आयोजनाको समय र लागत नबढाउनुस्ः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राष्ट्रिय गौरवका आयोजनाको समय लम्बिँदै जाने र आयोजनाको लागत बढ्दै जाने प्रवृत्ति रोक्न गम्भीर हुनुपर्ने बताएका छन ।
सोमबार दिउँसो प्रधानमन्त्री कार्यालयको एक्सन रूमबाट सिक्टा सिंचाइ आयोजना र महाकाली सिंचाइ आयोजना (तेस्रो चरण) को अनुगमन गर्दै प्रधानमन्त्रीले निर्धारित समयमै आयोजनाको काम सम्पन्न गर्नुपर्ने बताएका हुन ।
प्रधानमन्त्रीले आफ्नो कार्यशैली बदलेर विकास र जनसेवाका काममा केन्द्रित हुन आयोजना प्रमुखहरूलाई निर्देशितसमेत गरेका छन।

अनुगमनपछि मुख्यसचिव बैकुण्ठ अर्यालले आयोजनामा देखिएका नीतिगत समस्या समाधानमा सरकारले ध्यान दिने बताउँदै आयोजना निर्माणको क्रममा फिल्डमा देखिने समस्या आयोजना प्रमुखहरूले नै समाधान निकाल्नुपर्ने बताएका छन।
एक्सन रूपबाट अनुगमनका क्रममा महाकाली सिंचाइ आयोजना ९तेस्रो चरण० का आयोजना निर्देशक कुशाङ्ग शेर्पाले आयोजनाको अवस्था, प्रगति बिबरण र समस्याहरूबारे ब्रिफिङ गरेका छन।
सो क्रममा शेर्पाले आयोजनाको निर्माण कार्य अगाडि बढिरहेको बताउँदै थप दायित्व नबढाई निर्धारित समयमै आयोजना सम्पन्न गर्न आफूहरू गम्भीर भएको बताए। उनले स्रोतको व्यवस्थापन र मुआब्जामा देखिएको वित्तीय चुनौती सम्बोधनका लागि सरकारसँग आग्रहसमेत गरेका छन।