राष्ट्रिय सभामा फेरियो दलीय हैसियत, माओवादी पहिलो हुँदा एमाले तेस्रो

राष्ट्रिय सभाका १९ जना सदस्य चयनका लागि भएको चुनावको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक मत परिणाम अनुसार माओवादी केन्द्र पहिलो दल हुँदा अहिले पहिलो रहेको एमाले तेस्रो दल बनेको छ ।

१९ सिटका लागि भएको चुनावमा कोशीमा एक जनाबाहेक सबैतिर अर्थात् १८ जना सत्ता गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । कोशीमा सत्ता गठबन्धनबाट माओवादीकी चम्पा कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला विजयी भइन । तर कोशीमै गठबन्धनकै उम्मेदवार नेपाली कांग्रेसका कृष्ण सिटौलाले भने राप्रपाका उद्धव पौडेललाई हराएका छन । सिटौला पौडेलभन्दा ७ सय ३० धेरै मतभारले विजयी भएका छन । 

मधेस प्रदेशको दुई सिटमा गठबन्धनका उम्मेदवार कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भएकी छन । बाग्मतीमा सत्ता गठबन्धनकै चार जना उम्मेदवार विजयी भएका छन् । महिलातर्फ कांग्रेसकी विष्णुदेवी पुडासैनी, अन्यतर्फ कांग्रेसकै जितजङ्ग बस्नेत, अपाङ्गतातर्फ माओवादीका कृष्णप्रसाद अधिकारी र दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल विजयी भएका छन ।

गण्डकी प्रदेशमा पनि गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् भने लुम्बिनी प्रदेशबाट सत्ता गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन् । यस्तै कर्णालीमा पनि गठबन्धनका तीनै जना उम्मेदवार विजयी भए । सुदूरपश्चिममा पनि गठबन्धनकै तीन जना उम्मेदवार विजयी भएका छन ।

सातै प्रदेशमा प्रदेश सभाका ५ सय ४९ जना प्रदेश सभा सदस्य रहेकामा ५ सय ४६ जनाले मत हालेका छन् । यस्तै पालिकाका प्रमुख र उपप्रमुख गरी १४ सय ९७ जना मतदाता रहेकामा १४ सय ८६ जनाले मत हालेका निर्वाचन आयोगले जनाएको छ ।

चर्चामा रहेका तीन जना स्वतन्त्र मेयरहरूले मतदान गरेनन् । काठमाण्डौ महानगरका मेयर बालेन्द्र शाह, धनगढी उपमहानगरका गोपी हमाल र धरानका मेयर हर्क साम्पाङ राई मतदानमा सहभागी भएनन् ।