राष्ट्रकै गौरवको आयोजना, ‘सुरक्षण मुद्रण प्रेस’ निर्माण अलपत्र(भिडियो)




नेपाललाई आत्मनिर्भर बनाई अन्तर्राष्ट्रिय बजारमा आकर्षण विन्दुका रुपमा सुरक्षण मुद्रण केन्द्रलाई विकास गर्ने सरकारको दूरदृष्टिअनुरुप संयन्त्रले काम शुरु गरेको हो । सुरक्षण मुद्रणलाई राष्ट्रिय गौरवको विषयका रुपमा समेत लिइन्छ । सुरक्षण मुद्रणसम्बन्धी नीति योजना, बजेट तथा कार्यक्रम स्वीकृत र भौतिक पूर्वाधार निर्माणका साथै राहदानी र स्मार्ट कार्डको पर्सनलाइजेसन तथा सुरक्षण मुद्रणसम्बन्धी आवश्यक अध्ययन र तालीम प्रशिक्षण पनि सञ्चालन गरिएको छ ।
के हो सुरक्षण मुद्रण ?
भौतिक सुरक्षा र प्रणालीगत सुरक्षासहित मुद्रण कार्यमा अपनाइने सुरक्षण पद्धति विशिष्ट प्रकारको सुरक्षण मुद्रण मानिन्छ । यस प्रणालीमा बैंक नोट, राहदानी, हुलाक टिकटजस्ता अति संवेदनशील छपाइ गर्दा कसैले पनि नक्कल वा चोरी गर्न नसक्ने तथा गोप्यता चुहावट गर्न नसक्ने गरी आन्तरिक सुरक्षा अपनाइएको हुन्छ । यो सामान्य मुद्रणभन्दा फरक हुन्छ । निश्चित समयसम्मका लागि छपाइ सामग्री सुरक्षित वा गोप्य राख्नुपर्ने र उक्त समयपछि छपाइ सामान्य सामग्री बन्ने प्रकृतिका छपाइ सामग्री यसअन्तर्गत पर्छन् । यस्तो प्रेसका लागि चारैतिर पर्खालले घेरिएको, काँडेतार बार लगाएको, भित्र छिर्ने द्वार एउटा मात्र भएको, उक्त द्वारमा इ–गेटसहितको अत्याधुनिक सुरक्षा प्रविधिजडित भवन आवश्यक पर्छ । भवनको परिसरलाई सिसीटिभीबाट निगरानी गरिन्छ ।