बर गण पाँचखालले डेमो प्रदर्शन गरेको हो । ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि, पाँचखाल नगरपालिका उप–प्रमुख सुर्यमाया दनुवार, नेपाल रेडक्रस सोसाइटी काभ्रेका सभापति रघुनाथ हुमागाँई, पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना लगायतको उपस्थिती रहेको थियो । उक्त अवसरमा भुकम्प आउँदा ध्यान दिनुपर्ने कुरा, पुर्व तयारी र भुकम्पपछिको उद्धारमा विषयमा डेमो प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति काभ्रेका अध्यक्ष दिपक गौतमले भुकम्प जुनसुकै बेलापनि आउनसक्ने भएकाले भुकम्प प्रतिरोधी संरचना निर्माणमा जोड दिन आग्रह गरेका छन् । यस्तै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भुकम्पको समयमा सुरक्षित रहन अपनाउनुपर्ने उपायबारे सबै सचेत हुनुपर्ने बताइन् । नेपाल रेडक्रस सोसाइटी काभ्रेका सभापति रघुनाथ हुमागाँईले रेडक्रसले विपत्तिमा सहयोग गर्दै आइरहेको बताए । उनले रेडक्रसले विपद् पुर्वको तयारीमा समेत सुुसुचित गराउँदै आएको बताएका छन् । पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाले २०७२ को भुकम्पलाई अवसरको रुपमा लिँदै भुकम्प प्रतिरोधी संरचना निर्माणमा कडाई गर्नुपर्ने बताए । भवन भुकम्प प्रतिरोधी नबन्दा धेरै जनधनको क्षति व्यहोर्नुपरेको उनको भनाई छ ।
काभ्रेमा २०७२ को विनाशकारी भूकम्पले के–के क्षति भयो ?
विनाशकारी भूकम्पका कारण काभ्रेपलाञ्चोक जिल्लामा ३ सय ७२ जनाको मृत्यु भएको थियो भने १४ हजार ८ सय ४३ जना घाईते भए । २ सय ३७ जनाको जिवितै उद्दार गरिएको थियो भने ४ सय ९६ वटा प्राणी उद्दार गरिएको थियो । भुकम्पमा घाईते भएकाहरु मध्ये ४ हजार ७६ जना विरामीको उद्दार गरिएको थियो । जिल्लामा रहेका ८३ हजार २ सय २४ पुर्ण रुपमा क्षति भएका थिए ।
सरकारी भवनहरु, सामुदायिक भवन, सहकारी भवन, गुम्बा, रेडक्रस भवन, लघु जलविद्यूत्त, मठ मन्दिर, दुध चिस्यान केन्द्र, सामुदायिक विद्यालय, स्वास्थ्य भवन, प्रहरी चौकी, कृषि उपजहरु १ अरव ३५ करोड ८२ लाख ५० हजार बराबरको क्षति भएको थियो । खाद्यान्न, तरकारी तथा नगदे बाली, हाट बजार, ब्यवसायीक कृषि फर्म लगायतको क्षति भयो ।
खानेपानी, शौचालयहरु पुश सेवा केन्द्र र पशुधनमा समेत करोडौंको क्षति भयो । थुप्रै क्षतिका बाबजुत पनि भुकम्प पीडितहरु दुख विर्सेर सम्भावना तर्फ लागिरहेका छन् । चार वर्षमा पीडितहरुले पीडा माथी पीडा थपिएको महसुस गरे पनि पुर्न्निर्माणले गति लिए पछि नयाँ जीवन प्रारम्भ भएको महसुस गरेका छन् । काभ्रेमा भूकम्पले क्षति भएको सर्भे गरिएका ९८ हजार १९ घर धुरी मध्ये लाभग्राहिको सूचीमा परेका ८४ हजार ४ सय ८६ घर धुरी छन् । जसमध्ये ७६ हजार ६ सय ८४ घर धुरीले पहिलो किस्ताका लागि सम्झौता गरेका थिए । सरकार र एनजिओ मार्फत उक्त सम्झौता भएको थियो ।
जिल्लामा एनजिओले पुर्न्निर्माणका लागि आवासमा २ हजार ८ सय ९७ घर धुरीलाई सम्झौता गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।