अरनिको राजमार्गमा गाडी हाँक्ने अधिकांश चालक सुगर र प्रेसरका बिरामी

विकास तिमल्सिना
काभ्रे । अरनिको राजमार्ग भएर गुड्ने सवारी साधनका अधिकांश चालक तथा सह–चालक सुगर र प्रेसरका विरामी रहेको पाइएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको आयोजना र कम्युनिटी वेलनेश सेन्टर बनेपाको प्राविधिक सहयोगमा गत सोमबार बनेपामा चालक र सहचालकको स्वास्थ्य परिक्षण गरिएको थियो । दुर्घटना न्यूनीकरणको लागि अरनिको राजमार्ग हुदै सञ्चालन भएका सवारी साधनहरुका चालक र सह–चालकको मधुमेह (सुगर), उच्च रक्तचाप (प्रेसर) जाँच गरिएको हो । सो क्रममा ७४ जनाले स्वास्थ्य जाँच गराएका थिए । स्वास्थ्य परिक्षणबाट प्राप्त नतिजाले अधिकांश चालक सह–चालक सुगर र प्रेसरका विरामी रहेको देखाएको छ । स्वास्थ्य जाँच गराएका मध्ये १५ जनामा उच्च रक्तचाप देखिएको छ भने १२ जनामा सुगर देखिएको कम्युनिटी वेलनेश सेन्टर बनेपाले जनाएको छ । दुर्घटना बढ्दै गएको तथा चालक सहचालकले राम्रो व्यवहार नगरेको गुनासो सर्वसाधारणले गर्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले स्वास्थ्य जाँच सुरु गरेको थियो ।

स्वास्थ्य परिक्षणबाट अधिकांश चालक सहचालकमा उच्च रक्तचापको समस्या देखिएको जिल्ला ट्राफिक प्रमुख जनार्दन घिमिरेले बताए । विहान ४÷५ बजेदेखी बेलुका ९÷१० बजेसम्म झण्डै १८ घण्टा सवारी चलाउँदा राम्रो निन्द्रा नपर्ने, खाना खाने समय नमिल्ने लगायतका कारण उनीहरुको स्वास्थ्यमा समस्या देखिएको उनले बताए । दैनिक सडकमा धुलो धुँवासँग खेलिरहँदा पनि स्वास्थ्यमा समस्या देखिएको उनले बताएका छन । कम्तीमा महिनामा एक पटक चालक सहचालकको स्वास्थ्य परिक्षण गर्ने योजना बनाइएको उनले जानकारी दिए ।
चालकको स्वास्थ्य राम्रो भएमात्रै राम्रोसँग सवारीसाधन चलाउन सकिने सीडब्लुसी का डा. सुमित प्रजापतिले बताए । सबैको स्वास्थ्य राम्रो हुन जरुरी भएपनि दिनभर सयौं यात्रुलाई गन्तव्यमा पुर्याउन खटिने चालकले आफ्नो स्वास्थ्य बारे झनै ख्याल गर्नुपर्ने उनको भनाई छ ।
सवारी दुर्घटना न्यूनीकरणका लागी चालकको स्वास्थ्य अवस्थासँगै सवारीसाधनको चेकजाँच महत्वपुर्ण हुने ट्राफिक प्रमुख घिमिरेले बताएका छन ।