रवि लामिछानेलाई दिएको पत्रको मिति बैंकले सच्यायो

ग्लोबल आईएमई बैंकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दिएको पत्रको मिति सच्याएको छ।

सहकारीको रकम व्यक्तिको खातामा ट्रान्सफर गरिएको सन्दर्भमा बैंकले पत्रको मिति सच्याएर पठाएको लामिछानेले ट्वीट गरेका छन्।

लामिछानेलाई सहकारीपीडितको पैसा चलाएको आरोप लागेपछि उनले सोमबार पत्रकार सम्मेलन गरेर त्यसको खण्डन गरेका थिए।

त्यसक्रममा उनले आफ्नो खातामा रकम ट्रान्सफर नभएको ग्लोबल आईएमई बैंकको पत्र पनि देखाएका थिए। सो पत्रमा उल्लेखित मिति फरक परेपछि उठेका प्रश्नको सामाजिक सञ्जालबाट जवाफ दिँदै रविले पछिल्लो घटनाको सम्पूर्ण विस्तृत निचोड आजै केही बेरमा लेखेर पोस्ट गर्ने बताएका छन्।

बैंकले रविलाई दिएको अघिल्लो पत्रमा ‘बैंकमा सञ्चालनमा रहेको खाता नं. ००३०७०१०००५९१३ मा रहेको १ करोड ८० लाखको चेक जम्मा भएको हुँदा सो रकम खातामा क्रेडिट गरिएको तर उक्त चेक ‘ईसीसी’मार्फत चेक क्लियरेन्समा पठाउँदा पर्याप्त पैसा ‘इनसफिसेन्ट ब्यालेन्स’का कारण फिर्ता भएको हुँदा सो खातामा पैसा जम्मा नभएको व्यहोरा जानकारी गर्दछौँ’ पत्रमा उल्लेख छ।