राष्ट्रिय सभा निर्वाचनः कोशीमा एमाले र राप्रपाबीच तालमेलको लिखित सहमति

राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सहकार्य गर्ने सहमति भएको छ ।
एमालेले अन्य तर्फका उम्मेदवार परशुराम अधिकारीलाई ब्याक गराएर राप्रपाका उद्धव पौडेललाई सहयोग गर्ने सहमति भएको हो ।
एमालेले अब अन्यतर्फ राप्रपाका पौडेललाई सहयोग गर्ने र महिलातर्फ एमालेकी रुक्मिणी कोइरालालाई सहयोग गर्ने दुई दलबीच सहमति जुटेको हो ।
केन्द्रीय तहबाटै भएको निर्णयअनुसार अब कोसी प्रदेशको सिटमा हुने राष्ट्रिय सभाको निर्वाचनमा एमालेका ४२१० मतभार राप्रपा उम्मेदवार उद्धव पौडेलको पक्षमा खस्नेछन् भने एमाले उम्मेदवार रुक्मिणी कोइरालाले पनि राप्रपाका ३९४ मत प्राप्त गर्नेछिन्।
प्रदेश सभाका ६ जना सदस्य र ४ स्थानीय तहका प्रमुख–उपप्रमुख रहेको कोसीमा राप्रपालाई उम्मेदवारी दर्ताका लागि प्रस्तावक–समर्थकको अभाव थिएन। तर, उसले पुरुषको खाली सिटमा मात्र उम्मेदवारी दर्ता गराएको थियो।
प्रदेशमा एमालेको मतभार ४२१० र राप्रपाको मतभार ३९४ गरी जम्मा ४६०४ मतभार छ। सत्ता गठबन्धनतर्फ भने कांग्रेसको ३७२२, माओवादी केन्द्रको १२७८, एकीकृत समाजवादीको ३४५ र जसपाको १२९ गरी कूल मतभार ५४६८ छ। अर्थात् ८ सय ८४ मतले यहाँ सत्ता गठबन्धन एमाले–राप्रपा गठबन्धनभन्दा अगाडि छ।