नेपाली कांग्रेसका नेताहरू गाउँ पस्दै, ‘समुदायमा कांग्रेस’ अभियान माघ १३ देखि सुरु हुने

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पहिलो चरणमा १३ दिन ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । यस अभियानका क्रममा शीर्ष तहदेखि वडा तहसम्मलाई एक साथ परिचालन गर्ने योजना कांग्रेसले बनाएको छ ।
कांग्रेसले यो अभियानका लागि पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय र उपसभापतिद्वयसहित सबै नेतालाई परिचालन गर्न लागेको हो । अभियानअन्तर्गतको पहिलो दिन आफू झापाको भद्रपुर नगरपालिका–५ मेचीपुल भन्सारमा पुग्ने महामन्त्री गगनकुमार थापाले बताएका छन । यसअघि कांग्रेसले यो अभियान १६ पुसदेखि १६ माघसम्म वडा तहसम्म चलाउने जनाएको थियो । तर पार्टीको महासमिति बैठक फागुनमा सरेसँगै यो अभियान पनि एक महिना धकेलिएको हो ।
अभियानका लागि ७७ वटै जिल्लामा प्रतिनिधि खटिँदैछन । गत साउनमा बसेको केन्द्रीय समिति बैठकले भदौ १० देखि २४ सम्म ‘समुदायमा कांग्रेस’ अभियान गर्ने निर्णय गरेको थियो । तर पटक पटक स्थगित भइरहेको अवस्थामा यस पटक चाहिँ कांग्रेस नेताहरू गाउँ पस्ने पक्का भएको हो । महामन्त्री थापाले संगठनका काम र समुदायसँग जोडिने काम यो अभियानका क्रममा एकसाथ हुने बताए।