श्री स्वस्थानीको महिमा बोकेको पनौती भालेश्वर (भिडियो सहित)
विकास तिमल्सिना
पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । यो क्रम हिजो विहिबारबाट सुरु भएको छ । यो अवधिमा देशका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । शक्तिपीठहरुमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा पूजा आराधना गर्ने गरिन्छ । अहिले वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन भइरहेको छ । यहि प्रसंगसँग जोडिएको छ पनौती भालेश्वर । पनौती नगरपालिका वडा नम्बर १२ स्थित भालेश्वर महादेवको मन्दिरमा भक्तजनको भीड लाग्न थालेको छ । पछिल्ला वर्षमा भालेश्वर महादेव मन्दिर खोज्दै विभिन्न ठाउँबाट भक्तजन आउनेगरेको ६५ वर्षदेखी पुजाआजा गर्दै आउनुभएका पुजारी माधव जंगमले बताए । उनका अनुसार १८७१–१८७९ को समयमा रोशीमा भालेश्वर पत्ता लागेको विभिन्न धार्मिक ग्रन्थ, शिलालेखबाट जानकारीमा आएको छ ।
गीर्वाणयुद्ध विक्रमको पालामा स्थानीय गुठीयारले हामी आफैं बनाउँछौं भनेर भालेश्वर मन्दिर निर्माण थालेको तथ्य फेला परेको पुजारी जंमले जानकारी दिए । त्यो समयमा इट्टा र सुर्किको प्रयोग गरेर मन्दिर निर्माण गरिएको थियो ।
२०५४ सालमा उक्त मन्दिर भत्कियो । त्यसपछि २०५६ साल मंसिरमा मन्दिरको पुनःनिर्माण थालिएको थियो । सोही वर्षको फागुनमा पुरानै शैलीमा मन्दिर निर्माण गरिएको थियो । २०७५ सालमा सप्ताह आयोजना गरि तामाको छानो हालिएको थियो । त्यसपछि स्थानीय सरकारको पहलमा ढुंगा छाप्ने, घट्टदेखी मन्दिरसम्म सिँढी निर्माण, ढुंगे धारा निर्माण लगायतका कार्य भएका छन् ।
भालेश्वर महादेवको धार्मिक र ऐतिहासिक महत्व
रोशमती, लिलावती, सुखसर्वावतीको संगम र अतिउत्तम त्रिवेणीधामको समिपमा भालेश्वर मन्दिर रहेको छ । रोशमती पश्चिमबाट पुर्व बगेको छ भने लिलावी उत्तरबाट दक्षिण हुँदै रोशमतीसँग संगम भएर पुर्व र सुखसर्वावती पुर्वबाट पश्चिम फर्केर निस्कँदै दुई नदिमा मिसिएको छ । तीन नदि संगम भएर पुर्व बगेका छन । तीन नदिको संगममा भालेश्वर मन्दिर रहेको छ ।
श्रीस्वस्थानी व्रतकथा अनुसार महादेवले मृत सतिदेवी बोकेर हिँड्दा हिँड्दै भालेश्वरमा आइपुग्दा भाल अर्थात तालु पतन भएको थियो । श्री स्वस्थानीमा भालेश्वरको महिमा उल्लेख छ । भाल पतन भएको स्थानलाई श्रीपिठ, कमलेश्वर र भालेश्वरको नामले वर्णन गरिएको छ ।
सुमुख नाम गरेका गन्दर्भ स्वर्गमा श्राप परेपछि तपस्या गर्नका लागि पृथ्वी लोकमा आएका रहेछन् । भालेश्वरमा तपस्या गरेपछि मुक्ति मिल्छ भनेपछि उनी यहाँ आइपुगे । गालभ ऋषीले यहाँ आएर सुमुख नाम गरेका गन्दर्भलाई भने, हेर गन्दर्भ तिमीलाई शिवले झुक्याउनेछन् । तिमीले कठोर तपस्या गरेको देखेर झुक्याउनेछन् । तिमी ३ निमेशमा त्रिवेणी गन्दर्भ तीर्थमा स्नान गरेर चलाख भएर तपस्या गर, तिमीलाई शिवले झुक्याउनेछन् होस् गर ।
शिव झुक्याउनेनै गरी त्याहाँ आइपुग्नुभयो । तर झुक्याउन सक्नुभएन र सुमुख नाम गरेका गन्दर्भले प्रत्यक्ष शिवको दर्शन पाए । तिमीलाई झुक्यान भनेर आएको झुक्याउन सकिन, तिमिदेखी खुसी भएँ । तिम्रो इच्छा पुरा भयो के माग्छौ वर माग भनेर शिवले भन्नुभएछ । गन्दर्भले चाँही तपाइँकै दर्शनाको मात्रै मलाई खातिर थियो । अरु केहि माग्ने इच्छा नै थिएन उनले भने । त्यसैले भालेश्वरमा दर्शन गर्नेको इच्छा पुरा हुने जनविश्वास छ ।
सन्तान नहुलेलाई सन्तान लाभ भएको, बोली नखुलेकाहरुको बोली खुलेको पुजारी जंगम बताउँछन । सन्तान प्राप्तिका लागि, बोली बन्द भएकाहरु बोली खुलाउन भन्दै भालेश्वर महादेवको दर्शनका लागि आउने गरेका छन । भालेश्वर महादेवको दर्शनले चिताएको कुरा पुरा हुने जनविश्वास छ । मन्दिर वरपरि विभिन्न विपत्ति आउँदा पनि मानव, पशुपक्षिंलाई केहि नभएका कारण भालेश्वर माहादेवमा अपार शक्ति रहेको स्पष्ट हुने भक्तजनको वुझाई छ ।
यद्यपी मन्दिर ओझेलमा परेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । स्थानीय सरकारले समेत भालेश्वरको धार्मिक, ऐतिहासिक महत्वलाई प्राथमिकतामा राखेर योजना बनाउन नसकेको उनीहरुको गुनासो छ ।
स्थानीय गोमा तिमल्सिना विगत ३० वर्षदेखी प्रायः भालेश्वर मन्दिरमा पुजाआजाको लागि आइरहन्छिन । इच्छा पुरा भएकै कारण नियमितजसो दर्शनका लागि आउने गरेको उनले सुनाइन । बनेका पुर्वाधारको संरक्षणसँगै भालेश्वरको धार्मिक महत्वबारे प्रचारप्रसारमा जोड दिन सके पर्यटक आगमन बढ्ने उनको विश्वास छ । अर्का स्थानीय सुरेन्द्र श्रेष्ठ स्थानीय सरकारको प्राथमिकतामा भालेश्वर नपरेको बताउँछन् । बनेका संरचनाको संरक्षण हुन नसकेको समेत उनले बताए । व्यवसायीक उदेश्यले भालेश्वरकै नाममा अन्यत्र मन्दिर बनाइएकोमा पनि उनीहरु असन्तुष्ट छन् ।
भिडियोः