पनौती ज्यालाचिटीमा १२ वर्षपछि पुरा भयो ‘एक घर, एक धारा’ को सपना

विकास तिमल्सिना
भनिन्छ १२ वर्षमा खोला पनि फर्किन्छ । पनौती नगरपालिका वडा नम्बर ४ ज्यालाचिटीमा त्यतै भयो । घर–घरमा स्वच्छ खानेपानी पुर्याउने उदेश्यले आजभन्दा ठिक १२ वर्षपहिले अर्थात २०६८ सालमा सुरु गरेको अभियानले २०८० सालमा सार्थकता पाएको हो । एक घर, एक धारा अभियानका लागि पनौती नगरपालिका वडा नम्बर ४, पनौती नगरपालिका र वागमती प्रदेश सरकारको सहयोग रहेको छ । २०६८ कार्तिक १५ गते दिपकप्रसाद दाहालको अध्यक्षतामा गठित ११ सदस्यीय समितिले काम सुरु गरेको थियो । त्यसपश्चात विभिन्न समयमा निरन्तर काम हुँदै आएकोमा २०८० साल माघमा दिपक थापाको अध्यक्षतामा रहेको समितिले सपना साकार पारेको छ ।

अहिले हरेक घरमा खानेपानीको धारा जडान गरिएको छ । उक्त कार्यको आज एक कार्यक्रमकाबीच औपचारिक शुभारम्भ समेत गरिएको छ । एक घर, एक धारा अभियान अन्तर्गत पनौती नगरपालिका वडा नम्बर ४ का २ सय ७२ घरधुरीमा धारा जडान गरिएको हो । वागमती प्रदेश सरकारबाट विनियोजन भएको १५ लाख तथा नगरपालिका र वडा कार्यालयको सहयोगमा २ सय ७२ घरमा धारा जडान गरिएको ज्यालाचिटी खानेपानी उपभोक्ता समितिका अध्यक्ष दिपक थापाले जानकारी दिएका छन । उनका अनुसार पुराना उपभोक्ता २ सय १५ घरधुरीबाट ५ हजार र नयाँ उपभोक्ता ५७ घरधुरीबाट ९ हजार ५ सयका दरले रकम उठाइएको छ । हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको र बाँकी १० प्रतिशत काम छिट्टै सम्पन्न गरेर आगामी साधारण सभामा सम्पुर्ण विवरण पेश गर्ने सचिव दिपक थापाले जानकारी दिए ।

असोज ९ गतेबाट थालिएको ट्यांकी निर्माण कार्य उपभोक्ता समितिले माघ १० गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौता थियो । तर निर्धारित समयभन्दा करिव १ महिनाअघि नै काम सम्पन्न भएको हो । योबीचमा पाइपलाइन विस्तार, घर–घरमा धारा जडान लगायतका कार्यसमेत सम्पन्न भएको अध्यक्ष थापाले जानकारी दिए । यसअघि २० हजार लिटर क्षमताको ट्यांकी मार्फत पानी वितरण हुँदै आएको थियो । जसले गर्दा ट्यांकी छिटो भरिएर खेर जाँदा पानी वितरणमा समस्या भएको थियो । नवनिर्मित ट्यांकी ९२ हजार लिटर क्षमताको छ ।

दुवै ट्यांकीमा गरेर अब १ लाख १२ हजार लिटर पानी भण्डारण गर्न सकने भएको छ । जसले गर्दा पानी वितरणमा सहज हुने उपभोक्ता समितिको विश्वास छ । बाँकी १० प्रतिशत काम छिट्टै सम्पन्न गरेर आगामी साधारण सभामा सम्पुर्ण विवरण पेश गर्ने सचिव दिपक थापाले जानकारी दिएका छन । समितिले घरमा धारा जोड्नका लागि निवेदन माग गरे बमोजिम ३ सय २० घरधुरीले निवेदन दिएका छन् ।
१२ वर्षमा के–के भयो ?
२०६८ कार्तिक १५ गते दिपकप्रसाद दाहालको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको थियो । उक्त समितिले ट्यांकी मर्मत, पाइपलाइन व्यवस्थापन, मासिक महसुल उठाउने निर्णय गरेको थियो । यस्तै उक्त अवधिमा सदस्यता वितरण कार्य शुभारम्भ भएको थियो ।
२०७५ फागुन १३ गते कृष्णबहादुर थापाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको थियो । उक्त समितिले सहकारीमा खाता खोल्ने, पाले राख्ने, बैंक खाता मार्फत रकम भुक्तानीको व्यवस्था, पाइपलाइन मर्मत तथा विस्तार लगायतका कार्य गरेको थियो ।
२०७७ मंसिर २७ गते दिपक थापाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको छ । वर्तमान समितिले मुहान तथा ट्यांकी सरसफाई एवं मर्मत, सानो पाइपको ठाउँमा ठुलो पाइप परिवर्तन गरेको छ । प्रत्येक घरधनीबाट ५० रुपैयाँ तथा भाडामा बस्नेसँग ३० रुपैयाँका दरले रकम उठाउने निर्णय, सम्पुर्ण हिसावकिताव दोहोरो लेखा प्रणलीमा राख्ने व्यवस्था समेत मिलाइएको छ ।
वर्तमान कार्य समितिले नै २०७७ चैत १ गते पनौती नगरपालिका जलस्रोत विभागमा समिति दर्ता गराएको छ भने २०८० असोज २५ गते खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सिन्धुपाल्चोकमा दर्ता गरिएको छ । यस्तै २०८० मंसिर ६ गते आन्तरिक राजश्व कार्यालयमा समिति दर्ता गरिएको छ । वर्तमान समितिले नै २०८० भदौं १६ गतेको बैठकको निर्णय अनुसार एक घर, एक धारा अभियान सुरु गरेको हो । उक्त अभियान साकार समेत भएको छ । समितिले आफ्नै कार्यालय सञ्चालन ल्याएको छ ।
समस्या के छन् ?
उपभोक्ता समितिले विभिन्न समस्यासँग जुधिरहनुपरेको समेत औंल्याएको छ । महानबाट सिधै ट्यांकीमा पानी आउने भएकाले पानी सफा राख्न फिल्टर प्लान्टको व्यवस्थापन गर्नुपर्ने, खानेपानीको सिमित स्रोतबाट बढ्दो जनसंख्यालाई नियमित पानी वितरण गर्न कठिनाई भएकाले वैकल्पिक स्रोतको व्यवस्थापन हुनुपर्ने लगायतका समस्या रहेको ज्यालाचिटी खानेपानी उपभोक्ता समितिका सदस्य अकल सिं थापाले बताए । उनले वडा नम्बर ४ स्थित पुलबजारबाट डिप बोरिङ मार्फत पानी ल्याउन सकिने पनि बताएका छन् । यस्तै थप जनशक्तिको आवश्यकता रहेको समेत समितिले जानकारी दिएको छ ।