जागिर खाने नाममा जहाँ पायो त्यहीँ जानु राम्रो होइनः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जागिर खाने नाममा देशको कानुन उल्लंघन नगर्न आग्रह गरेका छन्।
तीन दिने युगाण्डा भ्रमण सकेर आइतबार बिहान स्वदेश फर्किएका दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै रुस, युक्रेन जस्ता ठाउँमा नेपालीहरू सेनामा भर्ती भएको जानकारी प्राप्त भएको र जागिर खाने नाममा जहाँ पायो त्यहीँ नजान भनेका हुन्।
राज्यको नीति, संविधानको मर्म तथा लोकतान्त्रिक राष्ट्रिय स्वाधिनताको भावना विपरीत सेनामा भर्ती नहुन उनले आग्रह गरेका छन्।
रुसलाई युगाण्डा भ्रमणका क्रममा नेपाली युवा सेनामा भर्ती नगर्न र मृतकको क्षतिपूर्तिसहित शव फर्काइदिन आग्रह गरिएको दाहालले बताए। यद्यपि राज्यको नीति विपरीत गएको हुनाले भन्नेबित्तिकै रुसले मानिहाल्ने अवस्था नहुने दाहाल बताउँछन्।
युगाण्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रको १९औँ शिखर सम्मेलनमा भाग लिई प्रधानमन्त्री दाहाल आइतबार बिहान स्वदेश फर्किएका हुन्।
दाहाल माघ ४ गते राति युगाण्डा प्रस्थान गरेका थिए। सम्मेलनमा प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले आ(आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।
साथै, अल्पविकसित राष्ट्रलाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्न र समृद्धिको यात्रामा डोर्याउन आवश्यक सहयोग अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका थिए।