माओवादी केन्द्रको आम्दानी घट्यो

माओवादी केन्द्रको आम्दानी घटेको छ । पार्टीको आन्तरिक लेखापरीक्षणको वित्तीय विवरणअनुसार आम्दानी घटेको देखिएको हो । पार्टी सदस्यता, लेबी, नवीकरण, चन्दा, सहयोग, प्रकाशन बिक्री, बैंकको ब्याज गरी चालु आर्थिक वर्षमा ३ करोड ४८ लाख ४४ हजार ८ सय ४३ रुपैयाँ आम्दानी भएको वित्तीय विवरणमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षमा ९ करोड एक लाख ३६ हजार ६४ रुपैँया आम्दानी भएको देखिएको छ । मुख्यगरी पार्टीको अधिवशेन, सम्मेलन, प्रशिक्षण, निर्वाचन, कार्यालय संचालन र कर्मचारीको तलब गरी ३ करोड ८१ लाख ६० हजार ३ सय ६९ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ । विवरणअनुसार माओवादीको आम्दानीको मुख्यस्रोत सदस्यता शुल्क, नवीकरण र चन्दाबाट प्राप्त भएको देखिएको छ ।

जसअनुसार सदस्यता, लेबी र नवीकरणबाट तीन करोड ४३ लाख ८५ हजार ३ सय चार रुपैँया आम्दानी प्राप्त भएको छ । पार्टीलाई औपचारिक रुपमा जम्मा १० हजार मात्र चन्दा र सहयोग प्राप्त भएको उल्लेख छ । अघिल्लो आर्थिक वर्षमा जम्मा ५० हजार सहयोग पाएको देखिन्छ । पार्टीलाई भन्दा नेतालाई बढी चन्दा प्राप्त हुने भएकाले सहयोग गर्नेको सूची देखिएको छैन ।

चुनावका बेला उठाएको चन्दा पार्टीको खातामा आएको देखिँदैन । जसका कारण चन्दा र सहयोग एकदम न्यून देखिन्छ । पार्टीका प्रकाशन विक्रीबाट दुई लाख ९९ हजार ६ सय ८० रुपैयाँ आम्दानी गरेको छ ।