संसदको बाँकी चार वर्षे कार्यकालमा फेरि मन्त्री बन्दिनँ : राजेन्द्र लिङदेन
काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले वर्तमान संसदको बाँकी चार वर्षे कार्यकालमा आफू सरकारमा सहभागी नहुने घोषणा गरेका छन् । पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
राप्रपाभित्र सरकारमा जाने र नजाने विषयमा दुई धार छ । चुनाव जितेर सांसद बनेकाहरू अवसर पाएसम्म सरकारमा जानुपर्ने पक्षमा छन् भने चुनाव हारेका र सांसद नरहेकाहरू प्रतिपक्षमा बस्नुपर्ने अडानमा छन् अध्यक्ष लिङ्देन ।
केही दिनअघि बसेको कार्यसम्पादन समिति वैठकमा पनि सरकारमा सहभागीताको प्रसंग उठ्यो । स्रोतकाअनुसार सधैँ झैं बैठकमा दुई धार देखिए । अन्ततः लिङदेनले दुवै पक्षको मुख बुझो लगाउँदै घोषणा गरे, ‘संसदको बाँकी चार वर्षे कार्यकालमा म सरकारमा जान्न ।’
लिङ्देनले आफू व्यक्तिगतरुपमा सरकारमा नगए तापनि राप्रपा सरकारमा जाने सम्भावनाको ढोका भने बन्द गरेका छैनन् । यस विषयमा राप्रपा प्रवक्ता मोहन श्रेष्ठसँग प्रश्न गर्दा उनले आवश्यकता अनुसार राप्रपा सरकारमा जान सक्ने बताए ।
उनले भने, ‘अध्यक्षज्यूले आफू सरकारमा नजाने भन्नुभएको छ । यद्यपि, पार्टी नै चार वर्ष बाहिर बस्ने भनेर निर्णय भएको छैन । आवश्यकताअनुसार अरु कसैको नेतृत्वमा राप्रपा सरकारमा सहभागी हुन सक्छ ।’
यदि अध्यक्ष लिङदेनलाई प्रधानमन्त्रीकै अफर आयो भने पनि यो चार वर्ष तयार नहुने हो रु भन्ने प्रश्नमा श्रेष्ठले जवाफ दिए, ‘प्रधानमन्त्री पाए त नबन्ने कुरा हुँदैन । सरकारमा नजाने नभन्नुभएको हो, आफ्नै नेतृत्वमा सरकार बनाउने अवसर आयो भने त्यो अर्को प्रश्न हुन्छ ।’