मध्याह्नपछि काठमाडौँ उपत्यकाको मौसम बदलिने
.आज काठमाडौँ उपत्यकामा मौसम बदली हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार मध्याह्नपछि काठमाडौँ उपत्यकाको मौसम बदली हुने सम्भावना छ। भनेको आकाशमा बादल देखिनेछ।
तर पानी पर्ने सम्भावना न्यून रहेको उनले बताए। ‘काठमाडौँ उपत्यकामा आज पानी पर्ने सम्भावना त छ, तर धेरै कम देखिन्छ’, उनले भने।
यसैबीच बुधबारको तुलनामा बिहीबार (आज) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम केही बढेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस देखिएको हो। बुधबार यो ४.५ डिग्री सेल्सियस थियो।
आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म हुने अनुमान गरिएको मौसमविद् लामिछानेले बताए। बुधबार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १८।५ डिग्री सेल्सियस थियो।
२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ भित्र न्यूनतम तथा साँझ ५:४५ भित्र अधिकतम तापक्रम मापन गरिन्छ।