धुलिखेल श्रीखण्डपुरमा प्रवेशद्धार र फल्चा शिलान्यास, निर्माणाधीन महादेव पोखरी निरीक्षण

धुलिखेल नगरपालिका वडा नम्बर ५ स्थित श्रीखण्डपुरमा प्रवेशद्धार र फल्चा शिलान्यास गरिएको छ । श्वेतभैरव मन्दिर प्रवेशद्धार निर्माण गर्न लागिएको हो । धुलिखेल नगरपालिकाको पुरानो र ऐतिहासिक क्षेत्रको रुपमा रहेको श्रीखण्डपुर क्षेत्रको मौलिकता झल्कने परम्परागत शैलिमा प्रवेशद्धार निर्माण हुनेछ ।

भग्नावशेष अवस्थामा रहेको नाः फल्चाको पनि आज नै शिलान्याश गरिएको छ । ६० वर्षभन्दा अघिदेखी भग्नावशेषको रुपमा रहेको फल्चा पुनःनिर्माण गर्न लागिएको हो । प्रवेशद्धार र फल्चा शिलान्यास गर्दै नगर प्रमुख अशोक ब्याञ्जुले संम्पदाको संरक्षण र संवद्र्धनमा नगरपालिका लागिरहेको बताए । हाम्रा मौलिक साँस्कृतिक, धार्मिक एवं ऐतिहासिक सम्पदा, पाटी पौवाको संरक्षण र प्रवद्र्धन नगरपालिकाको प्राथमिकतामा रहेको उनको भनाई छ ।

आज नै धुलिखेल नगरपालिका वडा नम्बर ५ मा निर्माण भइरहेको महादेव पोखरीको समेत नगर प्रमुख ब्याञ्जुले निरिक्षण गरेका छन् । उनले प्राचिन महत्वको पोखरी निर्माणले खुसी मिलेको बताएका छन् । पोखरी निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

अबको १०÷१५ दिनमा पोखरी उद्घाटन गरिने वडा अध्यक्ष प्रमोद श्रेष्ठले जानकारी दिए । पुरानो इतिहास बोकेको श्रीखण्डपुरका संपदालाई जीवन्त दिन आफुहरु लागिरहेको उनको भनाई छ । पुर्खाले बनाएका संपदा भावी सन्ततिलाई समेत हस्तान्तरण गर्न आवश्यक रहेको उनले बताए । श्रीखण्डपुरको इतिहास र पहिचान कायम राख्न पनि मौलिक संपदा संरक्षण र पुनःनिर्माण जरुरी रहेको उनको भनाई थियो ।

कार्यक्रममा धुलिखेल नगरपालिका वडा १ का वडा अध्यक्ष शन्त बहादुर तामाङ, वडा नम्बर ३ का वडा अध्यक्ष गणेश आचार्य, ९ का वडा अध्यक्ष बद्री हुमागाँई, ११ का वडा अध्यक्ष नारायण बडाल, वडा नम्बर ५ का वडा सदस्य, वडा सचिव निर्मला रावल, नेकपा एमाले नगर अध्यक्ष दयाराम महत, नेकपा एकीकृत समाजवादीका हरिगोपाल प्रधानांगसहित स्थानीयको उपस्थिती रहेको थियो ।