बन्द हुन लागेको सामुदायिक विद्यालयमा लोभलाग्दा विद्यार्थी, विद्यार्थी बढे पछि नयाँ भवन बन्दै
विकास तिमल्सिना
धुलिखेल
बन्द हुन लागेको धुलिखेल नगरपालिका वडा नम्वर ३ स्थित चोलामाथमा रहेको पञ्चकन्या आधारभुत विद्यालयमा अहिले भरिभराउ विद्यार्थी भर्ना भएका छन् । केहि वर्ष अघि ४० भन्दा कम विद्यार्थी भएको उक्त विद्यालयमा अहिले १ सय ७६ जना अध्ययन गरिरहेका छन् । विद्यार्थीहरुका लागि कक्षाकोठा अपुग भएको, भएका भवन पुराना भएका कारण नगरपालिकाले समपुरक बजेटमा समावेश गरी एक करोड विनियोजन गरेको थियो । प्रदेश सरकारले नगरपालिकाले विनियोजन गरेकै जति रकम विनियोजन गरे पछि भवन निर्माण कार्य शुभारम्भ भएको हो ।
उक्त भवनको धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले एक कार्यक्रमका बीच बुधबार शिलान्यास गरेका छन् । ‘भुकम्प पछि धुलिखेलका १२ वटा वडाहरुमा रहेका विभिन्न विद्यालयहरुको पुर्नर्निमाण गर्ने क्रममा पञ्चकन्या २५ औ हो’–नगर प्रमुख अशोक ब्याञ्जुले भने–‘विद्यालयको पुर्वाधार निर्माण, भौतिक संरचनासँगै शैक्षिक गुणस्तरमा ध्यान दिएका छौं ।’ दरवन्दी मिलान, विद्यालय तथा शिक्षक एकिकरण, गुणस्तरका लागि विभिन्न शैक्षिक कार्यक्रम संचालन गरिरहेको बताउँदै नगर प्रमुख ब्याञ्जुले शैक्षिक कार्यक्रमका लागि नगरपालिका भित्र रहेका विद्यालयहरुमा राज्यको बार्षिक ४५ करोड भन्दा धेरै रकम खर्च भईरहेको बताए । धुलिखेल शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्ने नगरका रुपमा स्थापना गर्ने उदेश्यले भौतिक संरचनाको गुणस्तरलाई समेत प्राथमिकतामा राखेको नगर प्रमुख ब्याञ्जुले बताए ।
वडा अध्यक्ष गणेश आचार्यले वडा क्षेत्रका नागरिकहरुलाई सहज र सुलभ रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले पाँच दशक अघि स्थापना भएको विद्यालयले प्रदान गर्ने गुणस्तरलाई अझै बढावा दिन शिक्षक, विद्यार्थी, समुदाय, अभिभावक र जनप्रतिनिधिहरु सक्रिय हुनु पर्ने बताए । ‘नागरिकहरुलाई शिक्षा, स्वास्थ्य र विकासका अन्य पूर्वाधारहरुमा कमी हुन नदिन निरन्तर सक्रिय छौं’– वडा अध्यक्ष आचार्यले भने–‘विद्यालय भवन निर्माण पछि शैक्षिक गुणस्तरलाई थप सहयोग पुग्नेछ ।’ विद्यालय भवन निर्माण शिलान्यास कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक प्रकाश हुमागाईले अभिभावक र विद्यार्थीहरुको मन जित्न अंग्रेजी माध्यमबाट नैतिक, ब्यवहारीक शिक्षा प्रदान गरिरहेको बताए । ‘हामी घरबाट विद्यालय झिकाउने, टिकाउने, सिकाउने र नेपालमा विकाउने शिक्षा प्रदान गर्न प्रयत्न छौं’–प्रधानाध्यापक हुमागाईले भने–‘गुणस्तरीय शिक्षाका लागि समुदायको सक्रिय सहभागिता आवश्यक छ ।’ नर्सरी देखि कक्षा ८ सम्म १ सय ७६ जना विद्यार्थीहरु अध्ययनरत विद्यालय लामो समय देखि केहि शिक्षकहरुका कारण नियमित संचालन हुन सकेको थिएन । समुदायको सक्रियताका कारण बन्द हुने अवस्थामा पुगेको विद्यालयलाई पुर्नजिवन दिएकोमा स्थानीयहरुले धन्यवाद ब्यक्त गरेको विद्यालय ब्यवस्थापन समिति अध्यक्ष बद्रि बडालले बताए ।
प्रविधिमैत्री शिक्षण सिकाईमा जोड, माध्यमिक तह संचालन, बालमैत्री विद्यालय वातावरण सिर्जना गरी काम प्रति सकारात्मक सोच भएका जनशक्ति उत्पादन गर्ने उत्कृष्ट शैक्षिक थलोको रुपमा विकास गर्ने, सबै प्रकारका विद्यार्थीहरुको लागि सुरक्षित सिकाई वतावरण मार्फत जीवनपयोगी एवम रोजगार उन्मुख शिक्षाको ब्यवस्था गर्ने विद्यालयको रुपमा स्थापित गर्ने लगायतका योजना रहेको प्रधानाध्यापक प्रकाश हुमागाईले बताए ।
नगरपालिका तथा स्थानीय जनप्रतिनिधिको सक्रिय सहयोगका कारण विद्यालयले पुर्नजिवन पाएको उनले बताए । २०८१ असार १० गते भित्र सम्पन्न गर्ने गरी दुई तल्लाको ६ कोठे पक्कि भवन निर्माणको सम्झौता २०८० पुष १ गते भएको थियो । नगरपालिकाले राखेको १ करोड समपुरक बजेटमा प्रदेश सरकारले १ करोड विनियोजन गरेको थियो । १ करोड ९९ लाख ९९ हजार लागत अनुमान गरिएको उक्त भवन १ करोड २८ लाख २५ हजारमा निर्माण सम्झौता भएको हो । बाँकी रकम सोहि विद्यालय निर्माणका लागि खर्च गर्ने नगर प्रमुख ब्याञ्जुले बताए । २०२८ सालमा साविक बनेपाको बखुडोल भन्ने स्थानमा स्थानीयहरुले पाठशालाका रुपमा स्थापना गरी २०२९ साल जेठ १४ गते पञ्चकन्या आधारभुत विद्यालय औपचारिक रुपमा श्रीखण्डपुर ९ हाल धुलिखेल नगरपािलका वडा नम्बर ३ चोलामाथमा स्थापना भएको थियो ।