सहयोगको लागि एनआरएन सदैव तयार
बिष्णु घिमिरे साउदी
एनआरएन मध्यपुर्व क्षेत्रीय संयोजक राजेन्द्र अर्यालले बैदेशिक रोजगारीमा गएर अलपत्र परेका नेपालीहरुको उद्दारका लागि एनआरएन मध्यपूर्व सदैव तयार रहेको बताएका छन । उनले हाल केन्द्रीय स्तरमा देखिएको समस्या र बिवादलाई परराष्ट्र ,नेपाल सरकार तथा सम्बन्धित एनआरएन नेतृत्वले चाडै छलफल गरि एक एनआरएन बनाउनेमा आफु ढुक्क भएको समेत बताए ।
साउदी लगायत मध्यपुर्वमा रहेको संस्थालाई आवश्यकता अनुसार थप छलफल गरि सबैलाई श्रमिकको हकहितको लागि काम गर्न र श्रमिक समस्या समाधानमा आफु सदैव लागेर एक एनआरएन बनाउने उनले बताए । हाल केन्द्रीय स्तरमा देखिएको मतभेदका कारण मध्यपुर्बमा रहेका संस्थामा समेत असर परेकोले नेतृत्व र सदस्यहरुबीच छलफल भइरहेको र सबैजनालाई एउटै संस्थामा आवद्ध गराउने उनको भनाई छ । साथै बैदेशिक रोजगारीमा गएर अलपत्र परेका नेपालीहरुलाई आगामी दिनमा आर्थिक सहयोग संगै कानुनी उपचारमा समेत सहयोग गर्ने उनले बताए ।
एनआरएन आरसीसी क्षेत्रीय समिति रियादले संघको ११औ महाधिवेशबाट २०२३-२०२५ का लागी मध्यपूर्व संयोजकमा बिजय भएका अर्यालाई बधाई तथा सम्मान कार्यक्रममा राखेको थियो । कार्यक्रममा उपस्थित सामाजिक संघसंस्थाका प्रतिनिधिहरुले अर्यालको नेतृत्व र मध्यपूर्वमा गरेको कामको प्रशंसा गर्दै सफल कार्यकालको शुभकामना आदानप्रदान गरेका थिए। संघको ११औ महाधिवेशबाट २०२३–२०२५ का लागी आइसिसी सदस्य चुनिएका दिपक रेग्मीले हालका एनआरएनको अवस्था देखेर आफू कुन प्यानल वा कुन पार्टीको सदस्य हु भनेर भन्न समेत अप्ठ्यारो परिस्थिति भएकोले जति सक्दो चाँडो केन्द्रीय स्तरमा एक एनआरएन हुनुपर्नेमा जोड दिएका थिए ।
रियाद क्षेत्रीय संयोजक महेश घिमिरेले संघको ११औ महाधिवेशनमा पराजित भएर आफूहरुलाई हुईप जारि गरेर हराएको भन्ने गलत समाचारको खण्डन समेत गरेका थिए । साथै एनआरएन एक साझा संस्था भएका कारण सक्षम व्यक्ति जो कोहीले पनि चुनाव जित्न सक्ने बताए ।
कार्यक्रममा आरसीसी रियादका क्षेत्रीय सहकोषाध्यक्ष सन्जोग पाण्डेलाई कामको आधारमा सम्मान सहित एनआरएन एनसीसी सदस्यमा चयन भएका थिए भने सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो ।