काभ्रेको सिम्थलीमा दलित महिलासँग विवाह गरेको भन्दै रोकियो श्राद्ध

भुम्लु, काभ्रे/.दलित महिलासँग विवाह गरेर अछुतो भएको भन्दै भुम्लु गाउँपालिका वडा नम्वर २ सिम्थलीका एक परिवारले पितृको श्राद्ध गर्न पाएनन् । स्वस्थानी पुर्णिमाको दिनमा पर्ने श्रीमानको तिथी गर्न अघिल्लो दिन एक छाक खाएर बसेका परिवारले ब्रम्हाण नआएकै कारण तिथी गर्न नपाएको बताएका छन् ।
‘श्रीमानको तिथीको अघिल्लो दिन हिन्दु धर्म अनुसार म सहित दुई छोरा र बुहारीहरु एक छाक बस्यौं’–श्रीमती गंगादेवी भण्डारीले भनिन–‘अघिल्लो वर्ष छोरा बुहारी अलग्गै बसेका थिए । छुवाछुत भएन । यो वर्ष तिमी छोरा बुहारीकोमा गएर अछुतो भयौं । त्यो घरमा श्राद्ध गर्न मिल्दैन । म आउँदिन भन्दै दिनभर कुराए ।’ ब्रम्हाण माधवराज न्यौपानेले गंगादेवी भण्डारीलाई घर बाहेक अन्यत्र श्राद्ध गर्न आउन भनेका थिए । ‘मैले मेरो श्रीमान यहि घरमा वित्नु भयो । म बाँचुञ्जेल यहि घरमा नै श्राद्ध गर्छु भनेर कतै नजाने भनें’–गंगादेवीले भनिन–‘ब्रम्हाण माधवराज न्यौपानेले मेरो छोरा धर्मध्वजले स्थानीय देवकी विश्वकर्मासँग विवाह गरेर मेरो परिवार अछुतो भयो भन्दै श्राद्ध गर्न आउन मानेनन् । शुरुमा फोनमा र पछि भेटेरै उनलाई हाम्रो घरमा तिथी छ भन्दै खवर गरेका थियौं । तर आएनन ।’ पुर्णिमाको दिन २०८० माघ ११ गते विहिबार श्राद्धका लागि दिनभर भोकै बसेर कु¥यौं, अघिल्लो दिन एक छाक खाएर बस्यौं’–छोरा धर्मध्वजले भने–‘मैले देवकीसँग विवाह गरेका कारण ब्राम्हण माधवराज न्यौपाने घरमै आउन्न भने । ब्रम्हाण नआए पनि हामीले बुबालाई सम्झियौं । ठाडो सिदा दियौं र साँझ परे पछि खाना खायौं ।’

दलित महिलासँग विवाह गरेकै कारण तिथीमा परेको श्राद्ध गर्न नगएको भन्ने विषयमा ब्रम्हाण माधव न्यौपानेलेले अनविज्ञता प्रकट गरे । ‘म काठमाडौमा बस्छु । यता आए श्राद्ध गरिदिन्छु भनेको हुँ, उता जान भ्याईन । धेरै पहिला देखि नै आउँदिन भनेको थिएँ’–ब्रम्हाण न्यौपानेले भने–‘दलितसँग विवाह गरेका आधारमा श्राद्ध गर्न नगएको होईन ।’ साविक सिम्थली गाविस हाल भुम्लु गाउँपालिका वडा नम्वर २ सिम्थलीमा रामबहादुर भण्डारीको २०७६ माघ १५ गते निधन भयो । उनको श्रीमती ७२ बर्षिया गंगादेवी भण्डारी एकल महिला छिन् । दुई छोरा मध्ये धर्मध्वज भण्डारीले प्रेम पछि मागि विवाह गरेका थिए । २०७७ असार २२ गते धर्मध्वज भण्डारीले देवकी विश्वकर्मासँग विवाह गरे । देवकी २०६३ साल देखि सोहि वडामा रहेको श्री बाल उन्नती आधारभुत विद्यालयमा शिक्षण पेशा गर्थिन । शुरुमा नीजि श्रोतमा काम गरेकी देवकीले शिक्षकको लाईसेन्स हुँदै शिक्षक सेवा आयोगले लिएको परिक्षामा स्थायी रुपमा नाम निकाल्न सफल भईन् । धर्मध्वज गाडी चलाउँदै आएका थिए । गंगादेवी र रामबहादुरका दुई छोरा मध्ये जेठा थिए धर्मध्वज । कान्छो छोराको परिवार नै बनेपामा बस्दै आएका छन् । गाडी चलाउँदै आएका धर्मध्वज र देवकी विच प्रेम सहितको मागि विवाह भए पछि उनिहरु आफ्नै पेशा गर्ने भन्ने योजनामा रहे ।

स्थायी शिक्षक भए पछि केहि सहज भयो उनिहरुलाई । गाडी चलाउन छाडेर धर्मध्वज र देवकीले बाँकी रहेको समयमा २५ रोपनी जमिन भाडामा लिएर बाख्रा पालन शुरु गरे । यता गंगादेवी एक्लै बस्न थालिन । घर परिवारको सल्लाहमा नै उनिहरु ब्यवसायमा संलग्न भएका थिए । एकल महिला भएकाले केहि असहज हुँदा छोरा बुहारी नै आउने गरेका थिए । अघिल्लो वर्षसम्म ब्रम्हाण माधवराज न्यौपानेले श्राद्ध गरिदिएका थिए । तिनपुस्ता देखि उनिहरुकै परिवारका सदस्यले तिथी सराद चलाउँदै आएको भए पनि यो पटक गंगादेवी विरामी भएर असोज महिनामा छोरा बुहारीले राखेको बाख्रा फार्ममा गएर केहि दिन बसेर फर्किए पछि उनलाई अछुतको ब्यवहार हुन थाल्यो । छिमेकीहरु पनि पहिलाको जस्तो बोल्न छाडिदिए । भैसी र केहि बाख्रा पाल्दै आएकी गंगादेवीले अहिले दुईवटा बाख्रा मात्रै पाल्दै आएकी छिन् । ‘छिमेकीहरुको छि छि र दुर दुर त सहेकै थिएँ, श्रीमानको श्राद्ध पनि गर्न पाईन’–उनले भनिन् । छोराले दलित केटीसँग विवाह गरेकोमा भने गंगादेवी खुशी छिन् । भन्छिन –‘खोलाको पानी सरह हो । सबै मान्छे समान छन् । तर गाउँलेले दलितलाई छोएर आएको भनेर म त्यहि बाटो हिड्दा समेत दुबो समेत मर्छ भन्ठाने ।’ यस्तो छुवाछुत गर्न पाईन्छ ? उनले प्रश्न गरिन् ।