बालश्रममुक्त वडा घोषणाका लागि पनौती–४ मा समन्वय समिति गठन

पनौती नगरपालिका वडा नम्बर ४ मा वडा स्तरिय समन्वय समिति गठन भएको छ । बालश्रममुक्त वडा घोषणाका लागि वडा अध्यक्ष दिपकप्रसाद दाहालको संयोजकत्वमा वडास्तरीय समन्वय समिति गठन गरिएको हो । समितिमा कार्यपालिका सदस्य राधिका विश्वकर्मा, वडा सदस्य सविता थापा, कुमार बस्नेत, प्रकाश बञ्जारा, वडा सचिव कृष्णकाजी श्रेष्ठ, पनौती प्रहरी चौकी प्रमुख कुलबहादुर कुँवर, स्थानीय सुभाष बञ्जारा, नारायणकृष्ण श्रेष्ठ, सनिल श्रेष्ठ, वडा बाल सञ्जाल अध्यक्ष पुरव बञ्जारा, मन्जु घिमिरे थापा, कुसुम तिमल्सिना, शरण कार्की, पत्रकार विकास तिमल्सिना सदस्य रहेका छन् । यस्तै समितिको सदस्य सचिवमा बालमैत्री सहजकर्ता ललिता धिताल रहेकी छन् ।

समितिले वडास्तरमा बालश्रममुक्त वडा घोषणा गर्नको लागि गरिने कार्यहरुमा आवश्यक सहयोग तथा समन्वय गर्ने, बालश्रम विरुद्ध प्रचारप्रसार गर्ने, बालश्रममुक्त वडा बनाउनका लागि तय भएका सुचक पुरा गरी नगरमा पठाउनका लागि वडा समितिमा सिफारिस गर्ने लगायतका काम गर्नेछ । बालश्रममुक्त वडा बनाउनका लागि संघसंस्थासँग समन्वय गर्ने लगायतका काम पनि समन्वय समितिले गर्नेछ ।
फागुन दोस्रो हप्ताभित्र बालश्रममुक्त वडा घोषणा गर्ने तयारी
२०८० फागुन दोस्रो हप्ताभित्र पनौती नगरपालिका वडा नम्बर ४ लाई बालमैत्री वडा घोषणा गर्न पहल गर्ने समेत समितिले निर्णय गरेको छ । अन्तराष्ट्रिय श्रम संगठन आइएलओको सहकार्य र पनौती नगरपालिकाको आयोजनमा नगरपालिकालाई नै बालश्रममुक्त नगर बनाउने अभियान सञ्चालन भइरहेको छ । यसै अन्तर्गत वडाले पनि तयारी थालेको हो । २०८० असोज १० गतेदेखी २५ गतेसम्म वडा नम्बर ४ अन्तर्गतका घर, पसल, ग्यारेज, हार्डवेयर, रिसोर्टहरुमा तथ्यांक संकलन गरिएको थियो । सो क्रममा ८ जना बालश्रमिक रहेको फेला परेको थियो । उनीहरु मध्ये केहिलाई विद्यालयमा भर्ना गरिएको र कतिपयलाई सम्झाई वुझाई गरिएको बालमैत्री सहजकर्ता ललिता धितालले बताइन् । उक्त स्थानमा पुनः अनुगमन गर्ने निर्णय समेत समन्वय समितिले गरेको छ ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष दाहालले बालश्रम अन्त्यलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए । स्थानीयले आफ्ना बालबालिका श्रममा लगाएको फेला नपरेको भन्दै अरुलाई पनि कानुनसम्मत रुपमा काम गर्न वडा अध्यक्ष दाहालले आग्रह गरेका छन् । बालश्रम अन्त्य गर्ने कार्य चुनौतीपुर्ण रहेपनि पुरा गरेरै छाड्ने उनको प्रतिवद्धता छ । यस्तै वडा बाल सञ्जाल अध्यक्ष पुरब बञ्जाराले बालश्रम र बाल काम बारे वुझाउन जरुरी रहेकोमा जोड दिएका छन् ।