हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्न प्रधानमन्त्री प्रचण्डको आह्वान
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्न असम्लग्न आन्दोलन (नाम)का सदस्य राष्ट्रहरूलाई आह्वान गरेका छन ।
‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ नारामा सुरु भएको ‘नाम’ को १९ औँ शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले हिमालयको आह्वानलाई समर्थन गर्न आह्वान गरेका छन । हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्नु साझा हितमा रहेको उनले बताए ।
पहाडहरू विश्वव्यापी जनसङ्ख्याको १५ प्रतिशत र पृथ्वीको जैविक विविधताको ५० प्रतिशतको घर उल्लेख गर्दै प्रधानमन्त्रीले सबै जीवित प्राणीहरूलाई यसले विश्वव्यापी सेवाहरू प्रदान गर्ने बताएका छन । हिमाली देश नेपालले हिमाल, हिमाली पारिस्थितिक प्रणाली र त्यहाँ बसोबास गर्ने जनताको संरक्षणका लागि वकालत गर्दै आएको उल्लेख गर्दै उनले जलवायु परिवर्तनको विनाशकारी प्रभाव कारण दरलाग्दो दरमा घट्दै गएको हिमनदीहरूका स्वरुप र यसले अरबौंको जीवन र जीविकोपार्जनमा ल्याउने अनगिन्ती पीडाको आफूहरु शाक्षी रहेको स्पष्ट पारेका छन ।
असम्लग्नताको मूल्य र सिद्धान्तप्रति हाम्रो प्रतिबद्धतालाई पुनः पुष्टि गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले साझा समृद्धिका लागि अत्यन्त इमान्दारी सद्भाव, ऐक्यबद्धता र सहयोगका साथ काम गर्नुपर्नेमा जोड दिएका छन ।