गजल
सुदन तिमल्सिना
मेरा मनमा पीर ब्यथाका खाताहरू धेरै छन्
खाता लुकाउन लगाएका गाताहरू धेरै छन्
शान्त पार्न खोज्छु मनमा लागेको आगोलाई
उल्टो आगोमा घ्यु थपिदिने दाताहरू धेरै छन्
आँखाबाट बर्सिनेलाई पो छेक्न गार्हो हुने
माथिबाट बर्सिएको छेक्ने छाताहरू धेरै छन्
परेको समयमा सहयोग मात्र कम पाईने हो
रमझममा त रमाउन खोज्ने नाताहरू धेरै छन्
नबोल्ने मूर्तिहरू मात्रै हुने रहेछन मन्दिरमा
मेरो शहरमा त बोल्ने विधाताहरू धेरै छन्