१९ वर्षमुनिको विश्व कप क्रिकेटःनेपालले न्युजिल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्दै

१९ वर्षमुनिको विश्व कप क्रिकेट प्रतियोगिता अन्तर्गत न्युजिल्यान्डविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । दक्षिण अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा न्युजिल्यान्डका कप्तान ओस्कर ज्याक्सनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपालको कप्तानी देव खनालले गरेका छन ।

नेपालले आठ वर्षपछि १९ वर्षमुनिको विश्वकप खेल्न लागेको हो । गएको फागुनमा १९ वर्षमुनिको एसिया डिभिजन–१ को उपाधि जित्दै नेपालले आठ वर्षपछि १९ वर्षमुनिको विश्वकपमा स्थान पक्का गरेको थियो । नेपालको समूह डी मा तीन टेस्ट टोली न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान छन् । हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् ।

नेपालले १९ वर्षमुनिको विश्वकप आठौँ पटक खेल्न लागेको हो । यसअघि नेपालले सन् २०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६ मा खेलेको थियो । नेपालले न्युजिल्यान्डसँग सन् २०१६ मा र २००६ मा गरी दुई पटक खेलेकोमा पछिल्लो खेलमा ३२ रन र पहिलो खेलमा एक विकेटले हराएको थियो ।

नेपालले १९ वर्षमुनिको विश्वकपअघि चार अभ्यास खेल खेलेको छ । जसमा नेपालले स्कटल्यान्ड र नामिबियालाई हरायो भने वेस्ट इन्डिजसँगको खेल वर्षाको कारण रद्द भएको थियो ।