शिर मेमोरियल अस्पताल र नेपाल अबुद्र्ध रोग निवारण संस्थाबीच क्यान्सर उपचारका लागि समझदारी पत्रमा हस्ताक्षर
बनेपा/बनेपामा रहेको शिर मेमोरियल एडभेन्टिष्ट अस्पताल र नेपाल अबुद्र्ध रोग निवारण संस्था काभ्रे बीच अस्पतालमा शुरु भएको क्यान्सर रोगको उपचार सेवालाई अझै प्रभावकारी बनाउन दुई पक्षिय सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।
अस्पतालमा अपुग भौतिक संरचनालाई नेपाल अबुद्र्ध रोग निवारण संस्थाको भवनबाट सेवा शुरु गर्ने समझदारी पत्रमा उल्लेख छ । जनशक्ति, पुर्वाधार तथा अन्य आवश्यक उपकरणका लागि दुबै पक्षले समझदारीमा गर्ने तथा नेपाल अबुद्र्ध रोग निवारण संस्थाको भवनलाई पनि क्यान्सर केयरका रुपमा विकसित गर्दै लैजाने सहमति भएको छ । हाल अस्पतालमा विरामीहरु नियमित आईरहँदा उपचारका लागि पुर्वाधार अभाव भएकाले सेवा विस्तारका लागि सम्झौता गरिएको डा. एन्जिला बस्नेतले बताईन् ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर गायरस र नेपाल अबुद्र्ध रोग निवारण संस्था काभ्रेका अध्यक्ष नेपाल सुधार भैलले एक कार्यक्रमका बीच उपचार सेवालाई प्रभावकारी बनाउने उदेश्यले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । समझदारी पत्रमा अस्पतालका मेडिकल डाईरेक्टर एन्जिला बस्नेत र क्यान्सर केयर सेन्टरका प्रमुख डा.पुन्य खर्बुजाले समेत हस्ताक्षर गरेका छन् । १० बुँदे समझदारी पत्रमा हस्ताक्षर गर्दै अस्पतालका कार्यकारी अधिकृत गायरसले उपचार सेवा प्रभावकारी बनाउन समझदारी महत्वपूर्ण रहेको बताए । ‘काभ्रेपलाञ्चोक जिल्ला तथा आसपासका नागरिकहरुका लागि उपचार सेवा दिन समझदारीपत्रले सहजता उपलब्ध गराएको छ’– अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर गायरसले भने–‘पुर्वाधार, जनशक्ति तथा अन्य सेवालाई थप सहजता प्रदान गरिनेछ ।’
अस्पतालकी मेडिकल डाईरेक्टर डा. एन्जिला बस्नेतले नेपालमा क्यान्सर रोगका विरामीहरुको संख्या दिनानुदिन बढिरहेको बताईन् । शिर मेमोरियल अस्पतालमा शुरु भएको क्यान्सर केयर सेन्टरबाट भयावह अवस्थामा रहेको क्यान्सर रोगलाई लाग्नै नदिन, रोग लागेकालाई क्यान्सर बढ्न नदिन र निको नहुने खालका विरामीलाई सहजता प्रदान गर्न उपचार सेवा प्रभावकारी हुने मेडिकल डाईरेक्टर बस्नेतले बताईन् । ‘नेपालमा फोक्सो, स्तन, आन्द्रा र पेट, पाठेघरको मुखमा हुने क्यान्सर धेरै देखिन थालेको छ’–डा बस्नेतले भनिन–‘रहनसहन, खानपान, बंशाणुगत, जनचेतनाको अभाव, लार्पवाही लगायतबाट फैलने क्यान्सर रोगको उपचार खर्चिलो छ । महङ्गो छ । सामान्य ब्यक्तिका लागि पनि ८० हजार बार्षिक कमाई हुँदा ३ लाख ८० हजार खर्च हुने गरेको छ ।’ अझ कठिन विरामीलाई क्यान्सर भए पछि हुने घाउ र त्यसले पार्ने अन्य अङ्गको असर मुख्य समस्या रहेको डा. बस्नेतले बताईन् ।
