उद्यम विकासको १७ औं स्थापना दिवसमा ११ जना उत्कृष्ट महिला उद्यमी सम्मानित
उद्यम विकास बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १७ औं स्थापना दिवस मनाएको छ । पनौती बसपार्क स्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गरी संस्थाले उत्कृष्ट महिला उद्यमी र पुर्व अध्यक्षहरुलाई सम्मान गर्दै स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसर पारेर ११ जना उत्कृष्ट महिला उद्यमी व्यवसायीलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा पनौतीमा कौंला छें सञ्चालन गरिरहनुभएकी रमा फाँछि श्रेष्ठ, वर्थ डे केक तथा व्यवसाय सञ्चालन गरिरहनुभएकी रस्मिता गुरुङ, टेम्पो चालक सुस्मिता थामी, भौसी पालन व्यवसाय गरिरहनुभएकी गोमा खत्री, बेकरी सामान फ्याक्ट्री सञ्चालक सुमि श्रेष्ठलाई सम्मान गरिएको छ । यस्तै टेलर व्यवसाय सञ्चालक सुनलक्ष्मि थिङ, कुचो बनाउने व्यवसाय गर्ने सुनमाया गोले, रिक्सा पसल व्यवसायी सुनिता मानन्धर श्रेष्ठ, गोलभेडा खती गर्ने संगिता श्रेष्ठ, मासु व्यवसायी शशिकला बुढाथोकी, पुजा सामाग्री पसल सञ्चालक भगवती अधिकारीलाई सम्मान गरिएको हो ।
कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सविन ताम्राकारको प्रमुख आतिथ्यता रहेको थियो । संस्थाका अध्यक्ष सनिल सुन्दर सैंजुको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन विमल कार्कीले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष सविता थापाले राखेकी थिइन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं पनौती नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सविन ताम्राकारले कुशल व्यवस्थापनका कारण उद्यम विकासले १७ वर्ष सफलतापुर्वक पार गरेको बताए । यसलाई निरन्तरता दिन उनको सुझाव छ । वडा अध्यक्ष ताम्राकारले सदस्यलाई सहकारी शिक्षा दिन समेत आग्रह गरेका छन् । यसले सहकारी र शेयरसदस्यबीच असल सम्बन्ध स्थापित गर्न सघाउने बताएका छन् । सहकारीकर्मीको काम, कर्तव्य र शेयरसदस्यको भुमिका बारे समय–समयमा छलफल हुनुपर्ने उनको भनाई थियो ।
उद्यम विकास साकोसका निवर्तमान अध्यक्ष एवं सल्लाहकार रोशन श्रेष्ठले हरेक वर्ष फरक–फरक तरिकाले स्थापना दिवस मनाउँदै आएको स्मरण गरेका छन् । सहकारीको नीति, नियम र सिद्धान्त पालना गरेकै कारण उद्यम विकासको छवि उचो भएको उनले बताए । सहकारीबाट लिएको ऋणको सहि सदुपयोग गर्न उनले शेयर सदस्यलाई आग्रह गरेका छन् । आजभन्दा १७ वर्षअघि सुरु भएको अभियान आज आफ्नो उदेश्यमा लम्कीरहेको संस्थापक अध्यक्ष सनत प्रसाद सापकोटाले बताए । उद्यम गर्यो भने मात्रै दिगो विकास हुन्छ भन्ने मान्यताका साथ संस्थाले काग गरिरहेको उनले बताए । नाफामुखी नभई उद्यमी केन्द्रित कार्यक्रम संस्थाको प्राथमिकता रहेको उनको भनाई छ ।
यस्तै संस्थाका अध्यक्ष सनिल सुन्दर सैंजुले अग्रजको मार्गनिर्देशन र योजना अनुरुप संस्थाले काम गरिरहेको बताए ।
विद्यार्थीको लागि वित्तिय साक्षरता कार्यक्रमलाई निरन्तरता दिइएको, युवा लक्षित युवा प्रेरणा कार्यक्रम, कृषक लक्षिक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले बताए । समिति–उप समितिलाई क्षमता अभिवृद्धि कार्यक्रम, सीपमुलक कार्यक्रम आयोजना गर्ने उनको भनाई छ । संस्थाको शेयर पुँजी ४ करोड ६६ लाख २० हजार रहेको छ भने कुल सम्पति ५६ करोड २७ लाख ७७ हजार ३ सय ४४ रुपैयाँ रहेको छ । संस्थामा ४ हजार ५ सय ७१ जना शेयरसदस्य रहेका व्यवस्थापक उत्तम श्रेष्ठले जानकारी दिएका छन् ।