भालेश्वर माविमा राजु केसीले स्थापना गरे पत्नीको स्मृतिमा ७ लाखको अक्षयकोष
पनौती नगरपालिका वडा नम्बर ८ स्थित भालेश्वर माध्यमिक विद्यालयमा ७ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । पनौती नगरपालिका वडा नम्बर ८ निवासी राजु केसीले उनका धर्मपत्नी स्व. तुलसा केसीको स्मृतिमा ७ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन । विद्यालयमा अध्ययनरत गरिब, जेहन्दार विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री लगायत आवश्यक सामाग्रीका लागि वार्षिक रुपमा व्याज प्राप्त हुनेगरी ७ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको केसीले बताए । कोषको रकम विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र केसी, प्रधानाध्यापक रामचन्द्र थापा र शिक्षक अभिभावक संघका अध्यक्ष सन्तोष केसीलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको छ ।
यससँगै विद्यालयमा ४ जना शिक्षाप्रेमी तथा शुभेच्छुकले ११ लाखभन्दा बढीको अक्षयकोष स्थापना गरेका छन् । गंगा कुमारी खत्रीले १ लाख ५१ हजारको अक्षयकोष स्थापना गरेसँगै विद्यालयमा अक्षयकोषको सुरुवात भएको थियो । त्यसपछि गीता तिमल्सिनाले १ लाख ५१ हजार र प्रदिप केसीले १ लाख १ हजारको अक्षयकोष खडा गरेका छन् । कोष मार्फत प्राप्त रकमले जेहन्दार, गरिव विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने गरिएको प्रधानाध्यापक थापाले बताए । विद्यालयको वार्षिकोत्सवको अवसरमा छात्रवृत्ति प्रदान हुँदै आएको छ । भालेश्वर मावि जिल्लाकै नमुना सामुदायिक विद्यालयको रुपमा परिचित छ ।