निर्देशन कार्यान्वयन नभएकाेमा प्रधानमन्त्री असन्तुष्ट

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहालले पाँचौं पटक मेलम्ची खानेपानीको उद्घाटन गर्ने क्रममा गत सोमबार अब उप्रान्त २४ सै घण्टा पानी वितरणको व्यवस्था मिलाउन मातहतको निकायलाई निर्देशन दिए । जबकि राजधानीवासीका धारामा मुस्किलले सातामा एकाध पटक मात्रै पानी आउने गर्छ । वितरण प्रणालीको अवस्थाबारे ख्यालै नगरी उनले ठाडो निर्देशन दिएका थिए ।

त्यसको दुई दिनपछि नै असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिन बुधबार युगान्डा जानुअघि पनि दाहालले तीन वटा निर्देशन दिए । जसमा सहकारीमा देखिएका समस्या समाधान गर्न गृहमन्त्री, भूमिसुधार मन्त्रीलगायतलाई दिइएको निर्देशन पनि एक थियो ।

त्यसैगरी, प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुंग्याउन, भिजिट भिसा र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा दुःख नदिन पनि निर्देशन दिए । उनले १५ दिनभित्र समायोजनको प्रक्रिया टुंग्याउन भने पनि त्यसको कार्यान्वयनका लागि पुरानो प्रहरी ऐन संशोधन हुनुपर्छ । गृह मन्त्रालयले तयारी गरिरहे पनि निष्कर्षमा पुगिसकेको छैन ।

संघीयता कार्यान्वयनका लागि एक वर्षको अवधिमा प्रधानमन्त्री दाहालले पटक–पटक निर्देशनसहित प्रतिबद्धता जनाउँदै आएका छन् । तर त्यसका लागि संसद्मा अड्केर रहेका निजामती, केही नेपाल ऐन संशोधन विधेयक भने अघि बढ्न सकेको छैन । उनीनिकट स्रोतका अनुसार आफ्नो निर्देशन कार्यान्वयन नभएकामा दाहाल असन्तुष्ट छन् ।

तेस्रो पटक प्रधानमन्त्री हुनेबित्तिकै दाहालले राहदानी, वैदेशिक अध्ययन अनुमतिपत्र ९एनओसी०, चालक अनुमतिपत्रलगायत दैनिक सरकारी सेवामा हुने लाइन घटाउने प्रतिबद्धता जनाउँदै मातहतको संयन्त्रलाई निर्देशन पनि दिए । यीमध्ये राहदानीको लाइन कम भए पनि अन्यको अवस्था उस्तै छ ।