क्यान्सर रोगका सर्जन तथा अस्पताल प्रमुख डा.पुन्य खर्बुजाले अस्पतालमा शुरु भएको उपचार सेवा तीन महिनाको अवधीमा धेरै विरामीहरुले सेवा प्राप्त गरिसकेको बताए । ‘क्यान्सर रोगको उपचारसँगै नर्स तथा डाक्टरहरुलाई तालिम लगायतका आवश्यक पूर्वाधारको ब्यवस्थापन गरेका छौं’–डा. खर्बुजाले भने–‘हामी बार्षिक, दुई बार्षिक, त्रैबार्षिक र पञ्चबर्षिय योजना लिएर क्यान्सर रोगका बारेमा सम्पूर्ण उपचार गर्ने गरी तयारीमा जुटेका छौं ।’ शिर मेमोरियल अस्पतालमा बालबालिका सम्वन्धी, रगत क्यान्सर, रेडियोलोजी, प्याथोलोजी, भ्याक्सिन, सर्जरी, किमो थेरापी लगायतका क्यान्सरसँग सम्वन्धित सबै रोगहरुको उपचार सेवाका लागि आफ्नै भवन, अत्याधुनिक मेशिन र दक्ष जनशक्तिको ब्यवस्थापनमा जुटेको डा. खर्बुजाले बताए । नागरिकलाई सहज र सरल उपचारका लागि प्रयत्न गरिएको उनले बताए ।
नेपालमा बार्षिक १४ हजार नागरिकको क्यान्सर रोगका कारण निधन हुने गरेको छ भने बार्षिक २० हजार भन्दा धेरैलाई क्यान्सर रोगबाट संक्रमित हुने गरेको तथ्यांक सार्वजनिक गरेको छ । नेपाल अबुद्र्ध रोग निवारण संस्था काभ्रेका अध्यक्ष नेपाल सुधार भैलले शिर मेमोरियल अस्पताल र अबुद्र्ध रोग निवारण संस्थाले क्यान्सर रोगका विरामीहरुका लागि सहज र सरल ढंगबाट उपचार सेवा प्रदान गर्न पहल भएको बताए । साथै अध्यक्ष भैलले क्यान्सर रोगिहरुको उपचारका लागि क्यान्सर केयर वार्डमा भएका बेडहरुमा आवश्यक पर्ने अक्सिजन पाईपका लागि सहयोग गरिसकिएको बताए ।
शिर मेमोरियल अस्पतालमा तत्कालका १२ शैया क्यान्सरका बिरामीका लागि व्यवस्थापन गरिएको छ । क्यान्सर भए पछि हुने शारीरिक, मानसिक, आर्थिक तनाव कम गर्न घर परिवारका सदस्यहरुलाई समेत सहज हुने गरी नजिकै रहेको अस्पतालबाट सेवा लिन सक्ने गरी क्यान्सरको उपचार सुरु गरिएको अस्पतालमा कार्यरत डा. धुव कँडेलले विरामीहरुमा देखिएको समस्याबाट अस्पतालले सेवाको भावले क्यान्सरको उपचार सेवा सुरु गरेको बताए । ‘हरेक दिन बिरामीहरू अन्यत्र रिफर गर्नु पर्ने समस्या समाधान गर्न यो उपचार सेवा सुरु गरिएको हो’ – डा. कँडेलले भने–‘उपचारसँगै नागरिकहरुलाई क्यान्सरका बारेमा सचेतना फैलाउने अभियान शुरु गरिएको छ ।’ अहिले क्यान्सरको उपचार नीजि अस्पतालहरुमा पुग्दा महँगो हुने गरेको छ भने भएका अस्पतालहरु पनि समयमा उपचार सेवा दिन बिरामीको चापका कारण सकिरहेका छैनन । त्यही अवस्थालाई मध्यनजर गर्दै शिर मेमोरियल अस्पतालमा क्यान्सर सम्बन्धी रोगको उपचार सेवा सुरु गरिएको डा. कँडेलले बताए ।