नेपालमा ४३ प्रतिशत मातृ मृत्युको कारण उपचार अभावमा
नेपालमा सुत्केरी र गर्भावस्थामा ज्यान गुमाउने (मातृ मृत्यु) मध्ये ४३ प्रतिशतले समयमै उपचार नपाउँदा यस्तो क्षति भोग्नुपरेको देखिएको छ । स्वास्थ्य सेवा विभागले राष्ट्रिय जनगणना, २०७८ अन्तर्गत ‘नेपाल मातृ मृत्यु अध्ययन’को विश्लेषणपछि यस्तो नतिजा देखिएको हो । मातृ मृत्यु तथ्यांकका आधारमा मृत्युको कारण पत्ता लगाइएको यो नै पहिलोपटक हो ।
२०७८ को जनगणनाका क्रममा पछिल्लो १२ महिनाको मातृ मृत्यु तथ्यांक संकलन गरिएको थियो । उक्त अवधिमा ६२२ सुत्केरी तथा गर्भवतीको मृत्यु पुष्टि भएकोमा २६५ जनाले उपचार नपाएर ज्यान गुमाएको खुलेको थियो । त्यस्तै, ३४६ जनाको स्वास्थ्य संस्थामा उपचारकै क्रममा मृत्यु भएको तथा ११ जनाको मृत्युको कारण नखुलेको मातृ मृत्यु अध्ययनको रिपोर्टमा छ ।
तथ्यांकअनुसार उपचार नपाएर भएको मातृ मृत्युमध्ये कोशीमा ४१, मधेशमा ५९, बागमतीमा १८, गण्डकीमा १४, लुम्बिनीमा ७०, कर्णालीमा २७ र सुदूरपश्चिममा ३६ जना छन् । विश्व स्वास्थ्य संगठनले गर्भावस्थामा वा बच्चा जन्मेपछिको ४२ दिनभित्र आमाको मृत्यु हुनुलाई मातृ मृत्युका रूपमा परिभाषित गरेको छ ।
बम
घरमै, अस्पताल लैजाँदा बाटोमै र एउटा स्वास्थ्य संस्थाबाट अन्यत्र रेफर गर्दागर्दै गर्भवती र सुत्केरीको मृत्यु हुने गरेको छ । खासगरी जटिल समस्याको उपचारका लागि पालिकास्तरको स्वास्थ्य संस्थामा सम्भव नहुनु र जिल्ला अस्पताल रेफर गर्दा निकै ढिला भइसक्ने भएकाले सुत्केरीको मृत्यु हुने गरेको हो । उपचार नपाएर ज्यान गुमाउनेमध्ये ४३ प्रतिशतमध्ये २६ प्रतिशतको घरमै, नौ प्रतिशतको अस्पताल लैजाँदै गर्दा बाटोमा र आठ प्रतिशतको एक स्वास्थ्य संस्थाबाट अन्यत्र रेफर गर्दागर्दै मृत्यु भएको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको तथ्यांक छ ।
समयमा उपचार नपाउँदा मातृ मृत्युदर अपेक्षाकृत रूपमा कम हुन नसकेको स्विकार्छन् परिवार कल्याण महाशाखाका निर्देशक डा। विवेककुमार लाल । ‘स्वास्थ्य संस्थामा लैजाने निर्णयमा ढिलाइ गर्ने, बाटोमै मृत्यु हुने र स्वास्थ्य संस्थासम्म पुर्याउँदा पनि स्वास्थ्यकर्मी तथा आवश्यक उपकरण र सुविधाको अभावमा मृत्यु हुने संख्या ठूलो छ, अपेक्षाकृत न्यूनीकरणमा चुनैती कायमै छ,’ उनले भने ।
दिगो विकासको लक्ष्यअनुरूप २०३० सम्म मातृ मृत्युदरलाई प्रति एक लाखमा ७० मा झार्ने लक्ष्य लिइएको छ । तर, राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालमा मातृ मृत्युदर प्रति एक लाखमा एक सय ५१ देखिएको छ । यसअघि २०१६ को जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण ९एनडिएचएस०अनुसार प्रति एक लाख जीवित जन्ममा मातृ मृत्युदर दुई सय ३९ जना थियो । गर्भपतनदेखि बच्चा जन्माइसकेपछि हुने उच्च रक्तस्राव, संक्रमण, उच्च रक्तचाप, गर्भपतन आदिका कारण गर्भवती र सुत्केरीको ज्यान गइरहेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